१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ७ आइतबार १o:३६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन क्षेत्रको विकासमा महिला सहभागिता महत्त्वपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार १o:३६:oo
  • गाउँमा रहेका महिलालाई डिजिटल साक्षरतामा लैजाँदा अर्थतन्त्रको मेरुदण्ड पर्यटन बन्न सक्छ, यसका लागि निजी क्षेत्र र सरकारी संयन्त्रबिच विश्‍वासको वातावरण बनाउन आवश्यक छ : पर्यटनमन्त्री

नेपालको पर्यटन क्षेत्रमा महिलाको सहभागिता ५० प्रतिशत रहेको सरोकारवालाले बताएका छन् । शनिबार पर्यटन बोर्डले आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटनमा महिला’ विषयक कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य रहेको बताएका हुन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा महिला उद्यमशीलता विकास अबको प्राथमिकता हुने बताए । उनले भने, ‘गाउँमा रहेका महिलालाई डिजिटल साक्षरतामा लैजाँदा हाम्रो अर्थतन्त्रको मेरुदण्ड पर्यटन बन्न सक्छ, यसका लागि निजी क्षेत्र र सरकारी संयन्त्रबिच विश्‍वासको वातावरण बनाउन आवश्यक छ ।’

योजना आयोगकी सदस्य गीताकुमारी पौडेल अधिकारीले पर्यटन र प्रविधिको संयोजनबारे पर्यटन क्षेत्रमा लागेका महिलालाई सशक्तीकरण गर्नुपर्ने बताइन् । ‘१६औँ योजनामा पर्यटन र प्रविधिको संयोजनलाई प्राथमिकता दिइएको छ, डिजिटल पहुँच अझै ३० प्रतिशत नागरिकसम्म पुगेको छैन, यसमा महिलाको पहुँच झनै कम छ,’ उनले भनिन्, ‘नीति–निर्माणमै लैंगिक समानताका सवालमा ध्यान दिनुपर्नेछ, महिलालाई प्राथमिकतामा राखेर उनीहरूको वित्तीय पहुँच पनि स्थापित गर्न उत्तिकै जरुरी छ ।’

पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले पर्यटन क्षेत्रमा महिलाको संख्यात्मक वृद्धि भए पनि यसलाई गुणस्तर र परिमाणमुखी बनाउनुपर्ने बताए । ‘नेपालको पर्यटन क्षेत्रमा ५० प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको छ,’ उनले भने, ‘यद्यपि, उनीहरूलाई विभिन्‍न तालिम तथा प्रशिक्षण दिने र पर्यटनका विविध आयाममा सहभागिता गराउनुपर्ने देखिन्छ ।’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले पर्यटन क्षेत्रमा महिला सहभागिता संख्यात्मक रूपमा धेरै देखिए पनि न्यून ज्याला पाउने काममा मात्र सीमित रहेको बताइन् । अब डिजिटल सीप, वित्तीय साक्षरता र ब्रान्डिङका माध्यमबाट उनीहरूलाई नेतृत्वतर्फ लैजानु जरुरी रहेको उनको भनाइ थियो ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा सहभागी भएका महिलाको आत्मनिर्भरतामा सरकारले ध्यान दिनुपर्ने औँल्याएका छन् । उनले भने, ‘पर्यटन क्षेत्रमा करिब ५० प्रतिशत महिलाको संलग्नता छ, तर उनीहरूलाई सशक्तीकरण गर्दै नेतृत्वमा ल्याउनु आवश्यक छ ।’ 

नेपाल ट्राभल एन्ड टुर्स एसोसिएसन (नाट्टा)की महासचिव युविका भण्डारीले महिलाको सहभागिताविना पर्यटन क्षेत्रको विकास असम्भव भएको बताइन् । ‘नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन महिलाको सशक्त सहभागिता आवश्यक छ, पर्यटन अब महिलाविना अधुरो छ, प्रविधिको प्रयोग, रचनात्मकता र पहुँचको विस्तारसँगै नेपाली महिलाले पर्यटनको नक्सा फेरिरहेका छन्,’ उनले भनिन् ।

महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले पर्यटन क्षेत्रमा महिलाको सक्रियता बढेको बताइन् । उनीहरूलाई डिजिटल प्रविधिमा दक्ष बनाउनुको अर्को विकल्प नरहेको उनको भनाइ थियो । यस्तै, बन्दना राणाले पर्यटन क्षेत्रमा महिलाको निकै ठुलो योगदान भए पनि नदेखिएको गुनासो गरिन् । साहसिक पर्यटन अगुवा महिला तथा बन्‍जी नेपालकी संस्थापक मीना बरालले वित्तीय कुरामा पुरुष हाबी हुने गरेको उल्लेख गरिन् । 

मेडिकल पर्यटनमा काम गरिरहेकी डा. प्रीति विष्टले मेडिकल पर्यटनमा ठुलो सम्भावना रहेको औँल्याउँदै भनिन्, ‘मेडिकल पर्यटनमा वार्षिक १५–२० मिलियन डलरको आम्दानी अहिलेको अवस्थामा गर्न सकिन्छ, हामीसँग पूर्वाधार र दक्ष जनशक्ति छन्, अब समन्वय र नीति आवश्यक छ ।’ पर्वतारोही चोकी शेर्पाले पर्वतारोहीले उमेर हुन्जेलसम्म काम पाउने र त्यसपछि हराउँदै जाने अनि राज्यले पनि बिर्सिने गरेको गुनासो गरेकी छिन् । ‘पहिले भात–भान्सामा सीमित महिला आज ट्रेकिङ गाइड र सफल पर्वतारोही बन्‍न सकेका छन् । यो परिवर्तन प्रेरणादायी छ,’ उनले भनिन्, ‘यसैले महिला पर्वतारोहीलाई थप अवसर प्रदान गर्नुपर्नेछ ।’