आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि २४ वटा मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार निर्वाचनस्थलको सुरक्षा विश्लेषणका आधारमा २४ मतदानस्थल अतिसंवेदनशील, २२ संवेदनशील र १२ वटा निर्वाचनस्थललाई सामान्य सूचीमा राखिएकाे छ।
हुम्लामा ३२ हजार आठ सय ५७ मतदाता छन्। जसमध्ये १७ हजार एक सय २८ पुरुष, १५ हजार सात सय २९ महिला मतदाता छन्। जिल्लामा प्रतिनिधिसभातर्फ एउटा र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन्। जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमध्ये मतदाताको संख्याको आधारमा प्रदेश (क) मा १८ हजार आठ सय ३० र प्रदेश (ख) मा १४ हजार २७ मतदाता छन्।
हुम्लामा ५९ मतदान केन्द्र र ५८ वटा मतदानस्थल तोकिएकाे छ। गत स्थानीय तहको निर्वाचनमा ५४ मतदान केन्द्र र ५२ वटा मतदानस्थल थिए।
यतिखेर सातवटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र थप भएको निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।
उनका अनुसार यसअघि वैशाख ३० मा स्थानीय तहको निर्वाचनयता मात्रै जिल्लामा ६ सय मतदाता बढेका छन्।
०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा ३२ हजार पाँच सय ८१ मध्ये १६ हजार नाै सय ७४ पुरुष र १५ हजार ६ सय ७ महिला मतदाता रहेका थिए।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाका अनुसार यस वर्षको प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि हुने निर्वाचनमा सुरक्षाको आधारमा तीन सय ६० नेपाल प्रहरी, पाँच सय ३८ म्यादी प्रहरीलाई खटाइएको छ भने एक सय ५६ जना सशस्त्र प्रहरी बल खटिने बताए।
थप सुरक्षाका लागि नेपाली सेनाको टोली पनि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्। सुरक्षा निकायको सम्पूर्ण कमान्ड जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीले जिम्मा लिएको डिएसपी ओझाले जानकारी दिए।