कलाकारलाई कस्ता प्रश्नले दिक्क बनाउँछ ?

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

कलाकारहरू सार्वजनिक व्यक्तित्व हुन् । त्यसैले उनीहरूका स–साना गतिविधि पनि समाचार बनिरहेका हुन्छन् । समाचारमा आएपछि टीकाटिप्पणी हुने नै भयो । झन्, सामाजिक सञ्जालको अत्यधिक प्रयोग हुने अहिलेको जमानामा उनीहरूका निजी विषय पनि बाहिर आइरहेका हुन्छन् र मानिसले त्यसबारे विभिन्न टीकाटिप्पणी र प्रश्न गरिरहेका हुन्छन् । कस्ता टिप्पणी र प्रश्नले कलाकारलाई रमाइलो लाग्छ, अनि कस्ता टिप्पणी र प्रश्नले वाक्कदिक्क बनाउँछ ? 

रामबाबु गुरुङ
मलाई पत्रकारले सोध्ने सामान्य प्रश्नचाहिँ मन पर्दैन । तपाईंको सिनेमा किन हेर्ने ? तपाईंको सिनेमामा के छ ? यस्ता प्रश्न फेस गरिरहनुपर्छ । यो प्रश्न गलत होइन, तर हामीलाई अलि भारी हुन्छन्, यस्ता प्रश्न । अर्को कुरा, विवादित कुराहरू नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । सेलेब्रिटीहरूको पनि व्यक्तिगत जीवन हुन्छ । मैले आफैँ यस्ता प्रश्नको सामना गर्नुपरेको छैन । तर, कतिपय साथीलाई पत्रकारले ‘कोसँग डेटिङ जान मन छ ?’ भनेर सोधेको देखेको छु । यस्ता प्रश्न नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । 

अदिति बुढाथोकी 
कसैले पनि पर्सनल कुरा सोध्दा रिस उठ्छ । कतिपय पत्रकारले विवाद झिक्नकै लागि प्रश्न सोध्नुहुन्छ । सायद, युट्युबमा भ्युज बढ्छ भनेर त्यस्तो गर्नुभएको होला । तर, यस्ता प्रश्नको कुनै भ्यालु हुन्छ भन्ने मलाई लाग्दैन । कतिपयले सानो कुरालाई पनि बढाइचढाइ गर्नुहुन्छ । कम्तीमा तथ्यमा आधारित रहेर प्रश्न सोधे हुन्थ्यो भन्ने लाग्छ । 

प्रशान्त ताम्राकार
पत्रकारले सकेसम्म निजी कुराहरू नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ । जो व्यक्ति जुन फिल्डमा छ, त्यही फिल्डको प्रश्न गरिदिए हुन्थ्यो जस्तो लाग्छ, मलाई । मलाई अरू प्रश्न गर्दा रिस उठ्ने भन्ने त होइन, तर अनावश्यक प्रश्न जस्तो लाग्छ । किनभने, आफू जुन फिल्डमा काम गर्छाैं, त्यही फिल्डको विज्ञता हुन्छ । फेसन र कलाकारितासँग सम्बन्धित प्रश्न गर्दा आमपाठक, श्रोता, दर्शकलाई थाहा हुन्छ । 

सौगात मल्ल 
मलाई पत्रकारले सोध्ने प्रायः प्रश्न ठिकै लाग्छन् । तर, कतिपय पत्रकार साथीहरूले एउटै प्रश्न पटक–पटक सोध्नुहुन्छ । एउटै प्रश्न धेरै ठाउँमा सोध्दा त्यही कुरा कति बोल्नु भन्ने लाग्छ । निजी जीवनका विषयवस्तु बढी नकोट्याइदिए हुन्थ्यो । 

पुष्प खड्का 
सबै पत्रकारलाई एउटै क्याटेगोरीमा राख्दिनँ । अधिकांश पत्रकारले मलाई सोध्ने प्रश्न लभ अफेयरको हो । यो विषयमा नसोधे हुन्थ्यो भन्ने लाग्छ । मलाई मेरै क्षेत्र र करिअरका विषय प्रश्न सोधे हुन्थ्यो भन्ने लाग्छ । 

सुझावित समाचार