वैदेशिक व्यापारमा देखिएन चाडबाडको प्रभाव

साउन र भदौको तुलनामा असोजमा कम आयात अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य घट्दा आयात घट्यो

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

चाडबाडका कारण सबैभन्दा बढी उपभोग्य सामान आयात हुने असोज महिनामै वस्तुको आयात घटेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ)को तुलनामा कम आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।  दसैँ, तिहार र छठमा खपत बढी हुने भएकाले विगतमा यो समयमा अरू महिनाको तुलनामा बढी आयात हुने गरेको थियो । व्यापारीहरूले समेत यो समयमा उपभोग बढ्ने भएपछि अन्य महिनाको तुलनामा बढी वस्तु मगाउने गरेका थिए । तर, यसपालि सुरुका दुई महिनाको तुलनामै आयात कम देखिएको छ । 

विभागका अनुसार असोजमा एक खर्ब २७ अर्ब रुपैयाँबराबरको सामान आयात भएका छन् । जबकि साउनमा एक खर्ब ३१ अर्ब र भदौमा एक खर्ब ४१ अर्ब रुपैयाँको आयात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा रुस र युक्रेन युद्धका कारण आपूर्ति प्रणाली खलबलिएर भएको महँगीका कारण नेपालमा आयातको आकार बढ्दै गइरहेको थियो । खासगरी खानेतेल र इन्धनका ठूला निर्यातकर्ता मुलुकबीचको द्वन्द्वले विश्वबजारमा नै महँगी चुलिने अवस्था आएको थियो । तर, अहिले ती वस्तुको मूल्य क्रमशः घट्दै गइरहेकाले नेपालमा समेत त्यसको प्रभाव देखिएको हो । 

त्यसो त व्यापारीहरूले भदौमा नै दसैँ–तिहारलक्षित सामान मगाइसकेका थिए । जसले भदौमा आयातको परिमाण तुलनात्मक रूपमा बढेको देखिन्छ । यद्यपि, साउनभन्दा अघिका महिनाहरूमा डेढ खर्बका दरले आयात भइरहेको थियो । जसको तुलनामा यो आर्थिक वर्षमा आयातमा क्रमशः सुधार भइरहेको देखिएको छ । 
गत आर्थिक वर्षकै तथ्यांकलाई आधार लिने हो भने साउन र भदौको तुलनामा असोजमा आयात बढेको देखिन्छ । गत आर्थिक वर्षको साउनमा एक खर्ब ५० अर्ब रुपैयाँ र भदौमा एक खर्ब ६३ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो । तर, असोजमा यस्तो आयात एक खर्ब ६४ अर्ब रुपैयाँ थियो । सरकारले आयात नियन्त्रणलाई निरन्तरता दिइरहेकै कारणले पनि अहिले आयात कम देखिएको हो ।

 महँगी बढ्न सक्छ : विश्व बैंक
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा गिरावट आएको देखिए पनि निकट भविष्यमा फेरि बढ्न सक्ने चेतावनी विश्व बैंकले दिएको छ । अमेरिकी डलरको मूल्य निरन्तर उकालो लाग्दै गएकाले बजारभाउ महँगिने आकलन विश्व बैंकले गरेको हो । विश्व बैंकको कमोडिटी मार्केट्स आउटलुक रिपोर्टअनुसार पछिल्लो समय अधिकांश वस्तुहरूको मूल्यमा गिरावट आइरहेको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेदेखि गत सेप्टेम्बरको अन्तिमसम्ममा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्यमा ६ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । तर, मुद्रा अवमूल्यन हुँदा विकासशील राष्ट्रहरूका लागि भने यो प्रत्युत्पादक बनेको उल्लेख छ । नेपालमा कुल इन्धन आयातमा बाहिरिने रकमको मात्रा बढेको देखिन्छ । साउन र भदौमा प्रत्येक महिना करिब २२ अर्बको आयात भएकोमा असोजमा इन्धन आयात २३ अर्बभन्दा माथि पुगेको छ । 

खानेतेल उद्योगहरूले मगाउने कच्चा तेलको आयातमा समेत वृद्धि भएको छ । साउनमा ११ अर्बभन्दा बढी कच्चा तेल आयात गरेकोमा भदौमा यो घटेको थियो । तेल निर्यातका लागि प्रमुख गन्तव्य मुलुक भारतले भन्सार दर घटाएपछि घाटा व्यहोर्नुपर्ने भन्दै उद्योगीहरूले कच्चा तेल आयातमा कटौती गरेका थिए । तर, असोजमा भने यो बढेको छ । भदौमा ६ अर्ब ४८ करोड कच्चा तेल आयात भएकोमा असोजमा बढेर नौ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । सरकारले महँगा स्मार्ट फोन आयातमा कडाइ गरेकाले असोजमा कम आयात भएको देखिएको छ । भदौमा तीन अर्बभन्दा बढीको मोबाइल आयात भएकोमा असोजमा दुई अर्ब ३५ करोडको मात्रै आयात भएको छ । यो साउनको तुलनामा समेत कम हो । 

विगतमा ठूलो परिमाणमा खाद्यान्न आयात गरिएकोमा यसपालि भारी मात्रामा कटौती भएको छ । साउन र भदौमा मासिक तीन अर्बभन्दा बढी धान, चामल र मकै आयात गरेकोमा असोजमा यस्तो आयात एक अर्ब १० करोड मात्रै भएको छ । अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्यमा आएको गिरावटले खाद्यान्न आयातमार्फत बाहिरिने विदेशी मुद्रामा बचत भएको छ । 

सुनको आयातमा भने कमी आउन सकेको छैन । असोजमा दुई अर्ब १४ करोड रुपैयाँको सुन आयात भएको छ । भदौमा दुई अर्ब १६ करोड रुपैयाँको सुन भित्रिएको थियो । भदौमा पाँच अर्बभन्दा बढी मूल्यमा सवारीसाधन भित्रिएकोमा असोजमा तीन अर्ब ५४ करोडको मात्रै आयात भएको छ । सरकारले सवारीसाधनलगायतका केही वस्तुहरूको आयातमा कडाइ गरेकाले कम भएको देखिएको हो ।

सुझावित समाचार