एकपटक स्वामी विवेकानन्द कुनै स्थानमा प्रवचन दिइरहेका थिए । श्रोताहरू मन्त्रमुग्ध भएर प्रवचन सुनिरहेका थिए । श्रोतामध्ये एक प्रसिद्ध चित्रकार पनि थिए । प्रवचन दिँदै गरेका स्वामीजी उनलाई बडो ओजस्वी लागे । उनले आफ्नो झोलाबाट एक डायरी निकाले र त्यसैमा स्वामीजीको रेखाचित्र बनाउन थाले ।
केही समयमा प्रवचन समाप्त भयो । चित्रकारले आफूले कोरेको चित्र स्वामीजीलाई देखाए । देख्दा स्वामीजी बडो अचम्मित भए । किनकि, सो चित्रमा प्रवचन दिँदै गरेका उनको ठिक पछिल्तिर उनका गुरु स्वामी रामकृष्ण परमहंस पनि बडो तेजस्वी मुद्रामा देखिएका थिए । स्वामीजीले चित्रकारसित प्रश्न गरे– मेरो ठिक पछाडि तिमीले जसको चित्र बनाएका छौ, के तिमी उहाँलाई चिन्दछौ ? चित्रकारले दायाँबायाँ शिर हल्लाउँदै भने– अहँ, मैले उहाँलाई चिनेको छैन । तर, प्रवचनभरि मैले उहाँलाई हजुरको ठिक पछाडि चम्किरहेको देखेँ । चित्रकारको यस्तो जवफ सुन्दा स्वामीजी भावुक भए ।
अवरुद्ध कण्ठमा बोले– धन्य छन् तिम्रा आँखा ! तिमीले आज साक्षात् मेरा गुरुदेवको दर्शन गरेछौ । यो अनुहार मेरा परमपूज्य गुरुदेव स्वामी रामकृष्ण परमहंसको हो । जसले हरहमेसा आफ्नो दिव्य रूपमा मेरा हर प्रवचनमा साथ दिनुहुन्छ । वास्तवमा म बोल्दिनँ । गुरुदेव नै बोल्नुहुन्छ । मेरो के तागत कि यहाँहरूलाई यसरी केही सुनाउन सकूँ ! जसरी अगाडि भएर पनि माइक आफैँ बोल्दैन । बोल्न त पछाडि उभिने वक्ताले नै पर्छ । ठिक त्यसैगरी अगाडि हुँदाहुँदै पनि म बोल्दिनँ, पछाडिबाट मेरा गुरु बोल्नुहुन्छ । यही नै हो असली गुरुको अपरम्पार लीला ।