मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
२o८१ पौष ७ आइतबार १४:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यदिनमा सडक बन्द गरी काम, यात्रुलाई सास्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १४:२९:oo

पृथ्वी राजमार्गअन्तर्गतका विभिन्न ठाउँमा मध्यदिउँसो सडक बन्द गरी विस्तारको काम गर्दा यात्रुहरू समस्यामा परेका छन्। एकातिर कठ्यांग्रिँदो जाडोमा घण्टौँ बाटोमा रोकिनुपर्ने र अर्कोतिर गाडी रोकिने स्थानहरूमा पसलहरू नहुँदा खानानास्ता तथा दिसापिसाब गर्नसमेत समस्या परेको यात्रुहरूले गुनासो गरेका छन्।

धादिङकी अञ्जु श्रेष्ठ भन्छिन्, ‘धादिङबेँसीबाट बेनीघाट जाँदै थिएँ, सडक बन्द भन्ने थाहा थिएन। दुई घण्टादेखि जाममा छु। न अफिस फर्कनु, न फिल्ड पुगेर घर फर्कन भ्याउनु। आजको दिन जाममै बित्ने भयो। रातको समयमा बन्द गरेर काम गरेको भए यात्रुहरूलाई अलि सहज हुने थियो। मध्यदिनमा यात्रुलाई सास्ती भयो।’

पोखरा हिँडेका मिलन ठकुरी विशालटारको जाममा फसेको बताउँछन्। ‘अनुमानित समय निकालेर गन्तव्यमा हिँडेका हुन्छौँ। एक्कासि यति लामो समय जाममा परियो। कहिले पुग्ने पोखरा, आजै हुने काम दुई दिन लाग्ने भयो। सडकको कामले जाम पर्दा हामी बेकामे भयौँ,’ उनले भने।

सडक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द गरी स्तरोन्नतिसहित विस्तार भइरहेको छ। घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले दिनमा सडक बन्द गरी विस्तार गरिएको नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) गजुरीका योजना प्रमुख केशव ओझा बताउँछन्।

‘आजदेखि दैनिक तीन घण्टा सडक बन्द गरिएको छ। पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द हुनेछ,’ उनले भने, ‘पहाड काट्नुपर्ने भएकाले जोखिमका कारण रातको समयमा बन्द गरी काम गर्न सक्ने अवस्था छैन। धेरै छलफलपछि यो निर्णय गरेका हौँ। विभिन्न सञ्चारमाध्यम तथा सम्बन्धित निकायबाट पनि हामीले सूचना प्रवाह गरिरहेका छौँ।’ काठमाडौँ आउने–जाने सवारीचालकलाई लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको उनले बताए।

‘बन्द रहने समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘मलेखु–मुग्लिनखण्डको विशालटार क्षेत्र, मझिमटार, बेनीघाट बजार, चरौँदी बजारमा रोकिनेछन्। नौबिसे–मलेखुखण्डको गल्छी बैरनी, जरेखेत, चालिसे, घाटबेँसी र नागढुंगा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा रोकिनेछन्। भारी सवारीसाधन र हलुका सवारीसाधनलाई पनि छुट्टाछुट्टै ठाउँमा रोकिने व्यवस्था छ।’