\'स्यालको सिकार गर्न बाघको तयारी गरेर जानुपर्छ\'

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका छन्। 

बुधबार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै उनले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बताएका हुन्। 

उनले गोरखामा माओवादी पार्टीलाई रेकर्डसहित विजय गराउनुपर्नेमा जोड दिए। उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भूमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गरे।

उनले चुनाव जितिहालिन्छ भनेर ढुक्कसँग नबस्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए। एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्याउन ध्यान दिन उनको आग्रह छ। 

'प्रचण्डले गोरखाबाट माओवादी देश र दुनियाँमा देखिनुपर्ने बताए,' उनले भने, ‘चुनाव बुलेटको माध्यमबाट ब्याटल नै लड्ने हो हामीले। बुढापाकाले भन्छन् नि स्यालको सिकार गर्न बाघको तयारी गरेर जानुपर्छ भनेजस्तै। म विशेष रूपले तपाईंहरूलाई भन्न चाहन्छु, हामीले गोरखामा रेकर्ड बनाउनुछ। गोरखाबाट हामीले रेकर्ड बनाएर माओवादी पार्टीलाई र त्यसको प्रमुख नेतृत्वलाई बलियो हातसहित यस्तो रेकर्डसहित आएको नेता भनेपछि मात्रै केन्द्रमा भूमिका खेल्न सक्ने शक्ति आर्जन हुन्छ। गोरखाबाट संसारमा माओवादी देखियोस्। अरू ठाउँमा कति जित्छौँ तपाईंहरूले धेरै टेन्सन नलिनुस्। त्यो टेन्सन मैले लिएको छु। तपाईंहरू गोरखाबाट संसारलाई माओवादी देखाइदिने यो संकल्प हामी सबैले लिनुपर्यो।’ 

उनले जनताको घर–घरमा गएर मतदाता शिक्षा दिन आग्रह गरे। उनले आफू गोरखामा चुनाव लड्न आउनु गोरखावासीका लागि अवसरसँगै चुनौती भएको बताए। ‘प्रचण्ड आउनु भनेको त अवसर भन्नुभयो धेरैले यहाँ। अवसर मात्रै होइन, चुनौती पनि हो तपाईंहरूलाई। बडो झमेला छ क्या प्रचण्ड आउने भन्या सजिलो चिज कहाँ आएको छ र? माइक्रोस्कोप लगाएर हेरेका छन्। प्रचण्ड कता कता जान्छ ? के के गर्छ ? कहाँ बस्छ ? कहाँ पाइन्छ भनेर खोज्ने भए नि। यो तपाईंहरूको लागि चुनौती भएन त? यसको रक्षा त हामी सबैले मिलेर गर्नुपर्यो नि। सुरक्षा चुनौती पनि हुन सक्छ। नेतृत्वको रक्षा गर्ने चुनौती त तपाईंहरूलाई थपियो।’
 

सुझावित समाचार