१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ असोज ५ शनिबार १o:१९:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलाडी र प्रशिक्षकको भूमिकामा स्वर्ण जितेका गंगाराम

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १o:१९:oo

सन् १९९९ मा काठमाडौंमा आठौँ दक्षिण एसियाली खेलकुद (साफ) भएको थियो । साफ इतिहासमा नेपाल पहिलोपटक पदकतालिकाको दोस्रो स्थानमा रह्यो । नेपालले त्यसवेला सर्वाधिक ३१ स्वर्ण जितेको थियो । जसमा कराँते मात्रै १४ स्वर्ण जितेको थियो । त्यसमध्ये कराँतेका गंगाराम महर्जनले पनि डेब्यु खेलमै स्वर्ण जितेका थिए । नवौँ साफमा रजत जितेका महर्जन दसौँ संस्करणमा पदकविहीन भए । खेलाडीका रूपमा स्वर्ण हात पारेका उनले मुख्य प्रशिक्षकका रूपमा पनि राज्यलाई सागमै स्वर्ण दिलाएका छन् । सन् २०१९ मा काठमाडौंमै भएको १३औँ सागमा उनको प्रशिक्षणमा नेपालले कराँतेमा चार स्वर्ण र एक रजत जितेको थियो । उनले प्रशिक्षण दिएका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण पदक चुमेका थिए । महर्जनले विशेष गरी आठौँ साफमा खेलाडीका रूपमा जितेको स्वर्णको स्मरण नयाँ पत्रिकाका रमेश सुवेदीलाई सुनाए : 

सहमतिमै छनोटमा दोस्रो भएँ
सन् १९९९ मा काठमाडौंमा आठौँ दक्षिण एसियाली खेलकुद (साफ) भएको थियो । कराँते डेब्यु खेलका रूपमा थियो । आयोजक राष्ट्र नेपालले पदक सम्भावना बोकेको कराँतेलाई समावेश गरेको थियो । साफको कराँते टोलीमा स्थान पक्का गर्न मैले मध्यमाञ्चलबाट छनोट खेलेको थिएँ । पुलिस र आर्मीका खेलाडी प्रतिस्पर्धामा थिए । व्यक्तिगत कातामा मैले क्षेत्रीय छनोटमा पहिलो स्थान हात पारेको थिएँ । यसअघि, नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा म दोस्रो भएको थिएँ । त्यसवेला आयोजकले पुलिसका खेलाडी कृष्ण राईलाई च्याम्पियन बनाएर बढुवा बनाउने योजनामा थियो । एकैपटक ती पदाधिकारीले मलाई ‘कृष्णको बढुवा गर्नुपर्ने भयो । उसलाई पहिलो बनाउनुपर्छ र तिमी दोस्रो स्थानमा बस्नुपर्छ’ यस्तै निर्देशन दिए ।

मैले सहजै हुन्छ भनेँ । आठौँ साफको क्लोज क्याम्पमा छनोट प्रतियोगितामा पहिलो हुने मात्र बस्न पाउने प्रावधान थियो । यसैबीच, छनोट खेलका शीर्ष आठ खेलाडीलाई क्लोज क्याम्पमा राख्ने भएपछि मैले कृष्ण गुरुसँग सहमति जनाएँ । आठौँ साफमा कराँते खेल समावेश हुने भए पनि हामी खेलाडी र पदाधिकारी निकै खुसी भयौँ । क्लोज क्याम्पमा रहेका वेलामै मैले राष्ट्रियस्तरका खेलाडीलाई प्रशिक्षण दिइसकेको थिएँ । म राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षक थिएँ । काठमाडौंमै प्रशिक्षण भयो । लगभग एक वर्षजति हामी खेलाडीले प्रशिक्षण गर्ने अवसर पायौँ । साफको अन्तिम छनोट धाँधली नहोस् भनेर एसियालीस्तरका रेफ्रीहरू झिकाइएको थियो । अन्तिम छनोटमा पहिलो हुँदै साफका लागि छनोट भएँ । हामीले त्यतिवेला ठमेलको एक होटेलमा बसेर प्रशिक्षण गरेका थियौँ ।

मलेसियामा गज्जबको प्रशिक्षण 
आठौँ साफको तयारीका रूपमा हामीले मलेसियामा एक महिनाजति विशेष प्रशिक्षण गर्ने अवसर पायौँ । मलेसियाको प्रशिक्षण विशेषता नै त्यहाँ जापानलगायत एसियाका विश्वस्तरीय खेलाडी प्रशिक्षण लिन आउथेँ । उनीहरूको दैनिक प्रशिक्षणसँगै अभ्यास खेल पनि हुन्थ्यो । हामीले मलेसियाअघि भारतमा पनि प्रशिक्षण गरेका थियौँ । आठौँँ साफमा कराँतेका खेलाडीले मलेसियामा राम्रो एक्सपोजरसँगै प्रशिक्षणको अवसर पाएका थिए । नेपालमा हुने प्रशिक्षण बबाल नहुने होइन । नवौँ साफअघि पनि खेलाडीलाई विदेशमा प्रशिक्षण गर्न पठाइन्थ्यो ।

तर, त्यति गतिलो भने हुँदैनथ्यो । राज्यले केवल देखाउन मात्र अभ्यासमा पठाउँथ्यो । तर, आठौँ साफको  तयारीमा यस्तोे भएन । राज्यले घरमै आयोजना भइरहेको साफ खेलकुदमा बढीभन्दा बढी पदक ल्याउन खेलाडीलाई विशेष किसिमको प्रशिक्षणमा राखेको थियो । मलेसियाको प्रशिक्षणले हामी सबै खेलाडीको आत्मविश्वास बलियो भयो । त्यहाँ एसियनस्तरका खेलाडीसँग गरेका अभ्यास र प्रतिस्पर्धाले हामी नेपाली खेलाडीले साफमा पदक जित्ने हिम्मत निकाल्यौँ । मलेसियामा भएका हरेक अभ्यास र प्रतियोगितामा हामीले राम्रो प्रदर्शन गरेका थियौँ । मलेसियामा एसियन गेम्स खेलिसकेका खेलाडीसँग मैत्रीपूर्ण खेल्दा राम्रो भएको थियो । त्यसैले दक्षिण एसियाली खेलाडीसँग खेल्दा पदक आउँछ भन्ने आत्मविश्वास थियो । संयोग कस्तो रह्यो भने मलेसियाको प्रशिक्षणबाट फर्केको भोलि नै कराँतेको खेल थियो । त्रिपुरेश्वरको कभर्डहलमा जानुअघि नै पदकको आशा गरेको थिएँ । राज्यले हामीलाई न्युरोडको होटेलमा राखेको थियो । 

युवराज दीपेन्द्र नै भेट्न आउनुभयो
सबै खेलाडीको हौसला प्रदान गर्न र उत्कृष्टका लागि शुभकामना दिन युवराज दीपेन्द्र हामी बसेको होटेलमा आउनुभएको थियो । युवराज विशेष गरी मेरो खेल र प्रशिक्षणबाट प्रभावित हुनुभएको रहेछ । मलेसियाबाट आएपछि नै मलाई भेट्न होटेल नै आउनुभयो । युवराज दीपेन्द्रले भन्नुभयो, ‘मैले तिम्रो खेल र प्रशिक्षण हेरेको छु । यसमा म ढुक्क छ कि गंगारामले नवौँ साफमा स्वर्ण नै ल्याउँछ । अहिलेदेखि नै पदकको शुभकामना छ ।’ न्युरोडबाट राखेपको कभर्डहलसम्मको यात्रा रमाइलो थियो । त्यहाँ समर्थन गर्ने धेरै थिए । त्यसपछि मलाई पदक जित्नुपर्ने दबाब महसुस भयो ।

आठौँ साफका मुख्य–मुख्य खेलको नेपाल टेलिभिजनमा लाइभ थियो । पदकको आशा गरिएका गणेश राई तेस्रो हुनुभयो । युवराज दीपेन्द्र सरकार पनि पदक आउँछ भनेर रंगशालामै आउनुभएको थियो । कभर्डहलमा मेरो खेल चलिरहेको थियो । भिआइपी बक्समा उहाँलाई देखेँ । 

भारतीय र बंगलादेशी खेलाडीलाई हराएर स्वर्ण जितेँ 
तत्कालीन युवराज दीपेन्द्रबाट आठौँ साफको स्वर्ण पदक थाप्दै कराँतेका गंगाराम महर्जन

राखेपको कभर्डहलभित्र प्रतिस्पर्धा गरिरहँदा मैले युवराज दीपेन्द्रसँगै अन्य विशिष्ट व्यक्ति देखेँ । उहाँहरूले मेरो खेल हेरेको पाएँ । यस्तो माहोलमा म आफूलाई दबाबमा परेको महसुस गरेँ । अब उनीहरूका अगाडि कसरी खेल्ने र जित्ने हो ? यस्तै किसिमका कुरा मनमा चलेका थिए । कराँतेले स्वर्ण पदक जित्ने सपना राखेको थिएँ । मन बलियो बनाउँदै गएँ । मलाई स्वर्ण जित्छु भन्ने विश्वास थियो । विपक्षी भारतीय खेलाडीले नजिकबाट चुनौती दिइरहेका थिए । ती भारतीय खेलाडी फेरि चानचुने थिएनन् । उनले एसियन खेलमा भारतलाई कांस्य पदक दिलाएका थिए ।

कराँते इभेन्ट्समा सहभागी दक्षिण एसियाली राष्ट्रका सातै देशका खेलाडीले एकैपटक प्रतिस्पर्धा गरेका थिए । स्कोर बोर्डमा कसैको अंक देखाएको थिएन । कराँते खेल सञ्चालन गरेका अफिसियलहरूले खेल सकिएपछि खेलाडीका अंक सार्वजनिक गर्ने निर्णय गरेका थिए । अंकका आधारमा श्रीलंका र पाकिस्तानका खेलाडी संयुक्त रूपमा तेस्रो भए । अब नेपाल, बंगलादेश र भारतमध्ये एकले स्वर्ण जित्ने पक्का भयो । मलाई म नै पहिलो हुन्छु कि जस्तो लागेको थियो ।

केही समयपछि एसियन खेलमा कांस्य जितेका भारतीय खेलाडी दोस्रो स्थानमा रहेको घोषणा भयो । यो नतिजा आउँदा उसलाई विश्वास नै लागेन । अन्तिममा बंगलादेश र म मात्र बाँकी भयौँ । कता–कता मन चिसो भयो, बंगलादेशले स्वर्ण जित्यो र म पदकविहीन भएँ भन्ने । तर, स्कोर बोर्डमा नेपालले सर्वाधिक अंक ल्याउँदै स्वर्ण जितेको घोषणा भयो । त्यसपछि कभर्डहलमा हुटिङ भयो । त्यसवेला मैले स्वर्ण जित्दा सपनाजस्तै भयो । युवराज दीपेन्द्र सरकारले नै मलाई देशको झन्डा दिनुभयो । आठौँ साफमा प्रीति डंगोलपछि राष्ट्रका लागि मैले दोस्रो स्वर्ण दिलाएँ । दीपेन्द्र सरकारले ‘स्याबास गंगाराम’ भनेर बधाई दिनुभयो ।

सुरक्षाकर्मीले मलाई दीपेन्द्र सरकारसँगै भिभिआइपी कक्षामा लगे । केवल दुईजना मात्र भएको कोठामा सरकारले मलाई ‘के छ समस्या ? के गरौँ’ भन्नुभयो ।’ मैले ‘सबै ठीक छ सरकार’ भनेँ । भित्र कोठामा जानुअघि नै मलाई केही पदाधिकारीले यही कुरा बोल्नुपर्छ भन्ने सिकाएका थिए । युवराज दीपेन्द्र सरकारले मुसुमुसु हाँस्दै भन्नुभयो, ‘ल केही समस्या छ भने भन्नू, मेरो तर्फबाट अवश्य पूरा हुनेछ ।’ पछि स्वर्ण पदक वितरण समारोहमा दीपेन्द्र सरकारले नै मलाई मेडल दिनुभयो । 

आठौँ साफ हुँदा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले पदक विजेता खेलाडीलाई घडेरी नै दिने घोषणा गर्नुभएको थियो । यदि घडेरी नभए स्वर्ण विजेता खेलाडीलाई चार आना जग्गा दिने घोषणा पनि भयो । तर, सरकारले हामी खेलाडीलाई पाँच लाख दियो । सुरुमा राज्यले डेढ लाख दिने घोषणा गरेको थियो । तर, दीपेन्द्र सरकारले एकैपटक तीन लाख दिन निर्देशन दिनुभयो । विभिन्न संघ–संस्थाबाट गरी मैले १० लाखजति नगद पुरस्कार पाएँ । त्यसवेला यो रकम निकै ठूलो थियो ।

नवौंँ साफमा तयारी पुगेन
पाँच वर्षपछि पाकिस्तानको इस्लामाबादमा नवौँ साफ भएको थियो । भारत र पाकिस्तानबिच राजनीतिक समस्याका कारण हाम्रो तयारी पनि त्यति राम्रो हुन सकेन । साफ कहिले हुने वा नहुने निश्चित नै भएन । फेरि आठौँ साफमा पदक विजेता खेलाडीलाई राज्यले बेवास्ता गरेको थियो । तत्कालीन राखेपका सदस्यसचिव किशोरबहादुर सिंहले अभ्यासमा त्यति खासै ध्यान दिनुभएन । पाकिस्तानमा सहभागी नेपाली टोलीको तयारीमै कमजोर भयो । 

हामी फेरि पाकिस्तानमा ट्रेनको यात्रा हुँदै पुगेका थियौँ । इस्लामाबाद पुग्न दुई दिन लागेको थियो । ट्रेनको अल्छीलाग्दो यात्राले सबै खेलाडी थकित भइसकेका थिए । ट्रेनको दुई दिन यात्रामा खानदेखि सुत्ने त्यहीँ नै भयो । हामी पुगेको भोलिपल्ट नै खेल थियो । पाकिस्तानमा पुग्दा पनि खासै प्रशिक्षण भएन । राम्रो तयारी भएको अवस्थामा स्वर्ण नै जित्ने थिएँ, तर यसपटक म रजतमै सीमित भएँ । मेरो लगातार दोस्रो स्वर्ण जित्ने सपना पूरा भएन । दसौँ सागमा केवल सहभागी मात्र भएँ ।