विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती नागरिक जोन टिनिसवुडको निधन भएको छ। ११२ वर्षको उमेरमा उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टस्थित केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मंगलबार उनको परिवारलाई उद्धृत गर्दै जनाएको छ।
टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उनको निधन भयो। अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए।
‘उहाँको अन्तिम दिन संगीत र प्रेमले घेरिएको थियो,’ परिवारले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद।’
टाइटानिक जहाज डुबेको वर्ष जन्मिएका र दुवै विश्वयुद्धबिच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्डलाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए। ‘तपाईं या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न,’ उनले भनेका थिए। उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए।
दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरेका थिए। उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक थिए।