साढे तीन करोड लागतमा ढलान गरिएको सडक गुणस्तरहीन

बुधबार, १६ कार्तिक, २०७९
डिजिटल संस्करण

सम्झौताअनुसार थिकनेस नभएको, खराब निर्माण सामग्री प्रयोग भएको आरोप

ललितपुरको बागमती गाउँपालिकाको छपेली हुँदै पालिका केन्द्र जोड्न करिब तीन किमि सडक निर्माण गुणस्तरहीन रहेको पाइएको छ । ठेकेदार कम्पनीले सडक ढलान गर्दा सामान्य मापदण्ड पनि पूरा नगर्दा करोडौँको सडक कमजोर र गुणस्तरहीन बनेको हो । 

तीन करोड ५१ लाख ९० हजार रुपैयाँमा निर्माण भएको उक्त सडक ढलान गर्दा प्रयोग भएको मसलाको घोल गुणस्तरीय र मापदण्डअनुसार नभएको पाइएको छ । पूर्वाधार विकास कार्यालय बागमती प्रदेश ललितपुरले पाँच दिनअघि मात्रै सडकको ढलान सकेको थियो । बागमती गाउँपालिका–३ मा रहेको यो सडक गुणस्तरीय नभएको जिल्ला समन्वय समितिले जनाएको छ ।

तर, सडक निर्माणको जिम्मा पाएको रायमाझी–कान्तिपथ पिएम जेभीले सडक ढलान गर्दा मापदण्ड नपुर्याए पनि पूर्वाधार विकास कार्यालय र गाउँपालिकाले भने अनुगमनसमेत गरेका छैनन् । ‘गाउँपालिका जोड्ने सडक गुणस्तरहीन बनाइएको छ, यो निकै दुःखद हो, यसबारे पूर्वाधार विकास कार्यालयसँग विवरण माग गरेका छौँ,’ जिल्ला समन्वय समितिका उपप्रमुख रामलाल थिङले भने, ‘ढलान गर्दा ग्राभेल र गिटीको प्रयोग गरिएको छ, सिमेन्ट र बालुवाको मात्रा न्यून छ, जसले गर्दा सडक धेरै समय नटिक्ने देखिन्छ ।’ करोडौँको सडक गुणस्तरहीन हुँदासमेत सडक विभागले निर्माण कम्पनीलाई कारबाही नगरेको उनले बताए । सडक निर्माण सम्झौताअनुसार साढे पाँच मिटर चौडाको उक्त सडक आठ इन्च मोटो (थिकनेस) हुनुपर्छ । तर, ६ इन्चभन्दा बढी नबनाएको थिङको भनाइ छ । ढलान गर्दा माटो मिसिएको गिटी र बालुवा प्रयोग गरेको उनको आरोप छ ।  

पूर्वाधार विकास कार्यालय, ललितपुरका प्रमुख पुष्कर पोखरेलले ठेकेदारले गतिलो काम नगरेपछि पत्र पठाएको र पछि प्रत्यक्ष अनुगमनसमेत गरेको दाबी गरे । उनका अनुसार उक्त सडक निर्माणको जिम्मा पाएका ठेकेदार बागमती गाउँपालिका–३ का पूर्ववडाध्यक्ष विष्णु तिमिल्सिना हुन् ।  

ठेकेदार कम्पनीले एक वर्ष लगाएर सडक निर्माण गरेको थियो । बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गुणस्तरबारे ख्याल गर्न ठेकेदारलाई निर्देशन दिए पनि अनुगमन भने नगरेको बताए । उनले पूर्वाधार विकास कार्यालयको कार्यक्रम भएकाले त्यसमा पालिकाको कुनै संलग्नता नरहेको बताए । यो सडक बागमती गाउँपालिका हुँदै इकुडोलर माझखण्डसम्म जोडिन्छ । यसको तीन किमि क्षेत्र ढलान भएको हो । 

अन्जानमा गल्ती भएको हुन सक्छ : तिमिल्सिना
ठेकेदार विष्णु तिमिल्सिनाले भने थिकनेस कम भए सोहीअनुसारको रकम दिन माग गरेका छन् । ‘यो लामो ढलान हो, काम गर्ने मानिसले केही गल्ती गरेको हुन सक्छ । तर, जानी–जानी गुणस्तरीयतामा कमजोरी हुन दिएका छैनौँ,’ उनले भने, ‘त्यो मेरै घर जाने बाटो पनि हो ।’

See More On

सुझावित समाचार