
अमेरिकाले थप तीन नेपालीलाई चार्टर्ड विमानमा नेपाल ल्याएर छाडेको छ । अवैध रूपमा अमेरिका बस्दै आएका तीन युवकलाई शनिबार दिउँसो काठमाडौं ल्याएर छाडिएको हो । दाङ, पर्वत र रुकुम पश्चिममा युवकहरू अवैध रूपमा अमेरिका पुगी टेक्सास बस्दै आएका थिए । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले पक्राउ गरी उनीहरूलाई नेपाल ल्याएर छाडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार चार्टर्ड विमानमा ल्याइएका उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइएको छ । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडेको छ । चार्टर्ड विमानमा चार बंगलादेशीसमेत थिए । उनीहरूलाई ढाकामा छाडेर तीन नेपालीलाई काठमाडौंमा छाडिएको हो ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता त्यहाँ आप्रवासीविरुद्ध धरपकड भइरहेको छ । त्यसमा नेपाली पनि परेका छन् । गत २१ फागुनमा चार्टर्ड विमानमा आठ नेपालीलाई ल्याएर छाडिएको थियो । निष्कासन गरिएका कतिपय नियमित उडानमार्फत आउने गरेका छन् ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार २० जनवरीयता अमेरिकाबाट ७२ जना नेपालीलाई निष्कासन गरिएको छ । ‘हाम्रो रेकर्डमा हालसम्म अमेरिकाबाट ७२ जना निष्कासन भएको देखिन्छ,’ उनी भन्छन्, ‘अरू केही हाम्रो जानकारीविना पनि आएका हुन सक्छन् ।’