मकवानपुरमा पछिल्लो २४ घन्टामा विभिन्न घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सवारी दुर्घटनामा दुईजना र आत्महत्याबाट एकजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधार दिउँसो पौने तीन बजेको समयमा हेटौँडा उपमहानगरपालिका– १७ कठायत चोकस्थित धरान–चतरा सडकखण्डमा बसले पैदलयात्रीलाई ठक्कर दिँदा सोही स्थानका ४२ वर्षीय सोम गोलेको मृत्यु भएको छ ।
बसको ठक्करबाट घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गोलेलाई हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना. ४ ख ४०२२ नम्बरको बसले ठक्कर दिएको हो ।
बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, मंगलबार साँझ धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा–१८, रामधुनीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय विनोद रम्तेल रहेको प्रहरीले जनाएको छ ।
बा. ५८प ५६५४ नम्बरको मोटरसाइकलले ठक्करबाट दिँदा घाइते भएका रम्तेलको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो । रम्तेललाई ठक्कर दिएलगत्तै मोटरसाइकलचालक फरार भएका थिए । प्रहरीले बकैया गाउँपालिका– ४ घर भएका २७ वर्षीय मोटरसाइकलचालक राज गदाललाई बुधबार पक्राउ गरेको छ ।
यसैगरी, मंगलबार मकवानपुरको कैलाश गाउँपालिका– ७ बासटोलका लालबहादुर चेपाङका २१ वर्षीय छोरा आसमान झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । घरदेखि तीन सय टाढा वान्द्रङ जंगलमा करमको बोटमा पासो लगाई झुन्डिएको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ ।
छोरा झुन्डिएको थाहा पाएपछि बाबुले डोरी काटेर घरमा ल्याएका थिए । भार्ताबाट गएको प्रहरी टोली त्यहाँ पुग्दा आसमानको मृत्यु भइसकेको थियो । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।