गायिका एलिना चौहानको वैवाहिक सम्बन्ध १० महिनामै टुटेको छ । उनले पति विष्णु सापकोटाविरुद्ध शुक्रबार जिल्ला अदालत, काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा (फिरादपत्र) दर्ता गराएकी छिन् ।
गत ५ वैशाखमा उनको बाग्लुङ घर भई अस्ट्रेलिया बस्ने सापकोटासँग विवाह भएको थियो। केही महिनामै आफूहरूबिच सम्बन्ध राम्रो नभएको उनले फिरादपत्रमा उल्लेख गरेकी छिन् । आफ्नो चरित्रमाथि शंका गर्ने गरेको र त्यसले मानसिक कष्ट भई वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने भएकाले फिरादपत्र दायर गरिएको उनले उल्लेख गरेकी छिन् ।
अंश तथा माना–चामल नलिने गरी उनले फिरादपत्र दायर गरेकी हुन् । अंश नलिने गरी दायर भएको यस्तो सम्बन्धविच्छेदको मुद्दा छोटो समयमै फैसला हुने कानुन व्यवसायी बताउँछन् । एलिनाले ‘फास्ट ट्रयाक’मा सम्बन्धविच्छेदको मुद्दा किनारा लगाउन चाहेकी छिन्।