मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
२o८१ पौष ७ आइतबार o७:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा कप : चर्च ब्वाइजले फाइनलमा एनआरटीको सामना गर्ने

राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै एनआरटी फाइनलमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o७:१८:oo

पहिलो संस्करणको झापा कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबिच हुने भएको छ । प्रतियोगिताको शनिबार दोस्रो सेमिफाइनलमा एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि भिडन्त पक्का पारेको हो । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । विजेताले दश लाख र उपविजेताले पाँच लाख पाउनेछन् । 

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा एनआरटीका गोलरक्षक विशाल सुनार नायक बन्दा एनआरटीले फाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट दुवै पक्षले गोलरहित बराबरी खेलेका थिए । गोलरक्षक सुनारले राष्ट्रिय जागृतिका दुई पेनाल्टी छेकेका थिए । जागृतिको एक प्रहार बारमा लाग्यो । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहारलाई सुनारले बचाए । जागृतिका विदेशी खेलाडी एलेक्सको प्रहार बारमा ठोकिँदै फर्किएको थियो । 

टाइब्रेकरमा एनआरटीका एन्जल महर्जन, कृतिश छुन्जु र अभिषेक लिम्बूको प्रहार गोल गरेका थिए । दुवै टोलीका खेलाडीले निर्धारित ९० मिनेटमा उत्कृष्ट प्रदर्शन गरे गोलरहित बराबरीमा टुंगिएको थियो । राष्ट्रिय टोलीका स्टाइकर अञ्जन विष्टको कप्तानीमा रहेको एनआरटीले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । दुवै टोली फिनिसिङमा चुकेका थिए । क्वार्टरफाइनलमा जागृतिका प्रमुख स्ट्राइकर मिलन राईले रातो कार्ड पाएका कारण सेमिफाइनल गुमाउन पुगे । डिफेन्स लाइन बलियो हुँदा एनआरटीले जागृतिविरुद्ध गोल गर्न सकेन । 

जागृतिले एनआरटीको कमजोर डिफेन्सको फाइदा लिन सकेन । स्ट्राइकर गिडेन चल्न नसक्दा प्रशिक्षक विमल मगरले दोस्रो हाफमा उनलाई बाहिर निकाले । पहिलो हाफमा दुवै टोलीको प्रदर्शन फितलो रह्यो । खेलको अन्तिम समयमा एनआरटीले जागृतिमाथि दबाब सिर्जना गरेको थियो । ७०औँ मिनेटमा एनआरटीका अञ्जन विष्टले बक्समा दिएको पास नेमारले सदुपयोग गर्न सकेनन् । ७६औँ मिनेटमा एनआरटीका नेमारको क्रसमा बक्समा अनमार्क रहेका शिशिर लेखीले फिनिसिङ गर्न सकेनन् । ८४औँ मिनेटमा नेमारको लामो क्रसमा शिशिरले पहिलो बारमा हेडिङ गोल प्रयासलाई गोलरक्षक चौधरीले उत्कृष्ट बचाउ गरे । 

पहेँलो कार्डको वर्षा
झापा कपको अन्तिम सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण बनेको थियो । खेलमा मुख्य रेफ्री प्रज्वले क्षेत्रीले आठवटा पहेँलो कार्ड देखाए । यो झापा कपको सबैभन्दा धेरै कार्ड देखाएको खेल हो । एनआरटी र जागृतिका समान चार खेलाडीले पहेँलो कार्ड पाए ।