१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
गभर्नर नियुक्तिलगायतका विषयमा बुधबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
पवन तिमिल्सिना काठमाडाैं
२o८२ बैशाख ४ बिहीबार o८:३२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

योग्यताका आधारमा होइन, ओली–देउवाको सहमतिमा नियुक्त हुँदै छन् गभर्नर

बहालवाला गभर्नर बिदाइ हुनुअघि नयाँ नियुक्ति गर्नुपर्ने भए पनि सत्ता साझेदारबिच सहमति नहुँदा राष्ट्र बैंक २२ चैतदेखि नेतृत्वविहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार o८:३२:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक असहमतिले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएको स्विकारेका छन् । साथै, उनले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नर नियुक्तिका विषयमा सहमति भइसकेकाले चाँडै नियुक्ति प्रक्रिया अघि बढ्नेसमेत दाबी गरेका छन् ।

बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति देउवाबिच गभर्नर नियुक्तिका विषयमा मंगलबार सहमति भएको बताएका हुन् । उनले महत्वपूर्ण नियुक्तिमा राजनीतिक दलहरूले चासो राख्ने विषयलाई स्वाभाविक रूपमा लिनुपर्ने तर्कसमेत गरेका छन् ।

‘गभर्नरजस्तो पदमा दलहरूले आ–आफ्नो चासो राख्नु स्वाभाविक पनि हो । अस्वाभाविक होइन,’ उनले भने, ‘हिजो (मंगलबार) मात्रै हो, दुई पार्टी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पनि वार्ता भएर चाँडोभन्दा चाँडो समस्याको समाधान गर्ने सहमति भएको छ ।’ 

बुधबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले पनि गभर्नर नियुक्तिको विषयमा महत्वपूर्ण निर्णय गर्ने एजेन्डा रहेको उनले बताए । ‘गभर्नर नियुक्ति ढिलो भएकै छ । हामी चाँडोभन्दा चाँडो नियुक्ति गर्ने प्रक्रियामा छौँ,’ उनले भने, ‘यो एउटै दलको सरकार होइन । मिलिजुली सरकार हो । कांग्रेस र एमाले मात्रै होइन, अरू पार्टी पनि छन् । नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनुपर्नेछ । लयमा आउन थालेको अर्थतन्त्रलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता छ ।’

मन्त्री गुरुङले गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको विषय बजार हल्ला मात्रै भएको पनि दाबी गरे । ‘बिचौलिया हाबी भए र एक अर्ब सात करोड खर्च भए भन्ने समाचार आइरहेको छ । यस्तो सूचनाको स्रोत दिए गृहमन्त्रीज्यूलाई भन्नुहुन्थ्यो । कुनै तथ्य प्रमाण नभएको विषयमा नलेखेको राम्रो,’ उनले भने ।

सरकारले डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइसकेकाले राष्ट्र बैंकका महत्वपूर्ण काम नरोकिएको उनको भनाइ छ । उनले कार्यवाहक गभर्नर स्थायी प्रकृतिको नभए पनि अधिकार सम्पन्न हुने भएकाले नियमित काममा बाधा नपर्ने तर्क राखे । ‘राष्ट्र बैंक निमित्तको भरमा छाडेका छैनौँ । कार्यवाहक गभर्नर नै तोकेका छौँ । सबै अधिकार हुन्छ । स्थायित्वको मात्रै विषय हो’ उनले भने । सामान्यतया बहालवाला गभर्नरले बिदा लिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने मापदण्ड भए पनि महाप्रसाद अधिकारीले गभर्नरबाट २२ चैतमै बिदा लिइसके पनि अहिलेसम्म नयाँ नियुक्ति हुन सकेको छैन । 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङको स्वरोक्ति : प्रधानमन्त्री र कांग्रेस सभापतिबिच गभर्नर नियुक्तिका विषयमा सहमति भइसकेको छ, अब चाँडै नियुक्ति गर्छौँ

गभर्नर नियुक्ति ढिलो भएकै छ । हामी चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति गर्नेछौँ । यो एउटै दलको सरकार होइन । मिलिजुली सरकार हो । कांग्रेस र एमाले मात्रै होइन, अरू पार्टी पनि छन् । नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउनुपर्नेछ । लयमा आउन थालेको अर्थतन्त्रलाई थप सुदृढ गर्नुपर्ने आवश्यकता छ ।

गभर्नरजस्तो पदमा दलहरूले आ–आफ्नो चासो राख्नु स्वाभाविक पनि हो । अस्वाभाविक होइन । हिजो (मंगलबार) मात्रै हो, दुई पार्टी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पनि वार्ता भएर चाँडोभन्दा चाँडो समस्याको समाधान गर्ने सहमति भएको छ । 

गभर्नर नियुक्ति गर्न बिचौलिया हाबी भए र एक अर्ब सात करोड खर्च भए भन्ने समाचार आइरहेको छ । यस्तो सूचनाको स्रोत दिए कारबाही गर्न गृहमन्त्रीज्यूलाई भन्नुहुन्थ्यो । कुनै तथ्यप्रमाण नभएको विषयमा नलेखेको राम्रो हुन्छ । 

राष्ट्र बैंक निमित्तको भरमा छाडेका छैनौँ । कार्यवाहक गभर्नर नै तोकेका छौँ । उहाँलाई सबै अधिकार हुन्छ । स्थायित्वको मात्रै विषय हो । उच्चस्तरीय संयन्त्रको बैठक बुधबार बसेको छ । त्यहाँ पनि गभर्नर नियुक्तिबारे छलफल चलेको छ ।