मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
रवीन्द्र जयरत्ने /टोमोया सिवायामा
२o८१ पौष १९ शुक्रबार o९:१९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आधुनिक इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपपछिका २० वर्षमा सिकिएका पाठ

Read Time : > 3 मिनेट
रवीन्द्र जयरत्ने /टोमोया सिवायामा
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार o९:१९:oo

सन् २००४ मा हिन्द महासागरमा आएको भूकम्पपछिको सुनामीले विश्वव्यापी प्रकोप व्यवस्थापन प्रणालीलाई नै पुनः आकार दिन सघायो 

सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियानजिकै हिन्द महासागरमा विशाल भूकम्प आयो । त्यसले महासागरका तटीय क्षेत्रमा ठुलो सुनामी (समुद्री छाल) ल्यायो, जसमा लगभग दुई लाख ५० हजार मानिसको ज्यान गयो । यो भूकम्प र त्यसपछि आएको सुनामीलाई यस शताब्दीको सबैभन्दा घातक प्राकृतिक प्रकोप मानिन्छ । साथै त्यो समय आएको सुनामी सम्भवतः रेकर्ड राख्न थालिएपछिको सबैभन्दा घातक सुनामी थियो । 

यस लेखका लेखकहरू तटीय इन्जिनियरका रूपमा काम गर्छौं । हाम्रो पेसा सुनामी कसरी बन्छन् र तीविरुद्ध कस्तो तयारी गर्नुपर्छ भन्ने विषयसँग जोडिएको छ । तटीय इन्जिनियरका रूपमा हामीले सन् २००४ को त्यस महाविपत्ले कसरी विश्वव्यापी प्रकोप व्यवस्थापन प्रणालीलाई नै पुनः आकार दियो भनेर नजिकबाट देखेका छौँ । त्यस दिनयता सिकेका पाठमध्ये तीनवटा विषयवस्तु विशेष महत्वपूर्ण छन् । तीमध्ये पहिलो हो, प्रारम्भिक चेतावनी प्रणालीको महत्व, जसले प्रभाव क्षेत्रहरूबाट भाग्ने अत्यन्त महत्वपूर्ण समय प्रदान गर्छ । दोस्रो, स्थानीय तयारीको महत्व, जसअन्तर्गत जोखिमबारे सम्भावित खतराका क्षेत्रका मानिसलाई शिक्षित गरिन्छ । अन्तिममा, निरन्तर तटीय प्रतिरक्षाको आवश्यकता, तथापि अति निर्भरता भने होइन ।

प्रारम्भिक चेतावनी प्रणालीको विकास
बृहत्तर स्तरको प्रारम्भिक चेतावनी प्रणालीको अभावले सन् २००४ को विपत्मा अत्यधिक मानिसको ज्यान गयो । उदाहरणका लागि, श्रीलंकामा लगभग ३५ हजार मानिसको मृत्यु भयो, जहाँ भूकम्पको दुई घण्टापछि मात्रै सुनामी पुगेको थियो । सो विपत्पछि प्रारम्भिक चेतावनी प्रणालीमा व्यापक लगानी भएको छ । हिन्द महासागरीय सुनानी चेतावनी प्रणालीले अहिले २७ राष्ट्रलाई समेटेको छ । यही लगानीको प्रतिफलस्वरूप सन् २०१२ मा इन्डोनेसियाको सोही क्षेत्रमा गएको अर्को भूकम्पको समयमा यस प्रणालीले आठ मिनेटभित्र सुनामीको चेतावनी दिन सक्षम भएको थियो । 

त्यसैगरी जनवरी २०२४ मा जापानको नोटोमा भूकम्प गएपछि तुरुन्तै सुनामीको चेतावनी भएको थियो । त्यस समय मानिसहरू सुरक्षित स्थानमा सारिएकाले निःसन्देह धेरैको ज्यान जोगियो । दुर्भाग्यवश प्रारम्भिक चेतावनी प्रणालीहरू विश्वव्यापी रूपमा प्रयोगमा छैनन् । त्यसैले सन् २०२२ मा दक्षिणी प्रशान्त महासागरमुनि रहेको ज्वालामुखी विस्फोटपछि टोंगन टापुमा आएको सुनामीको पूर्वचेतावनी जारी भएन । यस घटनामा ज्वालामुखीको नियमित निगरानीले पनि सुनामीको प्रारम्भिक संकेत पत्ता लगाउन मद्दत गर्ने थियो । 

समुदाय सशक्तीकरणको प्रवर्द्धन
प्रारम्भिक चेतावनी प्रणाली मात्र पर्याप्त हुँदैन । अझै पनि सुनामीबारे सचेतना अभियान सञ्चालन गरिनुपर्छ । त्यस्तै सुनामीको उच्च जोखिममा रहेका क्षेत्रमा सुनामी आउँदा कसरी सुरक्षित स्थानतर्फ भाग्ने भन्ने कुराको नियमित पूर्वाभ्यास गराउनु उपयोगी हुन्छ । त्यसबाहेक पनि प्रकोपविरुद्ध कस्तो प्रतिक्रिया अपनाउने भन्ने योजना पहिले तयार हुनुपर्छ । यसप्रकारको योजना सन् २०२४ जनवरीमा आएको नाटो सुनामीबाट प्रभावित जापानको जाइक भन्ने गाउँमा प्रभावकारी साबित भएको थियो । 

सन् २०११ मा आएको विशाल सुनामीबाट (जसले फुकुसिमा आणविक ऊर्जा केन्द्रलाई समेत प्रहार गरेको थियो) पाठ सिकेर इन्जिनियरहरूले सुनामी आउँदा आश्रय लिने स्थानतर्फ नयाँ निकासी मार्ग निर्माण गरेका थिए । त्यसैले जनवरीको सुनामीमा गाउँ ध्वस्त भए पनि त्यहाँका बासिन्दा बाहिरिन सफल भए । जसले जाइकमा कुनै हताहती हुन पाएन । 

इन्जिनियरिङ प्रतिरक्षाको भूमिका
२००४ को सुनामीपछिका वर्षमा जोखिममा रहेका देशले समुद्री तटमा ठुलो इन्जिनियरिङ पूर्वाधार निर्माण गरेका छन् । तिनमा तटमा छाललाई रोक्ने संरचना, सी–वाल (समुद्री पर्खाल) र बाढी अवरोधक छन् । यी संरचनाले सुरक्षाको एक उपाय प्रदान गरे पनि तिनको प्रभावकारिता सीमित छ । सुनामीले सबैभन्दा बलियो ठानिएका पूर्वाधार प्रतिरक्षालाई पनि हानि पुर्‍याएको देखेर जापानले पूर्वाधार मात्रले जीवनको क्षति घटाउँछ भन्ने विचार नै परित्याग गरिदिएको छ । उदाहरणका लागि सन् २०११ मा आएको सुनामीले बाटारी नगरमा लगाइएको पाँच मिटर अग्लो पर्खाल नाघेर आधार सहरलाई डुबाएको थियो । सहरमा सयौँ मानिसको मृत्यु भयो ।

विगत एक वा दुई दशकमा सुनामीले विद्यमान सुरक्षा रणनीतिमा विद्यमान कमजोरी उजागर गरिदिएको छ । हाम्रो क्षेत्रगत सर्वेक्षणले पनि कठोर संरचनामा सुनामीले गम्भीर क्षति पुर्‍याएको देखाएको छ । हुन त अत्यन्त विषम अवस्थामा पूर्ण विफलताको सम्भावना रहन्छ, तथापि विद्युत् संयन्त्रजस्ता महत्वपूर्ण पूर्वाधार सबैभन्दा ठुला सुनामीसमेत धान्ने गरी डिजाइन गरिएको हुनुपर्छ । यसका लागि अधिक विपत्मा आंशिक मात्र क्षति पुग्ने वा पूर्ण रूपमा काम गर्ने लचिलो इन्जिनियरिङ डिजाइनहरूमा थप अनुसन्धान आवश्यक छ । 

सन् २०११ सुनामीपछि जापानी इन्जिनियरहरूले दुई सुनामी मापन स्तर सिर्जना गरे । ‘लेभल वन’ सुनामी पटक–पटक गइरहन्छन्, तर कम खतरनाक हुन्छन् । अर्को ‘लेबल टु’ सुनामी भने ठुला हुन्छन् । यो प्रकारको सुनामी कुनै तटवर्ती क्षेत्रमा हजार वा त्यति अवधिमा एकपटक मात्र जाने सम्भावना हुन्छ । यस वर्गीकरणको सुनामीमै पर्छन्– हिन्द महासागरमा सन् २००४ मा गएको र जापानमा सन् २०११ मा गएको सुनामी । यस्तै सुनामीका लागि बलियो ऊर्जा संयन्त्रजस्ता महत्वपूर्ण पूर्वाधारको तयारी गर्नुपर्छ । सन् २००४ को आकारको सुनामीलाई केही गरी पनि पूर्णरूपमा रोक्न सकिँदैन । हाम्रो लक्ष्य सुनामी थेग्ने संरचना निर्माणमा केन्द्रित हुनुपर्छ । संरचनाहरू विशेषतः सुनामीको उचाइ घटाएर तिनको गतिलाई सुस्त बनाउने र सुरक्षित स्थलतर्फको आश्रय लिन सहयोग गर्न सक्षम हुनुपर्छ ।

कठोर पूर्वाधार प्रतिरक्षामा नयाँ–नयाँ प्रविधि र ज्ञान विकसित भएका छन् । यसका बाबजुद थप दिगो र जिम्मेवार तरिकामा तटीय सहरी क्षेत्रको निर्माण र योजनामा ध्यान दिनुपर्छ । विशेषगरी, सुनामीको खतरा भएका क्षेत्रमा महत्वपूर्ण पूर्वाधार र सघन बसोवास सम्भव भएसम्म उच्च जमिनमा निर्माण गरिनुपर्छ । इन्जिनियरिङ प्रगतिले पर्यावरणीय परिणामका लागि ख्याल गर्नुपर्छ । भारी बालुवाको थैलो, ठुल्ठुला चट्टानको प्रयोग र बफर क्षेत्रमा तटीय वन रोप्नु अग्लो पर्खाल निर्माण गर्नुभन्दा सस्तो र पर्यावरणीय रूपमा संवेदनशील विकल्प हुन सक्छ । 

जलवायु परिवर्तन र अगाडिको बाटो
सुनामीबाट सुरक्षाको क्षेत्रमा निश्चित रूपमा प्रगति भएको छ । यद्यपि, सुनामी र भूकम्पको तथ्यांक अझै पनि विश्वभर व्यापक रूपमा साझा गरिँदैन । स्थानीय अधिकारी र विशेषज्ञले प्रायः सुनामीबाट बाढी आउने खतरा भएका समुदायका बासिन्दालाई जोखिमको जानकारी दिँदैनन् । समय बित्दै जाँदा मानिसमा डर घट्दै जान्छ र प्रकोप तयारीका उत्कृष्ट अभ्यासको सम्झना हराउँदै जान सक्छ । त्यसमा अहिले द्रुत जलवायु परिवर्तनका कारण समुद्री सतहको वृद्धिले नयाँ चुनौती थपेको छ । जलवायु परिवर्तनका कारण पछिल्लो समय समुद्री आँधीको संख्या बढेको छ । यसले सुनामी त निम्त्याउँदैन, तथापि यसले पूर्वाधारलाई कमजोर बनाउँदै लग्ने भएकाले सुनामी आएको अवस्थामा परिस्थिति थप खराब बन्न सक्छ । ठुला र अत्यावश्यक चुनौती अझै बाँकी रहे पनि तिनीहरू पार लगाउन सकिने खालका छैनन् । सुनामीबारे थप अध्ययन र सबैभन्दा खराब भविष्यका लागि तयारीलाई निरन्तरा दिइयो भने हामी तिनको प्रभावलाई कम गर्न र लाखौँ जीवनको रक्षा गर्न सक्छौँ ।

द कन्भर्सेसनबाट