Skip This
इरानका सैन्य आधारमा इजरायलको क्षेप्यास्त्र हमला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
२o८१ कार्तिक ११ आइतबार o९:o१:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इरानका सैन्य आधारमा इजरायलको क्षेप्यास्त्र हमला

आफूसँग प्रतिरक्षाको अधिकार रहेको उल्लेख गर्दै इजरायलमाथि जवाफी आक्रमण गर्ने तेहरानको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o९:o१:oo

इजरायलले इरानका विभिन्न सैन्य आधारमा हवाई आक्रमण गरेको छ । इजरायली सेनाले शनिबार इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको हो । राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको इरानले पुष्टि गरेको छ । हमलामा दुई इरानी सैनिक मारिएका छन् । इजरायलले इरानमा गरेको हमलाको बदलामा हेजबुल्लाह समूहले इजरायली सैन्य आधारहरूमा रकेट र ड्रोन हमला गरेको छ । इरानले आफूसँग ‘प्रतिरक्षाको अधिकार रहेको उल्लेख गर्दै इजारयलमाथि जवाफी हमला गर्ने संकेत गरेको छ । 

इजरायलले आफूमाथि भएको क्षेप्यास्त्र आक्रमणको बदला  दिने वाचा गरेको थियो । दमास्कसस्थित इरानको कन्सुलर एनेक्समा भएको घातक आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलोपटक प्रत्यक्ष आक्रमण सुरु गरेको थियो ।  ‘इजरायली सुरक्षा बल (आइएएफ)को विमानले इरानको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग गरिने क्षेप्यास्त्र उत्पादन केन्द्रहरूमा प्रहार गरेको छ,’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘आइडिएफले अतिरिक्त इरानी हवाई आधार र निसानाहरूमा  प्रहार गरेको छ ।’ इरानबाट भइरहेको महिनौँको निरन्तर आक्रमणको प्रतिकारस्वरूप इरानी सैन्य लक्ष्यहरूमा सटिक आक्रमण गरिरहेको इजरायली सेनाले बताएको छ । तीन साताअघि इरानले इजरायलमा करिब दुई सयवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । तर, ती क्षेप्यास्त्रलाई इजरायलले मध्य आकाशमा नै निस्तेज बनाइदिएको दाबी गरेको थियो । शनिबारको आक्रमणपछि इरानले केही घण्टा सबै उडान स्थगित गरेको थियो ।  सन् २०२३ को अक्टोबर ७ मा आफ्नो इतिहासको सबैभन्दा घातक आक्रमणपछि इजरायलले गाजामा हमाससँग लडिरहेको छ । गत महिनाको अन्त्यदेखि इजरायल लेबनानमा हेजबुल्लाहसँगको युद्धमा छ । पछिल्लो समय इजरायालले लेबनानका विभिन्न स्थानमा हमला गर्दै आएको छ । इजरायली सेनाले लेबनानका निश्चित क्षेत्रमा स्थल हमला पनि गरेको छ ।

हामीसँग प्रतिरक्षाको अधिकार छ : इरान 
हवाई हमलाबारे प्रतिक्रिया जनाउँदै इरानले आफूसँग ‘प्रतिरक्षाको अधिकार रहेको’ बताएको छ । ‘इस्लामिक गणतन्त्र इरान आक्रमणका कुनै पनि कदमविरुद्ध प्रतिरक्षा गर्ने अधिकार आफूसँग राख्दछ’ संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ को व्यवस्था उद्धृत गर्दै इरानको विदेश मन्त्रालयले भनेको छ । 

यसअघि इरानको तस्निम समाचार संस्थाले पनि इरानले कुनै पनि आक्रमणको प्रतिवाद गर्ने र इजरायलले चालेको कदमअनुसारको जवाफ पाउने’ जनाएको थियो । मध्यपूर्वका युएई, साउदी अरब, कतार र इजिप्टसहितका अरब राष्ट्रहरूले इरानमाथि भएको आक्रमणको निन्दा गरेका छन् । बारको हमलामा दुई इरानी सैनिकको मृत्यु भएको तेहरानले जनाएको छ । यसैबिच, बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इरानले इजरायली हमलाको जवाफ दिन नहुने बताउँदै उक्त क्षेत्रको तनाव मत्थर पार्न साझेदारहरूलाई सुझाव दिएका छन् । 

बदलापूर्ण हमला नगर्न इरानलाई अमेरिकी दबाब
संयुक्तराज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ । ‘हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्वको चक्र अन्त्य गर्न सकियोस्,’ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सिन साभेटले पत्रकारहरूलाई भने । इजरायली सेनाले इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा गरेको आक्रमणको भने अमेरिकाले निन्दा गरेको छैन् । बरु अप्रत्यक्ष रूपमा समर्थन जनाएको छ ।  ‘इजरायली हमला आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसंख्या भएका क्षेत्रहरूलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्य केन्द्रित आक्रमण गरेको थियो,’ उनले भने । इजरायलले इरानमा गरेको अक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताउँदै उनले भने, ‘मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो ।’ ह्वाइटहाउसले इजरायलको ‘आत्मरक्षाको अभ्यास’अघि आफूलाई त्यसबारे बताइएको जनाएको छ । गाजाविरुद्धको हमलामा अमेरिकाले सुरुदेखि नै इजरायलको समर्थन गर्दै आएको छ ।