प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका कलाकारहरू मतदाता रिझाउन व्यस्त
अभिनेत्री रेखा थापा मोरङको बेलबारीमा इरिक्सा चलाउँदै गरेको भेटिइन् । कुनै चलचित्रको सुटिङका क्रममा रेखाले रिक्सा चलाएकी थिइनन् । बरु, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूलाई मतदान गर्न आग्रहसहित रिक्सा चालकहरूसँग पुगेकी थिइन् । त्यहाँबाट अघि बढेपछि उनी क्यारमबोर्ड खेलिरहेका युवाहरूको भिडमा मिसिइन् । सुरुमै आफूलाई मत मागिनन्, उनीहरूसँगै क्यारम खेल्न थालिन् । त्यसपछि भने उनले भनिन्, ‘म प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उठेकी छु । हलो चिह्नमा भोट दिएर मलाई जिताइदिनुहोला ।’
उनले यसरी गाउँगाउँ पुग्दै भोट माग्न थालेको दुई महिना हुन लाग्यो । कुर्था–सुरुवालमा सजिएर आफ्नै गृहक्षेत्र मोरङमा दुई हात जोड्दै जनताको घर–घर भोट माग्दै हिँडिरहेकी छिन्, उनी । राप्रपाको तर्फबाट मोरङ ३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएकी उनी अहिले आफ्नो चुनावी मैदानमा मत माग्न व्यस्त छिन् । मतदाता उनलाई सोध्छन्, ‘फिल्म खेल्न छोडेर किन राजनीतिमा ?’ जवाफमा उनी भन्छिन्, ‘हामीमाथि ३३ वर्षदेखि राजनीति भयो । तर, हाम्रो मतको दुरुपयोग मात्रै भयो, दास मात्रै बनाए । पर्दामा धेरै अन्याय–अत्याचारविरुद्ध बोलेँ । अब पर्दामा मात्रै सीमित हुनुहुँदैन भनेर त्यही अन्याय–अत्याचारविरुद्धको आवाज बन्न आएकी हुँ ।’
रेखाको यो क्षेत्रमा ठूला दलबाट पुरानै प्रतिस्पर्धी मैदानमा उत्रिएका छन् । ०७४ को निर्वाचनमा वामगठबन्धन हुँदा यो क्षेत्रबाट एमाले नेता भानुभक्त ढकालले जितेका थिए । त्यतिवेला ढकालसँग कांग्रेस उम्मेदवार नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनील शर्मा थोरै मतान्तरले पराजित भएका थिए । यसपटक पनि यहाँको मैदानमा ढकाल र शर्माबीच पुरानै प्रतिस्पर्धा दोहोरिएको छ । फरक यत्ति हो, उनीहरूको प्रतिस्पर्धामा रेखाले चुनौतीमूलक ‘इन्ट्री’ मारेकी छिन् । रेखा मात्रै होइन, उनीसँगै आसन्न निर्वाचनमा आधा दर्जनभन्दा बढी कलाकार चुनावी मैदानमा उत्रिएका छन् । कतिपय दलका उम्मेदवार छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
कोमल वली : कांग्रेसका दीपक गिरीसँग भिडन्त
एमालेबाट राष्ट्रिय सभा सदस्य भइसकेकी गायिका कोमल वली दाङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छिन् । उनी पनि घरदैलोमा व्यस्त छिन् । हातमा कालो डायरीसहित सारीमा सजिएर मतदाता भेटिरहेकी उनी मत माग्ने क्रममा कहिले गीत गाइरहेकी छिन्, कहिले नाचिरहेकी छिन् । तुलसीपुरस्थित थारू समुदायमा पुग्दा त्यहाँ पातको टपरी बुनिरहेका महिलाहरूसँगै आफू पनि बुन्न कसिइन् । ‘हिजोको समय जनता र गीतलाई दिए, अबको समय तपाईंहरूको हितमा दिन मन छ,’ उनी मतदातामाझ यसैगरी मत मागिरहेकी छिन् ।
वलीसँग कांग्रेसका दीपक गिरी प्रतिस्पर्धा गर्दै छन् । संसदीय चुनावमा गिरीको यो चौथोपटक प्रतिस्पर्धा हो । तर, उनी ०७० को चुनावमा मात्रै निर्वाचित हुन सफल भए । त्यतिवेला उनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत भएका थिए । राप्रपा छाडेर एमाले प्रवेश गरेकी वलीले भने राजनीतिमै सक्रिय हुनका लागि रेडियो नेपालको जागिर छाडेकी थिइन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा पुर्याएका थिए । हाल उनी एमालेको केन्द्रीय सदस्य छिन् ।
हिमेश पन्त : बागमतीका मुख्यमन्त्रीसँग भिड्दै
२५ वर्षीय कमेडियन हिमेश पन्त पनि सबैभन्दा कान्छो उमेरका उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उनी आफ्नै गृहक्षेत्र धादिङ १ बाट उम्मेदवार बनेका छन् । मतदातासँग घरदैलो र अन्तरक्रियामा व्यस्त उनी अहिले आफ्नो दिमागले हास्यरसको सिद्धान्तभन्दा पनि देशको अवस्था र आफू जन्मेको माटोलाई कसरी माथि उठाउने भन्नेबारे सोचिरहेको बताइरहेका छन् ।
तर, सधैँ कमेडीमार्फत दर्शक हँसाइरहने उनको उम्मेदवारीलाई कतिपयले ‘कमेडी’को संज्ञा पनि दिएका छन् । यसरी संशय प्रकट गर्नेहरूसँग उनको एउटै जवाफ छ, ‘अहिले कमेडी लाग्नु स्वाभाविक हो, तर मंसिर ४ मा पनि त्यही पुरानै नेतालाई भोट हाल्नुभयो भने त्यहाँचाहिँ कमेडी हुन्न है । त्यहाँचाहिँ दुःखको माहोल सिर्जना हुन्छ । त्यसपछि देश झन् पछाडि धकेलिन्छ भन्ने छ ।’
चुनाव जितेपछि आफूले ‘सांसद मेरो साथी’ भन्ने अभियान नै चलाउने उनको योजना छ । ‘भोट माग्ने क्रममा नेताहरू विदेश गएका नेपालीलाई गाउँ फर्काउँछौँ भन्नुहुन्छ, तर चुनाव जितेपछि आफैँ गाउँ फर्किनुहुन्न । तर, मचाहिँ चुनाव जितेँ भने सांसद मेरो साथी भन्ने अभियान नै चलाउने सोचमा छु । क्षेत्र नम्बर १ का मतदातासँग निरन्तर अन्तरक्रिया गर्ने र उनीहरूको मुद्दालाई संसद्सम्म पुर्याइरहन्छु,’ उनको एजेन्डा छ ।
पन्तको यो क्षेत्रमा दलका तर्फबाट पूर्वएमाले सहकर्मी मैदानमा छन् । एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र एमालेका भूमि त्रिपाठी यहाँको चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । पाण्डे एमाले छाडेर एकीकृत समाजवादी लागेपछि बागमती प्रदेशको मुख्यमन्त्री बनेका हुन् । ०७४ को निर्वाचनमा पाण्डे यहाँबाट प्रतिनिधिसभा उम्मेदवार थिए भने त्रिपाठी प्रदेश सभाका । सँगै भोट माग्न हिँडेको दुवैले सँगै चुनाव जितेका थिए । तर, यसपटक प्रतिस्पर्धी बनेका उनीहरूलाई चुनौती स्वतन्त्र पार्टीका तर्फबाट पन्त मैदानमा आइपुगेका छन् ।
सितेबा : ईश्वर पोखरेल र प्रदीप पौडेलसँग लडाइँ
काठमाडौं ५ बाट हास्य कलाकार मधुसूदन पाठकले उम्मेदवारी दिएका छन् । हास्य सिरियल ‘सक्किगोनी’मा ‘सितेबा’को चरित्रमार्फत उनी दर्शकमाझ प्रिय छन् । उनले हाम्रो नेपाल पार्टीको लौरो अभियानअन्तर्गत दलका ‘हेभिवेट नेता’विरुद्ध काठमाडौंबाट उम्मेदवारी दिएका हुन् । उनी अहिले ‘बाआमालाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने’ भन्दै लौरोसहित मैदानमा भोट माग्न हिँडिरहेका छन् ।
काठमाडौं ५ बाटै सत्तारूढ गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल र एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि उम्मेदवार छन् । त्यस्तै, विवेकशील साझाकी पूर्वनेतृ रञ्जु दर्शनाले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ०७४ को चुनाव पनि यही क्षेत्रबाट जितेका थिए । दलका दुई हेभिवेट उम्मेदवारको प्रतिस्पर्धामा थपिएको कलाकार र स्वतन्त्रको उम्मेदवारीले यो क्षेत्रको प्रतिस्पर्धालाई रोचक बनाउने देखिएको छ ।
मनोज पण्डित : गोकुल बास्कोटासँगको प्रतिस्पर्धा
‘दासढुंगा’, ‘वधशाला’, ‘द ग्रेटर नेपाल’जस्ता राजनीतिक मुद्दामा फिल्म बनाएर चर्चामा आएका फिल्म निर्देशक मनोज पण्डित पनि यसपटक प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । पण्डितले संघीय संसद्को चुनावमा एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाविरुद्ध काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी स्थानीय निर्वाचनकै वेलादेखि ‘हर्क साम्पाङ शैलीमा’ एक्लै जनताको घरघर भोट माग्दै हिँडिरहेका छन् । ‘बदल्नु छ अब’ नारासहित गाउँ–गाउँ पुगिरहेका छन् । उनको मोटरसाइकलदेखि मतदाताको घरका भित्तामा समेत यो नारा लेखिएको स्टिकर टासिँदै छ ।
बाँस्कोटाको ७० करोड भ्रष्टाचार गरेको आरोपलाई उनले चुनावको मुख्य एजेन्डा बनाएका छन् । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा उनलाई ७० करोड भ्रष्टाचारको आरोप लागेको थियो । त्यसपछि पदबाट राजीनामा दिएका उनले एक सार्वजनिक कार्यक्रममा ‘७० करोड मात्रै हो र, ७० अर्ब हान्देको, निजी खाइदिएको हो र ?’ भन्ने अभिव्यक्ति दिएपछि आफू उम्मेदवारी दिने मनसायमा पुगेको निर्देशक पण्डितले बताएका छन् ।
‘बाँस्कोटाको धम्कीपूर्ण अभिव्यक्तिले नागरिकलाई गिज्याएको महसुस भयो । त्यसैले संसदीय निर्वाचनमा यो प्रवृत्तिविरुद्ध उम्मेदवारी दिएको हुुँ,’ डोजर चुनाव चिह्न लिएका उनले भने, ‘डोजर निर्माणको साधन भएकाले मैले यसलाई निर्माणको प्रतीक मानेको छु । आवश्यक परिस्थितिमा समाधानका अवरोधलाई विनिर्माण गर्न पनि यो पछाडि हट्दैन । भ्रष्टाचारको जग उखेल्न डोजर अब अगाडि बढ्नेछ ।’ पण्डितले एमालेका बाँस्कोटासँगै सत्तागठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार रहेका शिवप्रसाद हुमागाईंसँग प्रतिस्पर्धा गर्दै छन् ।
गायक सञ्जय श्रेष्ठ : भीमसेनदास र सर्वेन्द्र खनालसँग
काठमाडौं क्षेत्र ६ बाट गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा कांग्रेसका तर्फबाट भीमसेनदास प्रधान र एमालेबाट पूर्वआइजिपी सर्वेन्द्र खनाल उम्मेदवार छन् । प्रधान र खनालबीच रोचक प्रतिस्पर्धा हुने चर्चा चलिरहेका वेला श्रेष्ठ पनि हस्तक्षेप गर्न आइपुगेका छन् । खासगरी श्रेष्ठले केही महिनाअघि नै यो क्षेत्रबाट राप्रपाका तर्फबाट उम्मेदवार बन्ने घोषणा गरेका थिए । तर, टिकट नपाएपछि दल परित्याग गरेर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । हालै राप्रपा प्रवेश गरेका गायक मुरलीधरले पनि आफ्नै गृह क्षेत्र सिराहा २ बाट उम्मेदवारी दर्ता गराएका छन् । ‘उडायो सपना सबै हुरी’जस्ता दर्जनौँ हिट गीत गाएका उनी अहिले सांसद बन्ने सपनासहित घरदैलोमा व्यस्त छन् ।
त्यस्तै काठमाडौं १ मा कलकार सम्राट सापकोटा प्रदेश सभाका उम्मेदवार बनेका छन् । प्रदेश (क)बाट नेपाल सुशासन पार्टीका तर्फबाट उम्मेदवारी दिएको उनी अहिले अहिले आफ्नै क्षेत्रका प्रतिनिधिसभा उम्मेदवार पूर्वडिआइजी रमेश खरेलसँगै भोट माग्न हिँडिरहेका छन् । उनी कलाकारितामा विभिन्न भूमिका निभाएको भए पनि समाज परिवर्तनका लागि सांसदको भूमिका निभाउन चाहेको बताउँछन् । ‘रिलमा त मन्त्रीको भूमिकासम्म निभाएको छु, रियलमा सांसदको भूमिकामा आउन चाहन्छु,’ उनी भन्छन् ।
त्यस्तै, चलचित्र निर्माता रोज राणा पनि प्युठानको प्रदेश सभातर्फ (ख)बाट उम्मेदवार बनेका छन् । उनी यसपटक गाउँमा आफूले निर्माण गरेको फिल्मभन्दा पनि आफ्नै प्रचार गर्न व्यस्त छन् ।
निर्देशक भाम समानुपातिक उम्मेदवार
फिल्म ‘कालो पोथी’ निर्देशन गरेर नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल निर्देशक मीनबहादुर भाम पनि संसदीय निर्वाचनमा कांग्रेसतर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेका छन् । मुगुको छायाँनाथ–रारा नगरपालिका– ४ का भामलाई कांग्रेसले खस–आर्यतर्फ समानुपातिक बन्दसूचीको ११ नम्बरमा राखेको छ । ०५४ देखि ०५६ सम्म नेविसंघ मुगुमा बसेर काम गरेका उनी ०७८ मा पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय समितिमा समेत सदस्य थिए । नयाँ फिल्म ‘चिसो वर्ष’को छायांकन तयारी गरिरहेका उनी हाल कांग्रेसको घोषणापत्र तयारी समितिका सदस्यसमेत हुन् ।