
अन्नपूर्ण गाउँपालिका- ५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार ४५० मिटर उचाइमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाले हिमशृंखला, सूर्योदय, पहाडी भूगोल अवलोकनका साथै एकान्त वातावरणमा रमाउन सकिने यो ठाउँमा न्यून मात्रामा पर्यटक आउने गरेका बताए ।
‘यहाँसम्म आउने व्यवस्थित पदमार्ग निर्माण र आकर्षणको प्रचारप्रसार नहुँदा पर्याप्त पर्यटक आगमन हुन सकेको छैन,’ उनले भने, ‘बयलीलाई व्यवस्थित गर्न सक्ने हो भने अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।’
अन्नपूर्ण गाउँपालिका– ५ शिख, पाउद्वार, स्वाँत बासिन्दाहरूको अगुवाइमा पर्यटकको सुविधा, गाउँका विद्यालय र स्वास्थ्य संस्था सञ्चालनका लागि स्थानीय स्रोत जुटाउन १५ वर्षदेखि बयली, ढाडखर्क र खोपारामा सामुदायिक लज सञ्चालन भएको छ ।
बयलीको तलतिर गुराँस र सल्लाको जंगल छ । माथिल्लो क्षेत्रको पाखोमा घरपालुवा जनावरको बर्खायामको चरन क्षेत्र (बुकी) छ । यहाँ चौरीपालन गरिएको छ । बर्खायाममा भेडा बाख्रा र गाई भैँसीको गोठ पनि बयलीमा राख्ने गरिन्छ । पश्चिम फर्किएको पाखोमा अवस्थित बयलीको पृष्ठभूमिमा धवलागिरि ‘रेञ्ज’का हिमाल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । म्याग्दीका पहाड र ग्रामीण बस्ती पनि देखिन्छ । बस्तीबाट टाढा रहेको बयलीको वातावरण शान्त र रमणीय छ । चौँरीगोठ बयलीको थप आकर्षण हो ।
म्याग्दीको घोडेपानीबाट एक दिन र कास्कीको घान्द्रुकबाट दुई दिनको पदयात्रा गरेर बयली पुग्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा घोडे पानी र घान्द्रुकबाट बयली जाने आधारभूत स्तरको पदमार्ग छ । बयलीको सामुदायिक लजमा एक दिनमा १८ जना बास बस्न सक्ने क्षमता छ । बयलीबाट ढाडखर्क हुँदै स्वाँत-शिख र खोपारा-खयर-पाउद्वार जान पनि सकिन्छ । बयलीबाट ढाँडखर्कसम्मको जंगल र भिरमा पदमार्ग नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सडक विस्तारसँगै छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको बसाइँ लम्ब्याउन बयलीलगायत सम्भावना भएका गन्तव्यको पहिचान र ती ठाउँमा पूर्वाधार निर्माणका लागि प्रयास गरिएको बताए। ‘बयलीलाई पनि नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ,’ उनले भने, ‘यस क्षेत्रको निरीक्षण गरेर आवश्यकता पहिचान र पूर्वाधार निर्माणमा पहल गर्छौँ ।’