बुक बिल्डिङ प्रक्रिया अघि बढेन

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

वास्तविक क्षेत्रका कम्पनीलाई लक्षित गरी सेयर निष्कासनमा ल्याएको ‘बुक बिल्डिङ’ प्रणाली कार्यान्वयनका विषयमा धितोपत्र बोर्ड नै अन्योलमा देखिएको छ । कम्पनीहरू बुक बिल्डिङमार्फत आइपिओमा जान तयार भइसक्दा पनि बोर्डले प्रक्रिया अघि बढाउन सकेको छैन । 

धितोपत्र बोर्डको पाइपलाइनमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ जुट मिल रहेका छन् । यी कम्पनीले बोर्डमा गत असारमा बुक बिल्डिङ विधिमार्फत आइपिओ जारी गर्न आवेदन दिएका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कर्मचारीे अभाव, ब्रोकर लाइसेन्सलगायत कार्यमा लाग्दा केही ढिलाइ भएको बताए । 

बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको अवस्थामा सर्वत्र चर्चामा रहेको सर्वोत्तम सिमेन्टको भित्री कारोबारमा बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं साउद संलग्न रहेको रहस्य बाहिर आएसँगै प्रणाली नै बदनाम हुन पुगेको थियो । नियामक निकायको नेतृत्व गरेका व्यक्ति नै पदीय मर्यादाविपरीत भित्री कारोबारमा संलग्न भएपछि सर्वसाधारणमा आशंका उत्पन्न भएको छ ।

नियामक निकायप्रति सर्वसाधारणको विश्वास घट्दै गयो । त्यसैले बुक बिल्डिङबारे निकै अध्ययन गरेर मात्र अघि बढ्नुपर्ने र विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बोर्डका एक अधिकारीले बताए । उनले भने,‘बुक बिल्डिङ प्रक्रिया भनेको हतार गरेर आउने कुरा पनि होइन, प्रविधिको मूल्य निर्धारण गर्ने प्रविधिको विकासलगायतको कामसँगै विगतका गल्ती दोहोर्‍याउन नदिनका लागि भए पनि बृहत् अध्ययन र प्रविधिको विकासबाट आउन खोज्दा त्यसमा समय लागेको मात्र हो ।’ 

बुक बिल्डिङलाई विगतमा झैँ प्रश्न नउठ्ने गरी कार्यान्वयनमा ल्याउने तयारीमा छौँ । अर्कोतर्फ, कर्मचारीको अभाव र ब्रोकर लाइसेन्सलगायतमा केन्द्रित हुँदा अलिकति समय लागेको छ, तर अब अघि बढाउँछौँ ।
 

रमेशकुमार हमाल,अध्यक्ष नपाल धितोपत्र बोर्ड 

सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंकका सिइओ पारशमणि ढकालले आवेदन दिएपछि स्वीकृति दिने जिम्मा बोर्डको भएकाले त्यसैको पर्खाइमा रहेको बताए । उनले भने’, ‘हामी स्वीकृतिको पर्खाइमा रहेका छौँ, तर, किन र के कारणले ढिलाइ भइरहेको थाहा छैन । बुक बिल्डिङ प्रक्रिया धेरै समय ढिलो गर्नुहुँदैन, यसमा बोर्डले तदारुकता देखाउन सक्नुपर्छ ।’

लगानीकर्ताहरूले पनि बुक बिल्डिङ प्रक्रियालाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनका लागि धितोपत्र बोर्डलाई दबाब दिइरहेका छन् । नेपाल इन्भेस्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बुक बिल्डिङ पुँजी बजारका लागि मेरुदण्ड भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउनुपर्ने बताए । बोर्डले ०७३ सालमा बुक बिल्डिङ निर्देशिका जारी गरेपछि पाँच वर्षसम्म अपेक्षा गरेजति कम्पनी आएका छैनन् । समग्र पुँजी बजारको विकासका लागि अत्यावश्यक मानिएको यो प्रणाली लागू गरे पनि आइपिओ निष्कासन गर्न अघि सरेका कम्पनीहरू नै एकपछि अर्को विवादित बन्दै गएको अवस्था र बोर्ड आफैँले अघि नबढाउँदा आमलगानीकर्ताले प्रश्न उठाउन थालेका छन् ।

सर्वोत्तम सिमेन्टको विवाद साम्य भएको लामो समयपछि पनि कम्पनीलाई आइपिओमा जान नियामक निकायहरूले नै तदारुकता नदेखाएको बजार विश्लेषकहरूसमेत बताउँछन् ।त्यस्तै, सर्वोत्तमको घटनाले केही लगानीकर्ताहरू अझै आउन डराइरहेका हुँदा अधिकांश योग्य कम्पनीहरू ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । त्यसैले पनि कुनै एउटा कम्पनीलाई कार्यान्वयनमा ल्याएर बाटो खोलिदिनुपर्ने धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी बताउँछन् । 

 के हो बुक बिल्डिङ विधि ?
योग्य संस्थागत लगानीकर्ताको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण विधि बुक बिल्डिङ विधि हो । बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो । जसमा मूल्य बढाबढ गरिन्छ । यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये केही कित्ताको सीमित लिलामी गरिन्छ । यस्तो लिलामबाट निर्धारित प्रिमियमका आधारमा बाँकी धितोपत्रको सार्वजनिक निष्कासन गरिन्छ ।यस विधिमा कम्पनीले नै प्राइस रेन्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गरिन्छ । मूल्य निर्धारण गर्ने विधिका रूपमा समेत लिइने बुक बिल्डिङ विधिमा स्वतन्त्र रूपमा रहेको बजारले नै कम्पनीको मूल्य निर्धारण गर्दछ ।

सुझावित समाचार