मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ मङ्सिर १३ बिहीबार o८:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संखुवासभाबाट मात्रै पाँच अर्बभन्दा बढीको रुद्राक्ष निर्यात

मुखदार रुद्राक्ष प्रतिगोटा १० हजारदेखि ९० लाखसम्म हुन्छ बिक्री

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार o८:१४:oo

भदौै अन्तिम सातादेखि संखुवासभाआसपासका क्षेत्र र भोजपुरमा रुद्राक्षको कारोबार सुरु हुन थालेको छ । जिल्लाको तल्लो क्षेत्र औल र अरुण नदी–किनारआसपासका क्षेत्रमा भदौ अन्तिम सातादेखि रुद्राक्ष दाना छिप्पिएर बजारमा निस्किने भएकाले व्यापार सुरु हुने गर्छ भने त्योभन्दा माथिल्लो क्षेत्रमा कात्तिक र मंसिरमा मात्रै रुद्राक्ष छिप्पिन थाल्छ ।
 
तल्लो औल क्षेत्रमा छिट्टै रुद्राक्ष छिप्पिने भएकाले बजारमा भदौदेखि नै व्यापार सुरु हुने रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय सदस्य मनोज कटुवालले बताए । अहिले रुद्राक्षको व्यापार बढेसँगै चहलपहल पनि बढेको उनको भनाइ छ  । ‘रुद्राक्षको मुख्य व्यापारिक केन्द्र खाँदबारी र तुम्लिङटार बजार हो । यहाँ भोजपुर र संखुवासभाका रुद्राक्ष खरिद–बिक्री हुन्छ,’ उनले भने, ‘यी बजारहरूमा प्रत्येक हप्ता करोडौँको किनबेच हुन्छ ।’

खाँदबारीका रुद्राक्ष व्यापारी चित्र श्रेष्ठले विगतका वर्षहरूमा धेरै चिनियाँ आउने गरे पनि अहिले निकै कम आउने बताए । उनले भने, ‘अहिले पहिला चिनियाँ व्यापारी आउँदाजस्तो कारोबार छैन । त्यतिवेला चिनियाँ व्यापारीले एक–दुई वर्ष रुद्राक्षको बोक्रासमेत किनेर लैजाँदा भाउ निकै बढेको थियो, तर अहिले राम्रा, चिल्ला र थेप्चा रुद्राक्ष मात्रै चिनियाँले लैजान्छन् ।’

गत वर्ष संखुवासभाबाट पाँच अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको रुद्राक्ष व्यवसायी महासंघको भनाइ छ । पूर्वीपहाडमा रुद्राक्ष दानाको व्यापार गरेर कतिपयले घरघडेरी र सम्पत्तिसमेत जोडेका छन् । रुद्राक्ष कारोबारले स्थानीय अर्थतन्त्रमा निकै टेवा पु¥याएको व्यापारीहरू बताउँछन् । भौगोलिक अवस्थाअनुसार रुद्राक्षको मूल्य घटीबढी हुने गर्छ । संखुवासभा र भोजपुरको रुद्राक्ष उच्च गुणस्तरीय हुने कारण   महँगो मूल्यमा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।

गाउँ–गाउँमा रुद्राक्षको बगान र बोट नै ठेक्कामा लिएर कारोबार गर्ने गरिन्छ । व्यापारीहरूले कृषकको घर–घरमा नै पुगेर एक वर्षअघि नै बगान र बोट नै ठेक्का लगाएको हुन्छ । राम्रो रुद्राक्ष फल्ने बगान र बोटमा व्यापारी–कृषकहरू आफँैले सिसिक्यामरा जडान गर्न तथा दिनहुँ ड्युटीसमेत गर्ने गर्छन् । रातको  समयमा रुद्राक्ष चोरी हुने डरले ड्युटी गर्ने गरेको कृषक तथा व्यापारीहरू बताउँछन् । रुद्राक्ष व्यवसायी संघ संखुवासभाका पूर्वअध्यक्ष चक्र बिसुन्केले सदरमुकाम खाँदबारी बजारमा मात्रै दिनहुँ लाखौँको रुद्राक्ष व्यापार हुने गरेको बताए । उनले खाँदबारी, तुम्लिङटार र भोजपुरको दिङ्ला बजारमा मात्रै सातामा एक–डेढ करोडको कारोबार हुने गरेको बताए ।

संखुवासभा र भोजपुर रुद्राक्षको राजधानी नै भएकाले यो क्षेत्रबाट ठूलो परिमाणमा रुद्राक्ष निर्यात हुने रुद्राक्ष व्यवसायी संघ संखुवासभाको भनाइ छ । स्थानीय सरकारले रुद्राक्षको संकलन र खरिद–बिक्रीका लागि क, ख, ग र घ श्रेणीमा अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ । सोही आधारमा राजस्व तिरेर रुद्राक्षको किनबेच र व्यापार हुने गर्छ ।

विदेश निर्यात हुन्छ रुद्राक्ष 
पूर्वीपहाडको संखुवासभा र भोजपुरमा उत्पादन भएको रुद्राक्ष दक्षिणतर्फ भारत, बर्मा र बनारससम्म निकासी हुने गर्छ । दक्षिणतर्फ धार्मिक रूपमा रुद्राक्षको प्रयोग हुने गर्छ । भारत, बर्मा र बनारसमा मुखदार रुद्राक्ष दाना मात्रै किनबेच हुने गर्छ भने उत्तरतर्फ चीनमा सजावटका लागि राम्रा–राम्रा मिलेका र चिल्ला दानाहरू किनबेच हुने पूर्वअध्यक्ष बिसुन्केले बताए । चिनियाँहरूले रुद्राक्षको मुख नहेरी खरिद गर्ने गरेकाले महँगो मूल्यमा किनबेच भएको थियो । तर, अहिले तुलनात्मक रूपमा मूल्य घटेको छ । सामान्यतः स्थानीय बजारमा ३, ४, ५ र ६ मुखे रुद्राक्षसमेत प्रतिकेजी पाँचदेखि २५ हजारसम्ममा किनबेच हुन्छ । त्यस्तै, मुखदार रुद्राक्षको १० हजारदेखि ८०–९० लाख रुपैयाँसम्म मूल्य पर्ने गर्छ ।