पोखरी, तलाउ र नदीकिनारमा छठको रौनक [फोटोफिचर]

आइतबार, १३ कार्तिक, २०७९
डिजिटल संस्करण

छठ पूजाको अवसरमा स्थानीय पोखरी, तलाउ, नदीकिनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालु तथा श्रद्धालुको रौनक छाएको छ।

सिराहाको लहानस्थित रघुनाथपुर पोखरी, मटियर्वा पोखरी, बलान, खुट्टीखोलालगायतका ठाउँमा आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। 

सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन आइतबार कात्तिक शुक्ल षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको हो।

माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकारहरू राखेर जलाशयमा शरीर डुबाउँदै अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ।

अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राति जलाशय, नदी, तलाउ किनारमा अर्घ दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर पुनः भोलिपल्ट झिसमिसमै घाटमा पुर्‍याउँछन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन्। कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा समापन भएको मानिन्छ।

कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घसहित गरिने छठ पूजाले निरोगी हुने, निःसन्तान दम्पतीले सन्तान प्राप्ति गर्ने, सन्तान अकाल मृत्युबाट जोगिने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता छ। 

See More On

सुझावित समाचार