सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजामा निःशुल्क पार्किङ उपलब्ध हुने भएको छ। भोलिदेखि साँझ साढे ५ देखि राति ११ बजेसम्म महानगरको कार्यालयपरिसर सवारी पार्किङका लागि उपलब्ध हुने महानगरले जनाएको छ।
‘भोलिदेखि हामीले कार्यालयपरिसरभित्र निःशुल्क पार्किङको व्यवस्था गर्न लागेका हौँ,’ महानगरअन्तर्गत प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भने, ‘यो सुविधापछि कमलादी, पुतलीसडक, दरबारमार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङमा सहजता हुनेछ।’
काफ्लेका अनुसार यो सुविधा दुईपांग्रे र ४ पांग्रे दुवै किसिमका सवारीसाधनका लागि हो। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ।