प्रधानमन्त्री एवम् कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपालले जारी गरेको चुच्चे नक्सामा एमाले अध्यक्ष केपी ओलीले झुट बोलेको टिप्पणी गरेका छन्।
लोकतान्त्रिक–वाम गठबन्धको चुनावी सभालाई दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीले झुट बोलेको टिप्पणी गरेका हुन्।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल सबै राजनीतिक दलहरू मिलेर नयाँ नक्सा जारी गरेका हौँ,’ उनले भने, ‘सबै दल मिलेर पास गरेको नक्सा ओलीले मात्रै कसरी ल्याए भन्ने । यो सरासर झुट हो।’
प्रधानमन्त्री देउवाले भने, ‘दार्चुलामा आएर भूमि फिर्ता ल्याउँछौँ भनेर मात्रै हुँदैन । यसका लागि भारतमा गएर संवाद गर्नुपर्छ।’
अहिलेको भूमि भारतसँग लडेर ल्याउन नसकिने उल्लेख गर्दै उनले भने, ‘भूमि त्यहीँ छ, संवाद गरेर पहल गर्नुपर्छ। भूमि दार्चुलामा भएको सबैलाई थाहा भएको विषय बताएर सबै मिलेर राष्ट्रियता बलियो बनाउन लाग्नुपर्छ,’ उनले भने।
अहिलेको गठबन्धनप्रति शंका नगर्न आग्रह गर्दै उनले भने, ‘यो नेपालको हितमा बनेको हो। अहिले मात्र नभई भविष्यसम्म यो कायम रहन्छ।’