\'स्कर्टिङ\'मै यसरी उडाइयो आचारसंहिताको धज्जी [तस्बिरहरू]

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा दल तथा उम्मेदवारहरूसहितले पालना गर्नुपर्ने आचारसंहिता पालना भए–नभएको निगरानी गर्नुपर्ने सुरक्षाकर्मीकै स्कर्टिङमा आचारसंहिताको धज्जी उडाइएको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टीसहितको गठबन्धनअन्तर्गत नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले सोमबार बिहान गोलबजारमा आचारसंहिताविपरीत दर्जनौँ चारपांग्रे सवारीसाधन, मोटरसाइकल, ट्याक्टर र जिपमा डिजेबाजासहित सयौँ कार्यकर्ताको सहभागितामा मत माग्दै घरदैलो गरेका छन्। 

‘सहर–सहरमा ओली, गाउँ–गाउँमा ओली, मंसिर ४ ओली सरकार’ को डिजे गीतमा करिब एक दर्जनभन्दा बढी स्कारपियो, जिप, मोटरसाइकलसहितको जुलुसलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले स्कर्टिङ गरेका थिए। 

जिल्ला आचारसंहिता अनुगमन अधिकृत ध्यानकुमार राईले प्रतिस्पर्धामा रहेका दलका उम्मेदवारबीच हुन सक्ने सम्भावित झगडा रोक्न सुरक्षाकर्मी परिचालन भएको हुन सक्ने बताए।

सुरक्षाकर्मीले आचारसंहिता पालना भए–नभएको पनि निगरानी गर्नुपर्ने होइन र भन्ने प्रश्नको जवाफमा राईले त्यस विषयमा प्रमुख निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई जाहेर गरिने बताए।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि जारी आचारसंहिताको परिच्छेद ४, दफा १४ (क) मा निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे, वा तीनपांग्रे वा चारपांग्रे यान्त्रिक शक्तिमा चल्ने हलुका सवारीसाधन चलाउन पाउने र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने उल्लेख छ । विदेशी नम्बर प्लेटको सवारीसाधनलाई अनुमति नदिइने उल्लेख छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा पाँचदलीय सत्तागठबन्धनबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वशान्तिमन्त्री विश्वनाथ साह र एमाले–जसपा गठबन्धनबाट एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वकानुनमन्त्री श्रेष्ठ उम्मेदवार छन्। 

०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीका अशेश्वर यादवलाई दुई हजार ५२ मतले पछि पार्दै २३ हजार दुई सय ७२ मतसहित निर्वाचित भएका श्रेष्ठ यसपल्ट त निकटतम प्रतिस्पर्धी दलकै साथ रहेकाले फेरि दोहोरिने दाउमा छन्।  

सुझावित समाचार