लहलह धानले पहेँलपुर उदयपुर (फोटोफिचर)

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

कात्तिक महिना लागेसँगै पोसाएको धान पाक्न थालेको छ। खेतहरूमा धानका बाला लहलह भएका छन्। उदयपुरको भित्री मधेसका खेतहरूमा अधिकांश ठाउँमा धान पहेँलपुर देखिन्छ। शरद ऋतु झल्काउने मनमोहक हरियाली तथा पहेँलपुर धानको दृश्य मनै लोभ्याउने खालको छ।

उदयपुरमा धान उत्पादन हुने जमिन कुल १३ हजार तीन सय ८० हेक्टर रहेको सरकारी तथ्यांक छ। जिल्लाको भित्री मधेसमा पर्ने कटारी, त्रिवेणी, रिस्कु, गाईघाट, नेपालटार, हडिया, जोगीदह, बेल्टार, बसाहा, सुन्दरपुर, रामपुर ठोक्सिलालगायतका क्षेत्रमा अहिले कतै धानको बाला पसाउँदै छ भने धेरैजसो ठाउँमा पहेँलपुर भएको छ।

उदयपुरमा बर्खे, भदैया, चैते गरी वार्षिक जम्मा १४ हजार सात सय ५६ हेक्टर क्षेत्रफलमा ५८ हजार नाै सय ५८ मेट्रिकटन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।

निर्माणधीन चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै मकवानपुरको हेटौँडा जोड्ने मदन भण्डारी राजमार्ग आसपास अहिले हरियाली र पहेँलपुर भएको धान देख्न पाइन्छ। स्थानीय तह, प्रदेश र संघीय सरकारको नजर कृषि पर्यटनमा पनि गए धेरै राम्रो हुने सरोकारवालाहरूको भनाइ छ।

See More On

सुझावित समाचार