१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
२o८२ बैशाख ७ आइतबार o८:२६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँपटक यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार o८:२६:oo
  • सन् २०२६ को विश्वकप एसियन छनोटको निर्णायक खेल वर्षाले हुन पाएन । अफगानिस्तानले रनरेटमा नेपाललाई निराश बनाउँदै स्थान पक्का गर्‍यो । अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ रनरेट रह्यो ।

नवौँपटक आइसिसी यू–१९ विश्वकप खेल्ने नेपालको सपना वर्षाका कारण समाप्त भएको छ । एसिया छनोटअन्तर्गत शनिबार अफगानिस्तानविरुद्धको निर्णायक खेलमा मौसम बाधक बन्यो । मूलपानीस्थित तल्लो मैदानको पूर्वतर्फको भागमा अत्याधिक हिलो भएपछि खेल सम्भव भएन । टसै नहुने अवस्था आउँदा अम्पायरले खेल रद्दको निर्णय सु्नाए । अम्पायरको निर्णयसँगै अफगानिस्तान रनरेटका आधारमा विश्वकपमा पुग्यो । नेपाल रनरेटमा पछि पर्दा लगातार दोस्रोपटक र समग्रमा नवौँचोटि विश्वकप खेल्ने सपना समाप्त भयो । एसिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्ने व्यवस्था थियो ।

लिग चरणमा दुवै टोलीले समान तीन खेलमा ६ अंक जोडेका थिए । सन् २०२६ मा जिम्बावे र नामिबियाले आयोजना गर्ने विश्वकपमा स्थान बनाउन अफगानिस्तान र नेपालमध्ये एक टोली पुग्ने समीकरण थियो । लिग चरणकै अन्तिम खेलमा यी दुवै टोली निर्णायक भिडन्तमा पुगेका हुन् । वर्षाले खेल नहुँदा अफगानिस्तान सात अंकका साथ शीर्ष स्थानमा रही विश्वकपमा छनोट भयो । नेपाल भने दोस्रो स्थानमा सीमित भयो । नेपालको विश्वकप यात्रामा वर्षा बाधक बन्यो । 

मूलपानीमा बिहानसम्म भएको वर्षाले मैदानको पूर्वतिरको भागमा पानी जमेको थियो । जसका कारण बिहान निर्धारित समयमा टस भएन । ग्राउन्ड स्टाफले मैदानबाट पानी सुकाउन सबै प्रयास गरे । यसबिच दिउँसो एक बजेतिर घाम लाग्दा खेल हुने आशा देखियो । दिउँसो २ बजेको अन्तिम निरीक्षणपछि म्याच रेफ्रीले खेल रद्द भएको घोषणा गरे । दुवै टोलीले समान एक अंक बाँडे । रनरेटमा अफगानिस्तान अगाडि रह्यो । 

अफगानिस्तानको रनरेट ४.८१७० र नेपालको ३.५७६४ थियो । यसअघि नेपालले सन् २००० मा पहिलोपटक विश्वकप खेलेको थियो । सन् २००० देखि २००८ सम्म लगातार नेपालले पाँचपटक विश्वकपमा स्थान बनाएको थियो । यसबिच नेपाल एकपटक विश्वकपको प्लेट च्याम्पियन र एकपटक उपविजेता बनेको थियो । विनोद दासको कप्तानीमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता तथा कनिष्क चौगाईंको कप्तानीमा नेपाल प्लेट च्याम्पियन बनेको थियो । नेपाल सन् २०१२ र २०१६ को विश्वकपमा छनोट भएको थियो । आठ वर्षपछि नेपालले सन् २०२४ को विश्वकप खेलेको थियो । 

प्रशिक्षक शक्तिले सम्झाए खेलाडीलाई
नेपालको उमेर समूहकै उत्कृष्ट अलराउन्डरका रूपमा चिनिने गौचनले पहिलोपटक यू–१९ राष्ट्रिय टोली सम्हालेका हुन् । गौचनको प्रशिक्षणमा नेपाली युवा क्रिकेटरले लगातार तीन महिना परिश्रम गरेका थिए । एसियन छनोटको पहिलो तीन खेल जितेर शीर्ष स्थानमा रहँदै छनोट हुने आधार नेपालले बनाएको थियो । अर्कोतिर टेस्ट राष्ट्र अफगानिस्तान पनि लगातार तीन खेल जित्दा शीर्ष स्थानमै रह्यो । तीनवटै खेलमा विपक्षीमाथि फराकिलो जित निकालेको अफगानिस्तान रनरेटमा अगाडि थियो । 

वर्षा बाधक हुँदा नेपाल छनोट नहुनेमा खेलाडीहरू जानकार थिए । जितबाहेक अरू विकल्प उनीहरूसँग थिएन । अफगानिस्तानलाई हराउँदै नवौँपटक विश्वकप खेल्ने उनीहरूको भित्री चाहना थियो । तर, शनिबार मूलपानीमा नेपालको हकमा केही भएन । पानीले मैदानको आउट फिल्ड भिजेको थियो । ग्राउन्ड स्टाफले मैदानको चारैतिर सुकाउने र पानी बाहिर निकाल्ने प्रयास गरिरहेका थिए । तर, ग्राउन्ड स्टाफको मिहिनेतले काम गरेन । अम्पायरले पूर्वतिरको भागमा पानी जमेको र हिलो भएका कारण खेल्न योग्न नभएको बताए । यो निर्णयसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुर भयो । ड्रेसिङ रुम र बाहिर बसेका नेपालका युवा क्रिकेटर निराश देखिए । उनीहरूले आफूलाई सम्हाल्न सकेनन् । मुख्य प्रशिक्षक गौचनले आफ्ना खेलाडीलाई सम्झाउन निकै प्रयास गरे । 

‘खेल रद्द भएपछि खेलाडीहरू भावुक बने, मेरो पनि चित्त दुखेको थियो, जीवन यस्तै हो, कहिले जित त कहिले हार हुन्छ,’ शक्तिले भने, ‘मैले पनि करिअरमा योभन्दा धेरै दुःख भोगेको थिएँ, यही आफ्नो अनुभव उनीहरूलाई सुनाएँ ।’ एकपटक विश्वकप खेल्ने अवसर गुमाए पनि अगामी दिनमा थप अवसर आउने शक्तिको भनाइ छ । ‘हामीले कम मिहिनेत गरेका थियौँ होला, आउने दिनमा झन् राम्रो हुन्छ भनेर खेलाडीलाई सम्झाएँ, कहिलेकाहीँ राम्रो हुनका लागि नै नराम्रो भएको हुनुपर्छ,’ उनले भने, ‘अझै धेरै लामो यात्रा छ भनेर सम्झाएँ ।’