Skip This
सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि अध्यादेश : देउवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार १५:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि अध्यादेश : देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १५:४९:oo

कांग्रेसका सभापति शेरबहादुर देउवाले सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि सरकारले अध्यादेशमार्फत् कानून ल्याएको बताएका छन् । व्यावसायिक वातावरण प्रवर्द्धन गर्न, लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याइएको उनले बताए । अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो बैठकलाई आज सम्बोधन गर्दै उनले 'कानूनले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्बासी एवम् अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, सहकारीको क्षेत्रमा देखा परेको समस्या समाधान गर्नेछ । यी कानुनहरुले आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु', कांग्रेस सभापति देउवाले भने, 'ती अध्यादेशहरू सदनबाट स्वीकृत हुने छन् र पछि पेस हुने प्रतिस्थापन विधेयकमा आवश्यक भए थप परिमार्जन गरी पारित गर्न म आग्रह गर्दछु ।' 

संसदमा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको उल्लेख गर्दै उनले संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक चाँडो पारित गरेर कार्यान्वयनमा ल्याइनुपर्ने छ ।

'संसद्मा विचाराधिन विधेयकहरु द्रुत गतिमा निर्माण हुनु जरुरी छ', सभापति देउवाले भने, 'सबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु ।' हिउँदे अधिवेशन कानुन निर्माण गर्ने अधिवेशनका रुपमा लिइने भएकाले विचाराधिन विधेयक र नयाँ विधेयकमाथिको संसदीय प्रक्रियामा शीघ्रता दिइनुपर्ने उनको भनाइ थियो ।  

संविधान संशोधन सबै दलको सहमतिमा 

सभापति देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने बताए । त्यस्तै, वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको स्मरण गर्दै सभापति देउवाले कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमति कार्यान्वयनमा जोड दिए।

वर्तमान सरकारले नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नेगरी काम गरिरहेको उनले बताए । 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र यसै व्यवस्थाका माध्यमले मुलुकमा दिगो शान्ति स्थापना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति गर्ने, देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक प्रगति गर्ने, विकास निर्माणलाई तीव्र गति दिने र देशको आर्थिक अवस्थालाई सुदृढ गर्दै समृद्धि प्राप्त गर्ने यो सरकारको मुख्य ध्येय हो', उनले भने, 'सरकार यस मार्गमा सकारात्मक रुपले काम गरिरहेको छ र आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु ।' 

मुलुकको समग्र विकासका लागि लोकतन्त्रको सुनिश्चितता र सुदृढ अर्थतन्त्र आवश्यक हुने उल्लेख गर्दै सभापति देउवाले सबै दलहरुलाई यी विषयलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरे ।