लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डेद्वारा लोसपा परित्याग

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारकी पूर्वउद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले लोसपा परित्याग गरेकी छिन् । सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश समिति सचिवालय सदस्यसमेत रहेकी पूर्वमन्त्री पाण्डेले पार्टी छाडेको जानकारी दिइन् । 

०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हुँदै हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय उनले राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको अवस्थामा पार्टीमा व्यक्तिवाद हाबी हुँदा पार्टी परित्याग गर्नुपरेको बताइन् ।

लोसपा परित्याग गरी उनीसहित उनका समर्थकले स्वतन्त्र रूपमा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरासहित प्रदेश (क) मा जसपाका महेन्द्र यादव र प्रदेश (ख) मा एमालेका तुल्सी चौधरीलाई समर्थन गर्ने भएका छन् ।

पाण्डेलाई सोमबार राप्रपाका वरिष्ठ नेता पूर्वमन्त्री तथा रुपन्देही ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले माला र खादा लगाई स्वागत गरेका थिए ।

पाण्डेले प्रदेश सरकारमा रहेर शिक्षा तथा सामाजिक विकास मन्त्रालयसमेत सम्हालेकी थिइन् । जसपा महन्त ठाकुर पक्षबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सदस्य बनेकी पाण्डे वैशाख ६ गते पहिलोपटक र वैशाख १९ गते दोस्रोपटक मन्त्रीमा नियुक्त भएकी थिइन् । आगामी दिनमा आफू राष्ट्र र राष्ट्रियताको पक्षमा रहने उनको भनाइ छ । 
 

सुझावित समाचार