Skip This
कृष्णपुरको सामुदायिक वनमा फलफूलखेती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
सामुदायिक वनमा लगाएका विरुवा अवलोकन गर्दै जनप्रतिनिधि र वनका पदाधिकारी
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज २० आइतबार १३:२६:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कृष्णपुरको सामुदायिक वनमा फलफूलखेती

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १३:२६:oo

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनमा फलफूलखेती सुरु गरिएको छ। कृष्णपुर नगरपालिका– १ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनमा फलफूलका बिरुवा रोपिएको हो। चुरेफेदमा रहेको ऐश्वर्य सामुदायिक वन क्षेत्रभित्र विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएका छन्। कृष्णपुर स्थानीय सरकारले उक्त सामुदायिक वनको क्षेत्रभित्र बेलदेखि चिउरीसम्मको बिरुवा रोपेको छ।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले वन पर्यावरण संरक्षणका साथै स्थानीयहरूलाई रोजगारीका कार्यक्रममा जोड्नका लागि सामुदायिक वनमा फलफूलखेतीको योजना ल्याएको बताए। मेयर ओझाले फलफूलका लागि सम्भावना रहेको उक्त सामुदायिक वनमा निःशुल्क बिरुवा वितरण गरिएको जानकारी दिए। ‘हामीले वाणी सबडिभिजन वन कार्यालयमार्फत नर्सरी बनाएर उत्पादन गरेका फलफूलका बिरुवा ऐश्वर्य सामुदायिक वनलाई वितरण गरेका थियौँ, त्यति मात्रै होइन, वृक्षरोपणमा पनि सघाएका हौँ।’

उक्त सामुदायिक वनमा २० हजार बेलका बिरुवा, दुई हजार पाँच सय चिउरी, सात हजार दालचिनी, १० हजार कागती, अमलाका साथै नेपियर घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको मेयर ओझाले बताए। ‘नगरको दोमिल्ला उत्तरी चुरे भेग मह पकेट क्षेत्रका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो,’ मेयर ओझाले भने, ‘हामीले त्यहाँ अहिले २५ सय बिरुवा रोपेका छौँ, भावी दिनमा मह र अन्य जनावरका लागि समेत आहारा उत्पादन हुनेछ।’

दोमिल्ला क्षेत्र जंगली हात्ती प्रभावित भएकाले बेतबाँस र बेलखेती गरिएको मेयर ओझाले बताए । ‘स्थानीयलाई भावी दिनमा स्वदेशमै रोजगारी उद्यमका लागि पनि बेलखेती महत्त्वपूर्ण छ। बेलबाट जुससहित उपभोगका लागि सहज उपलब्ध हुनेछ,’ उनले भने। खानाका परिकारमा हाल्नका लागि दानचिनीका बिरुवासमेत रोपिएका छन्। कृष्णपुर नगरपालिका– ५ गुलरियाको हरियाली सामुदायिक वनमा समेत २० हजार बेदबाँसका बिरुवा रोपिएका छन्। वडा नं ५ मै रहेको आयुर्वेद अस्पतालका लागि तीर्थराज चूर्ण बनाउन हर्रो, बर्रो, अमलाको समेत खेती गरिएको बताए। मेयर ओझाले कृष्णपुर नगरपालिकालाई फलफूलदेखि विभिन्न जडीबुटी उत्पादन गरेर एकातिर पर्यावरण स्वच्छ राख्ने अर्कातिर स्थानीय आम्दानीका कार्यक्रममा जोड्ने उद्देश्य रहेको बताए।

ऐश्वर्य सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीले पालिकाबाट निःशुल्क पाइएका बेल, कागती, अमला, बेदबाँस, चिउरी, दालचिनीलगायतका बिरुवा झन्डै ६० हेक्टर जमिनमा उत्पादन गरिएको बताए। ‘हामीले झाडी सफाइ गरेर बिरुवा रोपेका छौँ,’ उनले भने, ‘सबै बिरुवाको संरक्षण गर्दै भावी दिनमा पर्यावरणका साथै आम्दानी वृद्धिका कार्यक्रममा उपभोग गर्छौँ।’

ऐश्वर्य सामुदायिक वनका अध्यक्ष इन्द्र बुढाले स्थानीय कृष्णपुर सरकारले आफ्नो सामुदायिक वनभित्र फलफूलका बिरुवा रोपेर वन संरक्षणका साथै उपभोक्ताको आम्दानीका लागि ल्याएको योजनाले स्थानीय लाभान्वित हुने बताए। ‘वनभित्र लगाएको चिउरीले मौरीपालनदेखि जुस व्यवसायका लागि प्रत्यक्ष लाभ हुनेछ,’ अध्यक्ष बुढाले भने, ‘पालिकाले ल्याएको योजनाले सामुदायिक वनबाट बहुपयोगी लाभ यसरी नै लिन सकिन्छ।’ अध्यक्ष बुढाले पालिका सरकारले लगाएका बिरुवाको संरक्षण प्रवर्द्धन गर्ने बताए।