नौ दिनमा ४० सभामा पुग्ने गरी ओलीको दौडाहा

आइतबार, १३ कार्तिक, २०७९
डिजिटल संस्करण

एमालेले अध्यक्ष केपी ओली ४० जिल्लाका चुनावी प्रचारसभामा सम्बोधनका लागि सहभागी हुने गरी कार्यक्रमको तयारी गरेको छ । केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम बनाएको हो । 

एमालेले १५ कात्तिकमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । त्यसलगत्तै ओली नौ दिन ४० जिल्लामा चुनावी दौडाहामा निस्किन लागेका हुन् । उनी अहिले गृहजिल्ला झापामा चुनावी कार्यक्रममा व्यस्त छन् ।

भीष्म अधिकारी, सचिव एमाले केन्द्रीय कार्यालय
धेरैतिर चुनावी प्रचारसभामा अध्यक्षको माग छ, तर केन्द्रीय निर्वाचन परिचालन कमिटीले आवश्यकताका आधारमा सोमबारसम्म स्थान र समयलाई अन्तिम रूप दिनेछ । सम्बन्धित जिल्ला कमिटीको आयोजनामा हुने प्रचारसभाका वक्ता केन्द्रबाटै तय हुनेछन् ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले अहिलेसम्म ओली ४० जिल्ला पुग्ने गरी चुनावी प्रचारसभाको प्रारम्भिक तयारी भए पनि सोमबारभित्र आवश्यकताका आधारमा कार्यतालिका हेरफेर हुन सक्ने बताए । 

‘धेरैतिर चुनावी प्रचारसभामा अध्यक्षको माग छ, तर केन्द्रीय निर्वाचन परिचालन कमिटीले आवश्यकताका आधारमा सोमबारसम्म स्थान र समयलाई अन्तिम रूप दिनेछ’ अधिकारीले भने, ‘सम्बन्धित जिल्ला कमिटीको आयोजनामा हुने प्रचारसभाका वक्ताहरू केन्द्रबाटै तय हुनेछन् ।’ यद्यपि, एमालेले चुनावी सभालाई भन्दा मतदाताकेन्द्रित भएर आन्तरिक कार्यक्रममा बढी व्यस्त हुन जिल्लास्थित निर्वाचन परिचालन कमिटी र उम्मेदवारहरूलाई निर्देशन दिएको छ । 

एमालेले दार्चुलाबाट चुनावी प्रचारसभा सुरु गरेर त्यसलाई राष्ट्रिय जागरण अभियानका रूपमा अगाडि बढाउने तयारी गरेको छ । आफ्नै नेतृत्वको सरकारले सबै दलको राष्ट्रिय सहमतिमा भारतले मिचिएको भूमि समेटेर नक्सा प्रकाशन गरेको जस लिने उद्देश्यले एमालेले दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गर्ने तयारी गरेको हो । केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले दार्चुलाबाट चुनावी प्रचारसभा सुरु गर्ने गरी छलफल जारी रहे पनि टुंगो लागिनसकेको बताए ।

ओली एक दिनमा कम्तीमा तीनवटा चुनावी सभामा सहभागी हुनेछन् । सभाहरूलाई प्रत्यक्ष चुनावमा उम्मेदवार नरहेका पदाधिकारीहरू क्रमशः रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र इन्चार्जहरूलाई सम्बोधनमा सहभागी गराउने गरी निर्वाचन परिचालन कमिटीले कार्यतालिकाको गृहकार्य गरिरहेको छ । 

See More On

सुझावित समाचार