जब आँखाको पट्टी खुल्यो, उनी छमछमी नाच्न थालिन्

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

सोमबार बिहान अरूको समय सामान्य रूपमा बित्दै थियो । तर, त्यो समय ७९ वर्षकी टाउके कुमालका लागि भने जीवनकै सबैभन्दा खुसीको क्षण बन्यो । त्यो रमाइलो क्षणमा उनी आफैँ गीत गाएर छमछमी नाच्दै थिइन् । उनी यतिविधि किन खुसी भइन् त ? कारण थियो, तीन महिनाअघि बन्द भएका उनका दुवै आँखा सोमबार देख्ने भएका थिए । उनले फेरि संसार देख्न थालेकी थिइन् ।

गोरखा सिरानचोक– ४ चोरकाटेकी उनले दुवै आँखा बन्द हुने गरी भएको मोतियाबिन्दु हटाउन आइतबार अप्रेसन गराएकी थिइन् । गोरखा लायन्स आँखा सेवा केन्द्रमा गरिएको उनको अप्रेसन सफल भयो । डाक्टरले बिस्तारै आँखाको पट्टी खोलेपछि उनले संसार देख्न थालिन् ।

उनी भदौ महिनादेखि आँखा नदेख्ने भएकी हुन् । मोतियाबिन्दुका कारण विगत तीन महिनादेखि दुवै आँखा नदेख्दा उनलाई संसार मात्रै होइन, जिन्दगी नै अन्धकार भएको थियो । गाउँघरमा हिँडडुल गर्न, परिवारलाई घरको काम सघाउन र आफूलाई दिसापिसाब गर्नसमेत निकै समस्या भोग्नुपरेको थियो । अहिले दुवै आँखा देख्ने भएपछि अत्यन्तै खुसी लागेर नाचेको उनी बताउँछिन् । जब मंगलबार बिहान आँखाको पट्टी खुल्यो, उनी खुसी भएर सबैका सामुन्ने गीत गाएर छमछमी नाच्न थालिन् ।

उमेरले बुढ्यौली लागे पनि उनी घरमा बाख्रालाई घाँसपात हाल्ने र कुखुरालाई दाना दिने काममा व्यस्त हुन्छिन् । औषधि र चस्मा लगाएर मात्र आँखा निको नहुने डाक्टरले बताएपछि दुवै आँखाको अप्रेसन गरिएको उनका जेठा छोरा नानीबाबु कुमालले बताए ।

त्यस्तै, गोरखा नगरपालिका– १२ स्थित दश किलोका ७९ वर्षीय पातली कुमालको अनुहारमा पनि मंगलबार खुसी छाएको थियो । उनी विगत तीन वर्षदेखि दुवै आँखा नदेख्ने भएपछि अन्धकारमा बस्न बाध्य थिइन् । आँखा नदेख्दा कतै हिँडडुल गर्न कठिन भइरहेको थियो । तर, अब दुवै आँखा देख्ने भएपछि धेरै सहज भएको उनको भनाइ छ । उमेरले बुढौली लागे पनि शरीरले थेगेसम्मको काम गर्दै आइरहेकी छिन् उनी ।

उनीहरूजस्तै गोरखा लायन्स आँखा सेवा केन्द्रले हालसम्म आठ हजार नौ सयजनाको मोतियाबिन्दुको अप्रेसन गरिसकेको छ । यो संस्था सन् २००४ मा स्थापना भएको थियो ।

कात्तिक १९ र २० गते भएको शिविरमा ४३ जनाले आँखाको अप्रेसन गरेका थिए । उनीहरूमध्ये दुईजनाको दुवै आँखाको अप्रेसन गरिएको केन्द्रका अध्यक्ष योङकुमार श्रेष्ठले बताए । शिविरमा ४५ देखि ८७ वर्ष उमेर समूहका २४ जना पुरुष र १८ जना महिलाको  मोतियाबिन्दु अप्रेसन गरिएको उनको भनाइ छ ।

यसअघि केन्द्रले नारेश्वर, सौरपानी, कोखेआहाले, आरुघाट, आरुपोखरीमा शिविर सञ्चालन गरेको केन्द्रका नेत्र सहायक खुमप्रसाद पराजुलीले बताए । सो शिविरमा मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने देखिएकालाई सदरमुकाममा बोलाएर शल्यक्रिया गरिएको उनले बताए ।

हिमालयन आँखा अस्पताल पोखराबाट आएका नेत्र रोग विशेषज्ञ इन्द्रमान महर्जनसहितको चारजनाको टोलीले आँखाका बिरामीहरूको शल्यक्रिया गरेका थिए ।

सुझावित समाचार