१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ असोज ५ शनिबार o६:२१:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

साना दलमा ठुलो रडाको 

एकीकृत समाजवादी, जसपा नेपाल, राप्रपा, लोसपा, नाउपा, वैद्य माओवादीमा आन्तरिक कलह, नेतृत्वकै क्षमतामा प्रश्न

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o६:२१:oo

संसद्का दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि साना दलहरूको ‘बार्गेनिङ पावर’ घटेको छ । साना दलका नेताले राजनीतिक जिम्मेवारी पाउने सम्भावना पनि न्यून छ । तर, पार्टीभित्रै पदका निम्ति ठुलो लडाइँ देखिएको छ । साना पार्टीहरूमा विवादले ठुलो रूप लिइरहेको छ । 

आफूले चाहेअनुसार नभएपछि पार्टी र नेतृत्वमाथि नेताहरूले आक्रोश पोख्ने गरेका छन् । पदका लागि आकांक्षा राख्ने र पराजित वा मनोनयनमा नपरेपछि विरोध गर्ने क्रम साना दलमा बढेको छ । आन्तरिक बैठकमा उठाउनुपर्ने विषयलाई सार्वजनिक बहस बनाएकोमा साना दलका नेतृत्व रुष्ट छन् । तर, सचेत गराउँदासमेत पार्टी छाड्ने हो कि भन्ने डर साना दलका प्रमुख नेतामा देखिन्छ, जसकारण पद नपाएकै झोकमा केन्द्रीय नेताले जथाभावी बोल्दासमेत नेतृत्व मौन बस्न विवश छन् । साना पार्टीमा गुट–उपगुट धेरै देखिँदा व्यवस्थापनमै समस्या पर्ने गरेको नेताहरूको गुनासो छ । 

संसद्मा १० सिट रहेको एकीकृत समाजवादीमा महाधिवेशनपछि विवाद बढ्दो छ । मनोनीत केन्द्रीय सदस्यबाट पदाधिकारीमा निर्वाचन गराएको, हार्नेलाई जिताउने र जित्नेलाई हराउने गरी निर्वाचनमा चिट बाँडिएको आरोप असन्तुष्ट नेताहरूले लगाएका छन् । निर्वाचनमा आचारसंहिताविपरीतका गतिविधि भएको विषय केन्द्रीय कमिटी बैठकमै उठेपछि अध्यक्ष माधवकुमार नेपालले छानबिनको प्रतिबद्धतासमेत जनाएका छन् । 

अध्यक्ष नेपालकै सचिवालयबाट चिट बाँडेको आरोप पराजित नेताहरूले लगाएका छन् । नेपाललाई प्रश्नको जवाफ दिँदैमा हैरान छ । ‘मेरो सचिवालयबाट चिट बाँड्ने काम भएको छैन । मैले त्यस्ता १५ वटा चिट पाएको छु । क–कसलाई के मन लागेको छ, त्यो सबै गरेका छन् । निर्वाचन आयोगले ‘टाइट’ पनि गरेको थियो । फेला परेका सबै चिट खोसियो । त्यो हेरेर साध्य पनि हुँदैन । चिटमा आएको नामले मात्रै जितेको भए, चिटअनुसार जितेछन् भन्ने हुन्थ्यो । चिटमा नामै नभएकाले पनि जितेको छ, नाम भएकाले पनि हारेको छ,’ नेपाल भन्छन् ।

निर्वाचित उपाध्यक्ष गंगालाल तुलाधर, उपमहासचिव रामकुमार भट्टराईलगायत नौजनाले मतदान गर्नुपर्ने उम्मेदवारको लिस्ट बाँडेर निर्वाचनमा आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै केन्द्रीय सदस्यहरूले नै उजुरी गरेका छन् । रामकुमारी झाँक्री, उर्वादत्त पन्त, श्रीप्रसाद साह, देवसिंह मेहता, आलोक रायमाझी, भास्कर काफ्ले, शंकर भण्डारीलगायत नेताहरू असन्तुष्ट छन् । असन्तुष्टि जनाउँदै सांसद प्रेम आले महाधिवेशनमै सहभागी भएनन् । उनी नयाँ केन्द्रीय कमिटीमा परेका छैनन् । अर्का सांसद किसान श्रेष्ठ पनि असन्तुष्ट छन् । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी दर्ता गर्दा झाँक्रीले नेपालको हात समाएर निर्वाचन आयोग लगेकी थिइन् । अहिले झाँक्री नै सबैभन्दा बढी असन्तुष्ट छिन् ।

पदाधिकारी मनोनीतपछि जसपा नेपालमा अन्तर्कलह
जसपा नेपालले विवादकै कारण महाधिवेशन सम्पन्न भएको दुई महिनापछि मात्रै पदाधिकारी चयन गर्न सक्यो । जेठ अन्तिम साता महाधिवेशन भए पनि विवादकै कारण अध्यक्ष उपेन्द्र यादवले १० भदौमा मात्रै पदाधिकारी टुंग्याउन सके । उनले रकम चेम्जोङलाई सहअध्यक्ष बनाए । राजकिशोर यादव, मृगेन्द्रकुमारसिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर र विद्युत बज्राचार्यलाई उपाध्यक्ष बनाए । महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा, उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव चयन भए । प्रवक्ताको जिम्मेवारी मनीष सुमनले पाए । सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा र कमरुद्दिन तथा कोषाध्यक्षको जिम्मेवारी सुरिताकुमारी साहलाई दिए । तैपनि विवाद साम्य भएको छैन ।

पार्टी विभाजन गर्न खोज्ने र अन्य पार्टीमा प्रवेशको छलफल गरिरहेकालाई पदाधिकारी बनाएको भन्दै जसपा नेपालमा विरोध चर्किएको छ । नेता पूर्ण बस्नेतले गद्दारी गर्नेलाई पदाधिकारी चयन गरिएको भन्दै सार्वजनिक रूपमै आपत्ति जनाएका छन् । ‘जसपा नेपालमा जति ठुलो गद्दारी, त्यति ठुलो पद,’ पदाधिकारी चयनको विषयमा आपत्ति जनाउँदै बस्नेतले भनेका छन् । 

नेताहरूले जसपा विभाजनको मुख्य योजनाकार चेम्जोङ रहेको आरोप लगाएका छन् । यद्यपि, चेम्जोङले आरोपको प्रतिवाद गर्दै आएका छन् । पद नपाउँदा विवाद निकाल्ने काम भएको भन्दै कुण्ठाले राजनीति नचल्ने उनको भनाइ छ । ‘आफूलाई केन्द्रमा राख्न खोज्ने व्यक्तिहरूले अहिले हामीमाथि निराधार आरोप लगाएका छन् । त्यस्ता आरोप समयक्रमसँगै खण्डित हुनेछन्,’ उनले भने । उपमहासचिव रेखा यादव पार्टीमा विवाद नरहेको दाबी गर्छिन् । ‘केही नेताले पद नपाएपछि रोइलो गरेको हुन सक्छ । हाम्रो पार्टी एकताबद्ध भएर संगठन निर्माण र विस्तार अभियानमा होमिएको छ,’ उनले भनिन् । अशोक राईले सात सांसदसहित जसपा विभाजन गराएपछि जसपा नेपाल पाँच सिटमा खुम्चिएको छ ।

राप्रपामा अध्यक्षमाथि नै गुटबन्दी गरेको आरोप
संसद्मा १४ सिट रहेको राप्रपा पनि विवादको भुमरीमा फसेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीभित्र गुटबन्दी गरेको आरोप लागेको छ । निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द लोहनी र लिङ्देनबिच कोशी प्रदेशको सभामुखबारे विवाद उत्कर्षमा पुग्दा छुट्टाछुट्टै लिखित निर्देशन दिने स्थिति बनेको थियो । अघिल्लोपटक सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत राप्रपामा विवाद चुलिएको थियो ।

पार्टी कार्यालयमै नेतामाथि कुटपिट र कारबाहीको विषयमा समेत राप्रपामा विवाद चुलिएको थियो । महामन्त्री कुन्ती शाही र धवलशमशेर राणासहितका नेताहरूले लिङ्देनको विरोध गर्दै आएका छन् । विनाआधार तीन नेतालाई निलम्बन गरेको भन्दै महामन्त्री शाहीले बैठकमै असन्तुष्टि जनताएपछि विवाद छताछुल्ल भएको थियो ।

पार्टी कार्यालयमा भएको कार्यसम्पादन समितिको बैठककै बिचमा नेता ठाकुरमोहन श्रेष्ठमाथि एक समूहले आक्रमण गरेको थियो । घटनापछि श्रेष्ठले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री प्रेम बलायरसहित रिद्धिजंगबहादुर राणा, हिक्मत कार्की र नीराजन बमविरुद्ध जाहेरी दिएका थिए । लिङ्देनले बलायरसहित राणा र बमलाई निलम्बनसमेत गरे । लिङ्देनले विषयवस्तुको गाम्भीर्यता नबुझी कार्यसम्पादन समितिमा समेत पर्याप्त छलफल नगरी अनुशासन समितिको हवाला दिएर कारबाही गरेको असन्तुष्ट पक्षले आरोप लगाएको थियो । केही नेताले विवाद मिलाएर एकताको सन्देश दिन भूमिका खेलेका थिए । तर, राप्रपामा विवाद भुसको आगोझैँ फैलिएको एक नेताले बताए । 

‘अध्यक्षले गुटबन्दी गर्ने कुरा हुनै सक्दैन । ती सबै हावादारी कुरा हुन् । गुटबन्दीको विवाद राप्रपामा छैन । हामी राजनीतिक मिसनमा हिँडिरहेका छौँ । राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना, प्रदेश संरचना खारेजी गर्नुपर्ने छ । त्यसकारण हामी झिनामसिना समस्या देखिए पनि तत्काल समाधान गर्दै एकतावद्ध भएर अगाडि बढछौँ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने ।

महन्थको कार्यशैलीबाट असन्तुष्ट राजेन्द्र महतोले लोसपा छाडे 
प्रतिनिधिसभामा चार सिट रहेको लोसपामा विवाद उत्कर्षमा पुगेपछि वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेर छुट्टै अभियान चलाएका छन् । पार्टीको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट बनेका महतोले केन्द्रीय कार्यसमिति बैठकसमेत बहिष्कार गरेका थिए । अध्यक्ष महन्थ ठाकुरसँग बोलचालसमेत बन्द भएपछि महतो ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेर अघि बढेका छन् । जसपा नेपाल विभाजन भएर लोसपा गठन गर्दा महतोले ठाकुरलाई साथ दिएका थिए ।

श्रीमान्–श्रीमतीबिचको विवादले नाउपा थिलथिलो
नयाँ दल नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादले थिलथिलो भएको छ । श्रीमान्–श्रीमती रहेका रेशम चौधरी र रञ्जिता श्रेष्ठ नै दुई कित्तामा उभिएका छन् । नागरिक उन्मुक्ति पार्टीले संस्थापक संसदीय दलको नेता रञ्जितालाई हटाएर गंगाराम चौधरीलाई नयाँ नेता बनाएको छ । माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएपछि चौधरी र श्रेष्ठबिच सुरु भएको विवाद कांग्रेस–एमाले गठबन्धनसँगै मत्थर देखिएको नेताहरू बताउँछन् । यसअघि चौधरी कांग्रेस कित्तामा र श्रेष्ठ एमाले कित्तामा उभिँदै आएका थिए ।

वैद्य नेतृत्वको पार्टीमा युवाहरूको विद्रोह, बास्तोलाले छाडे पार्टी
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पनि विवादमुक्त हुन सकेको छैन । निर्वाचन बहिस्कार गर्दै आएको पार्टी अब वैद्यले चलाउन नसक्ने भन्दै हरिकृष्ण गजुरेल, शेरबहादुर बोगटीलगायतले विद्रोह गरेका छन् । उनीहरूले युवाहरूको छुट्टै पार्टी गठन गर्न राष्ट्रिय भेला नै आयोजना गरेका छन् । प्रज्ञा भवनमा आयोजित भेलाबाट नयाँ रणनीतिसहित अगाडि बढ्ने उनीहरूले बताएका छन् । नेपालमा क्रान्ति पूरा गर्ने मुख्य उद्देश्यले विद्रोह गरेको गजुरेलले बताए । स्वाधीन र समाजवादी गणतन्त्र स्थापना गर्ने उद्देश्य रहेको उनले बताए । अन्तिम लक्ष्य साम्यवाद भएको उनको भनाइ छ । धर्मेन्द्र बास्तोलाले पनि पार्टी छाडेका छन् । क्रान्तिकारी माओवादीले आगामी मंसिरमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरेको छ ।