निर्माण कम्पनीको चरम लापरबाहीले सेती प्रादेशिक अस्पतालको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ । सम्झौताअनुसार साढे दुई वर्षभित्रै बनिसक्नु भवन सात वर्षसम्म पूरा हुन सकेको छैन । भवन निर्माणको ठेक्का पाएको कम्पनीले लामो समयदेखि काम अगाडि बढाएको छैन । निर्धारितभन्दा झन्डै तीन गुणा समयसम्म काम पूरा नगरेको निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो पटक–पटक म्याद थप हुँदै आएको छ ।
१८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २८ कात्तिक ०७४ मा रविना–थेगिम जेभीसँग सम्झौता गरेको थियो । सम्झौताको सर्तअनुसार काम भएको भए ०७७ वैशाखमै भवनको निर्माण भइसक्थ्यो । तर, भवनको संरचना तयार भए पनि झ्याल–ढोका लगाउने, टायल–मार्बल बिछ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, पानी र बिजुली जडानको काम बाँकी छ ।
‘फिनिसिङका काम बाँकी छन् । निर्माण कम्पनीले काम गरिरहेको देखाउन कहिलेकाहीँ अलिअलि काम गर्छ,’ संघीय आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी सौरभ कलौनीले भने, ‘काम पूरा गर्न ताकेता गर्दै आएका छौँ, तर निर्माण कम्पनीले काम गर्दैन ।’ आयोजना कार्यालयका अनुसार रविना–थेगिम कन्स्ट्रक्सनको जेभीले ठेक्का पाए पनि काम भने थेगिमले गरिरहेको छ ।
निर्माण कम्पनीले समयमा काम नगरेपछि आयोजना कार्यालयले डेढ वर्षदेखि भुक्तानी रोकेको छ । कार्यालयले ०८० साउनबाट निर्माण कम्पनीलाई ठेक्का रकमको ०.०५ प्रतिशतका दरले दैनिक जरिवाना लगाएको कलौनीले बताए । तर, नेपाल सरकारले सार्वजनिक खरिद ऐनमा १३औँ संशोधन गरी सबै रुग्ण योजनाको म्याद ०८१ चैतसम्म थपेपछि निर्माण कम्पनीले पनि अस्पताल भवन बनाउन थप समय पाएको छ । ‘यो म्यादमा पनि ठेक्का पूरा नगरे ठेक्का तोडेर अर्को प्रक्रियामा जान्छ,’ सूचना अधिकारी कलौनीले भने, ‘पाँचौैँपटकसम्म दिएको म्यादमा काम नगरेपछि जरिवाना तोकेको हुनाले डेढ वर्षदेखि भुक्तानी भएको छैन ।’ आयोजना कार्यालयका अनुसार भवन निर्माणमा पाँचपटक म्याद थप भएको छ ।
लामो समयसम्म भवन निर्माणको काम पूरा नहुँदा सेती प्रादेशिक अस्पताललाई सेवा विस्तारमा समस्या भइरहेको छ । सेवाग्राहीको बढ्दो चापले साबिककै संरचनाबाट सेवा दिन समस्या भएपछि अस्पतालले अधुरो भवनको भुइँतलाको केही कोठा प्रयोग गरेर ओपिडीलगायत सेवा सुरु गरेको छ । नयाँ भवनको निर्माण पूरा नहुँदा प्रसूति, एनआइसियूलगायत विस्तार गर्न समस्या भएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका प्रवक्ता डा. खगेन्द्रराज भट्टका अनुसार ठाउँ अभावका कारण पुरानो जीर्ण भवनमा रहेको प्रसूति वार्ड सार्न सकिएको छैन ।