क्यान महासंघका अध्यक्ष कुँवर ‘असोसियो’को उपाध्यक्षमा निर्वाचित

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवर एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) उपाध्यक्षमा निर्वाचित भएका छन् । कुँवर सन् ०२३/२४ कार्यकालका निम्ति उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

सिंगापुरमा सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुँवर सो पदमा निर्वाचित भएको क्यान महासंघले जनाएको छ । यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सहउपाध्यक्षको जिम्मेवारीमा थिए । कुँवर सन् २०१९ मा क्यान महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । 

कुँवर उपाध्यक्षमा निर्वाचित भएकोमा क्यान महासंघले सफल कार्यकालको कामना गरेको छ । साथै, असोसियोमा उनको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने महासंघले विश्वास व्यक्त गरेको छ ।

 इन्फर्मेसन सर्भिस इन्डस्ट्री एसोसिएसन ताइवानका अध्यक्ष ब्रायन सेनको अध्यक्षतामा निर्वाचित नौसदस्यीय समितिमा नेपाललगायत जापान, थाइल्यान्ड, दक्षिण कोरिया, हङकङ, भियतनाम, मलेसिया र सिंगापुरका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरू निर्वाचित भएको जनाइएको छ । एसिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनहरू सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो । 

सुझावित समाचार