मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
२o८१ पौष ७ आइतबार १४:o४:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १४:o४:oo

नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेसा छाड्नेको संख्या त बढ्दै गएको छ । तर, कृषि पेसा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् ।

कृषि पेसाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको पात्र बनेका छन् इलामको सन्दकपुर गाउँपालिका– २ का गिरिराज खनाल । उनले यसै वर्ष ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेका छन् । उनी पूर्वडाध्यक्ष समेत हुन् ।

सन्दकपुर– २ माईमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए । अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन रु. एक लाख १५ हजार छ । तीस मन अलैँचीको प्रतिमन रु. एक लाख १५ हजारको मूल्यले पनि रु. ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।

गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले अलैँची प्रतिमन रु. एक लाख १० हजारमा खरिद गर्ने गरेका छन् । खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आएका छन् । बिचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको उनले बताए । बिचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्लाबाहिरका किसानसमक्ष बिरुवा पुर्‍याएको खनालले बताए । धेरै मिहिनेत नलाग्ने अलैँची खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।

सुरुमा बिरुवा रोप्दा बारी फँडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यसपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ । बिचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ । सो कार्यमा खास खर्च नलाग्ने उनले बताए ।

हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँचीखेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रिन नेट’ लगाउने गरिन्छ । आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए । अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उनले बताए । राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने खनाल बताउँछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्ने भएकाले आफूले कृषि पेसा गर्ने गरेको उनी बताउँछन् । खनालजस्तै जिल्लाका अन्य किसानले समेत यस वर्ष अलैँचीबाट मनग्य आम्दानी गरेका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि रु. चार अर्ब १५ करोडबराबरको अलैँची निकासी भइरहेको छ । चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो तीन महिनामा ७८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कम हो । आव ०८०/८१ मा एक हजार ५२५.९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गरेका छन् । गर्मीमा अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गर्ने गरिन्छ । मसलाका रूपमा पनि अलैँचीलाई प्रयोग गर्ने गरिन्छ । गाउँघरमा विशेष गरेर मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाइने गरिन्छ । सर्वतपानीमा समेत यसलाई प्रयोग गरिन्छ । तर, नेपालबाट विदेश निर्यात हुने अलै‌ँचीबाट अत्तर (पर्फ्युम) समेत निर्माण हुने गरेको छ । भारतको बाटो भएर विदेश निर्यात हुने अलैँची धेरै मात्रामा चाहिँ औषधिका रूपमा प्रयोग हुने गरेको छ । नेपालमा अलैँची प्रशोधन नहुँदा पनि समस्या भइरहेको छ । झापामा एउटा प्रशोधन केन्द्र भए पनि यो पर्यात नभएको व्यवसायीको भनाइ छ ।