चराको ठक्कर व्यावसायिक उडानमा धेरै विमानले भोग्ने गर्छन्, तर बिरलै मात्र यस्ता ठक्करले गम्भीर दुर्घटना निम्त्याउने विशेषज्ञहरू बताउँछन्
आइतबार दक्षिण कोरियाको उड्डयन इतिहासको सबैभन्दा ठुलो विमान दुर्घटना भयो । जेजु एयरको फ्लाइट २२१६ विमान दक्षिण कोरियामा दुर्घटना हुँदा १७९ जना यात्रुले ज्यान गुमाए । यस दुर्घटनाले व्यावसायिक विमान उडानमा चराहरूले निम्त्याउन सक्ने जोखिममाथि प्रकाश पारेको छ । विमानका पाइलटले आपत्कालीन अवतरण गर्नुअघि विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’(एटिसी)लाई दिएको अन्तिम सन्देशमा जहाजमा एक हुल चरा ठोक्किएको जानकारी दिएका थिए । त्यसपछि विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
विमान दुर्घटनाका फुटेजहरू अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । ती फुटेजमा दुईवटा इन्जिन भएको ‘बोइङ ७८७–८००’ विमानको ‘ल्यान्डिङ गियर’ नखुलेपछि रनवेमा घिस्रिएर अघि बढेको देखिन्छ । उच्च गतिमा रहेको विमान रनवेभन्दा अगाडि रहेको पक्की पर्खालमा ठोक्किन्छ र लगत्तै विमानमा विस्फोटपछि आगलागी भएको देखिन्छ । दुर्घटनामा विमानमा सवार १८१ मध्ये १७९ जनाको मृत्यु भयो ।
उसो त ठुला चराहरूले विमानमा खतरा निम्त्याउन सक्छन् । तर, कुनै एक चराको ठक्करले मात्र विमान दुर्घटना हुने अवस्था नआउने उड्डयन विज्ञहरू बताउँछन् । परामर्श संस्था ‘एभिएसन सेफ्टी एसिया’का निर्देशक डेन विलियम्स पनि ‘बोइङ ७८७–८००’ जस्ता आधुनिक विमानलाई चराले खसाल्न ‘लगभग असम्भव’ हुने बताउँछन् । ‘यस्ता विमानका इन्जिनहरू बाहिरबाट कुनै वस्तु पस्यो भने तिनलाई निकाल्ने गरी डिजाइन गरिएको हुन्छ,’ विलियम्सले भने । अस्ट्रेलियाबाट प्रकाशित हुने ‘एयरलाइन रेटिङ्स’का प्रधान सम्पादक जेफ्री थमस पनि आइतबार दक्षिण कोरियामा चराको ठक्कर दुर्घटनाका लागि सम्भवतः आंशिक मात्र जिम्मेवार रहेको मान्छन् । हालसम्म उपलब्ध तथ्यांकले पाइलटहरूले ‘मे डे (अत्यन्त ठुलो समस्या आएको जानकारी)’ घोषणा गरेको केही समयपछि विमानबाट ‘एडिएस–बी डेटा’ भनेर चिनिने लोकेसन तथ्यांक एटिसीसम्म प्रसारण हुन बन्द भएको र त्यसपछि विमानमा विद्युतीय गडबडी आएको देखिएको थोमसले बताए ।
‘पाइलटहरूले शृंखलाबद्ध रूपमा कैयौँ गडबडीको सामना गर्नुपरेजस्तो देखिन्छ । त्यो किन भयो थाहा भएको छैन । तर, हालसम्मको तथ्यांकअनुसार के थाहा भइसकेको छ भने ‘एबिएल–बी डेटा’ प्रसारण रोकिएको छ । पाइलटहरूले अवतरणका लागि जहाजको पखेटाको पछिल्लो भागमा हुने फ्ल्यापाई (जसले गतिलाई धिमा गर्छ) प्रयोगमा ल्याएनन् । त्यस्तै उनीहरूले ‘अन्डरक्यारेज’ पनि प्रयोगमा ल्याएनन् । यी सबै चिज एटिसीले चराहरूको हुल विमानतर्फ आएको चेतावनी दिएपछि भएको छ,’ थोमसले भने । विमान दुर्घटनाको मुख्य कारण पत्ता लगाउन अनुसन्धान सुरु भइसकेको छ । अनुसन्धानको अन्तिम परिणाम आउन महिनौँ लाग्नेछ । दक्षिण कोरियाली अधिकारीले अमेरिकी नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको सहकार्यमा अनुसन्धान सुरु गरिरहेका छन् । दुर्घटनामा परेको विमान ‘बोइङ’ अमेरिकामा बनेको हुनाले अन्तर्राष्ट्रिय उड्डयन नियमावलीअनुसार अमेरिका पनि अनुसन्धानमा जोडिएको हो ।
व्यावसायिक उड्डयन क्षेत्रमा चराहरूको ठक्कर अपेक्षाकृत सामान्य खतरा हो । तर, कहिलेकाहीँ यसले गम्भीर दुर्घटना पनि नगराउने भने होइन । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले सन् २०२३ मा मात्रै अमेरिकी एयरपोर्टमा चरालगायत अन्य जीवसँग ठक्करका १९ हजार ४०० घटना रिपोर्ट भएका थिए । अमेरिकी वायुसेवाले सोही वर्ष देशबाहिर ५५ मुलुकमा थप २३६ ठक्करका घटना रिपोर्ट गरेको एफएएको तथ्यांकले देखाउँछ । चरासँगको ठक्करले पर्ने सबैभन्दा गम्भीर परिणाम भनेको विमानमा हुने सामान्य टुटफुट हो । यस्तो क्षतिको मर्मतका लागि विमान उद्योगले बसैनि १.५ अर्ब डलर खर्चने गर्छन् ।
थोमसका अनुसार हवाई उडानको वृद्धि र जहाजहरू पहिलेको तुलनामा शान्त उड्ने भएकाले विमानमा चराको ठक्करको संख्या उलेख्य बढेको छ । विश्वमा व्यावसायिक विमान उडानको संख्या बढेर अहिले प्रतिदिन एक लाख २० हजार पुगिसकेको छ । नियामक निकायको तथ्यांकअनुसार अधिकांश अवस्थामा चराहरूसँगको ठक्करले विमानमा कुनै पनि प्रभाव पर्दैन । सन् २०२२ मा बेलायती आकाशमा उडेका विमानमा लगभग १४०० चरा ठक्कर खाँदा जम्मा १०० भन्दा कम अवस्थामा विमानमा क्षति पुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा चराहरूको ठक्करले एकदम थोरै अवस्थामा मात्र समस्या निम्त्याउने भए पनि आक्कलझुक्कल तिनले गम्भीर दुर्घटना नगरेका भने होइनन् ।
सन् २०१९ मा इथियोपियन वायुसेवाको फ्लाइट ३०२ विमान दुर्घटना हुँदा १५७ को ज्यान गयो । अनुसन्धानदाताले एक वस्तुको ठक्करपछि (जुन चरा भएको आशंका बढी छ) विमानमा त्रुटिपूर्ण उडान नियन्त्रण प्रणाली सक्रिय भएको र विमान दुर्घटना भएको पाएका थिए । सन् २००९ मा युएस एयरवेज फ्लाइट १५४९ लागार्डिया एयरपोर्टबाट उडेको केही समयमै चराको हुलसँग ठोक्किएपछि न्युयोर्कको हडसन नदीमा अवतरण गर्न बाध्य भएको थियो । यस घटनामा केही सामान्य एयरबस ए ३२०–२१४ विमानमा सवार केही यात्रु घाइते भएका भए पनि कसैको ज्यान जान पाएन । त्यस्तै सन् १९९५ मा २४ क्यानेडियन र अमेरिकी वायुसेना सवार विमान हाँससँग ठोक्किएर अलास्कामा दुर्घटना हुँदा सबैको ज्यान गएको थियो ।
अस्ट्रेलियाको सी.क्यु. युनिभर्सिटीका उड्डयनविज्ञ डग ड्रुअरी आइतबार दुर्घटना भएको बोइङ ७३७ विमान चरासँगको ठक्करपछि आपत्कालीन अवतरण गर्न योग्य हुनुपर्ने मान्छन् । ‘दुर्भाग्यवश यस दुर्घटनाले उत्तरभन्दा धेरै प्रश्न उब्जिएका छन्,’ ड्रुअरीले भने । उनी प्रश्न गर्छन् कि पाइलटहरू अवतरणका क्रममा विमानको गति कम गर्न किन असफल भए ? विमानलाई पाइलटहरूले किन रनवेको विपरीत दिशामा अवतरण गरे ? विमान किन सामान्य ‘ल्यान्डिङ क्षेत्र’भन्दा बाहिर गएर अवतरण ग¥यो ? ‘पाइलटहरूलाई विमानले रनवेमा छोटो दूरी तय गर्ने गरी गति कम गर्ने तालिम दिइएको हुन्छ । त्यस्तै विमान दुर्घटना हुने अवस्थामा रनवेमा किन ज्वाला–प्रतिरोधी सामग्री छरिएन ?’ ड्रुअरीले भने ।
मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा चराहरूको बथानलाई तर्साएर धपाउने सुरक्षाका उपाय पनि अवलम्बन गरिएको थिएन । यसका लागि सामान्यतया विश्वभर विमानस्थलले बन्दुकको आवाज निकाल्ने लाउडस्पिकर प्रयोगमा ल्याउने मुआनले बताए । दक्षिण कोरियाबाट प्रकाशित हुने दैनिक पत्रिका चोसुनको समाचारअनुसार विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन गरिँदा ध्वनि तोप, लेजर र चेतावनी बत्ती राख्न सिफारिस गरिएको थियो । तर, रनवे विस्तारको काम भइरहेकाले त्यस्ता उपाय कार्यन्वयनमा आउन ढिलाइ भइरहेको थियो । एभिएसन सेफ्टी एसियाका निर्देशक डेन विलियम्स चराहरूलाई तर्साउन यस्ता उपाय अपनाउनुका अतिरिक्त ‘चराहरूको बसाइँसराइको मार्गमा पर्ने क्षेत्रमा विमानस्थल बनाउन नहुने बताउँछन् । ‘विशेषत जाडो वा गर्मी समयमा चराहरूले बसाइँसराइ गर्ने मार्गमा विमानस्थल नबनाउनु उपयुक्त हुन्छ,’ उनले भने ।
दक्षिण कोरियाले दुर्घटनापछि सोमबारदेखि सातदिने राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रिय झन्डा आधा झुकाइएको छ । कार्यवाहक राष्ट्रपति चोई साङ–मोक श्रद्धाञ्जली अर्पण गर्न दुर्घटनास्थल पुगेका थिए । अधिकारीहरूले हालसम्म १४१ जनाको शव पहिचान भइसकेको जानकारी दिएका छन् । अनुसन्धानकर्ताहरू दुर्घटनाको कारण पत्ता लगाउन सक्रिय हुँदा दक्षिण कोरियाले देशभित्र सञ्चालनमा रहेका सबै ‘बोइङ ७३७–८००एस’ को विशेष निरीक्षण गर्ने बताएका छन् । देशका राष्ट्रपति र प्रधानमन्त्री (जो कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा थिए)लाई महाभियोग लागेपछि तीन दिनअघि मात्रै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका चोईले देशको सम्पूर्ण उड्डयन क्षेत्रको व्यापक निरीक्षण गर्न अधिकारीहरूलाई निर्देशन दिइएको जानकारी दिए । ‘मृतकको पहिचानको काम सकिएलगत्तै देशको यातायात मन्त्रालयलाई विमान दुर्घटनाको पुनरावृत्ति रोक्न सम्पूर्ण विमान सञ्चालन प्रणालीको आपत्कालीन सुरक्षा निरीक्षण गर्न अनुरोध गरिएको छ,’ चोईले भने ।
एरिन हेल ताइपेईमा रहेर पूर्वीएसियाली मुलुक केन्द्रित समाचार लेख्ने स्वतन्त्र पत्रकार हुन् । जोन पावर अल जजिराको एसिया वित्त व्युरोका सम्पादक हुन् ।
– अल जजिराबाट