४ मंसिरमा ओली दण्डित हुँदै छन् : ओनसरी घर्ती

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनले एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गर्ने बताएकी छिन् । 

ओलीले आफ्नो दलको बहुमत आउने दाबी गर्दै हिँडेको सुनिएको भन्दै घर्तीले संविधान र व्यवस्था मास्न उद्यत् ओलीलाई मत दिए देश र जनताले दुःख पाउने उल्लेख गरिन् । 

०७४ को निर्वाचनमा पाँच वर्षका लागि जनताले जनादेश दिए पनि सरकार चलाउन असफल भएर दुईपटकसम्म असंवैधानिक ढंगले प्रतिनिधिसभा भंग गरेका ओलीले फेरि जनतामा गएर बहुमत माग्नु अनैतिक भएको आरोप उनको थियो । 

‘केपी ओलीले बहुमतको सरकार चलाउन नसकेर पाँच वर्षका लागि जनताले दिएको जनादेशलाई लत्याउँदै दुईपटकसम्म संसद् विघटन गर्नुभयो,’ काठमाडौं क्षेत्र नम्बर–२ अन्तर्गत शंकरापुर नगरपालिकाको नाङ्लेभारेमा शुक्रबार आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले भनिन्, ‘मैले सुनेकी छु केपी ओलीले आफ्नो दलको बहुमत आउँछ भन्दै हिंड्नुभएको छ रे । जनताले पाँच वर्षका लागि दिएको म्यान्डेट तोडेर पार्टी फुटाउनुभयो, संसद् विघटन गर्नुभयो । अब जनताले उहाँलाई अभिमत होइन, सजाय दिनुपर्छ । ओलीजी मंसिर ४ मा जनताले दिने सजाय भोग्न तयार भएर बसे हुन्छ ।’ 

उनले ओलीको प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई मत दिन मतदातालाई अपिल गरिन् । ओलीको प्रतिगमनले जिते जनताले दुःख पाउँछ र देशमा अव्यवस्था पैदा हुने आरोप उनले लगाइन् । ओलीले संविधान र लोकतन्त्र तथा जनमतमाथि प्रहार गरेकाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धि दिलाउन बाध्य भएर लोकतान्त्रिक–वाम गठबन्धन निर्माण गरेको उनको तर्क थियो । 

घर्तीले मुलुकले स्थिर सरकारसहित शान्ति र विकास चाहेको र त्यो आफूहरूको गठबन्धनले मात्र दिन सक्ने दाबी गरिन् । ‘देशले आज समृद्धि, शान्ति र स्थिर सरकार मागेको छ । देशले आज संविधान र  व्यवस्थाको रक्षा मागेको छ,’ उनले भनिन्, ‘नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको यो व्यवस्था हामी जोगाउँछौँ ।’ 

गठबन्धनले शिक्षा, स्वास्थ्य, सडकलगायतका विकासका एजेन्डा लिएर मत माग्न आएको उनकाे भनाइ छ । काठमाडौं २ मा आफूहरूको जित सुनिश्चित भइसकेको दाबी गर्दै उनले जितको औपचारिकताका लागि मात्र ४ मंसिर कुरेर बसेको बताइन् । 

फरक प्रसंगमा उनले आफू रोल्पामा जन्मिएको भन्दै जनताको सेवा जहाँ गएर पनि गर्न सकिने र गर्न पाउनुपर्ने उल्लेख गरिन् । ‘म रोल्पामा जन्मिएकी हुँ । तपाईंहरूको सेवा गर्ने चाहना लिएर काठमाडौं २ मा आएकी छु । को मानिस कहाँ जन्मियो भन्ने कुरा मुख्य होइन, जनताको सेवा जसले पनि गर्न पाउँछ । जहाँ जन्मिएको मानिसले पनि जनताको सेवा गर्न पाउँछ,’ उनले भनिन् । 

सभामुख हुँदा नैतिकता बचाएर सफलतापूर्वक काम गरेको भन्दै उनले आफूलाई मौका दिए काठमाडौं २ को जिम्मा लिन तयार रहेको बताइन् ।

सुझावित समाचार