८० वर्षीय केसीलाई एमालेका पाठकको चुनौती

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एक–अर्काको जन्मथलो भएको निर्वाचन क्षेत्र साटफेर गरेका छन् । केसी विगतमा बाग्लुङ २ बाट निर्वाचनमा उठ्ने गरेका थिए । यसपटक उनी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । उनीसँग एमालेका डा. सूर्य पाठक प्रतिस्पर्धा गर्दै छन् । 

बाग्लुङ १ जन्मस्थान भएका पौडेल क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्दै छन् । उनी पहिले पनि यही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । उनको जन्मथलो बाग्लुङ नगरपालिका– १२ अमलाचौर क्षेत्र नम्बर १ मा पर्छ । पौडेलसँग एमालेकी मञ्जु शर्मा चालिसे प्रतिस्पर्धामा छिन् । उनी केही समयअघि मात्र कांग्रेसबाट एमाले प्रवेश गरेकी हुन् । 

केसी र पौडेल दुवै सत्तारूढ गठबन्धनका उम्मेदवार भए पनि जितका लागि सहजता खोजेर जिल्लाभित्रै निर्वाचन क्षेत्र साटफेर गरेको विश्लेषण छ । गठबन्धनमा सँगै भए पनि पौडेलको क्षेत्रमा केसी र केसीको क्षेत्रमा पौडेल प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसकारण दुवै पर्यटक उम्मेदवार हुन् भनेरसमेत आलोचना हुने गरेको छ । ०७४ को निर्वाचनमा बाग्लुङ १ बाट एमाले केन्द्रीय सदस्यसमेत रहेका डा. पाठक निर्वाचित भएका थिए । त्यसवेला गठबन्धन गरेका एमाले र राष्ट्रिय जनमोर्चा अहिले एकअर्काका प्रतिस्पर्धी छन् । अघिल्लो निर्वाचनमा वामगठबन्धनबाट यो क्षेत्रमा केसी उम्मेदवार हुने भनिए पनि अन्तिममा पाठक उम्मेदवार बनेका थिए । केसी समानुपातिकमा बसे । तर, यसपटक केसीसँगै पाठक प्रतिस्पर्धामा छन् । 

बाग्लुङ २ को प्रतिनिधित्व गरी केसीले ०५६ देखि संसद्को यात्रा तय गरेका थिए । ०६४ को संविधानसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी भए । ०७० को निर्वाचनमा समानुपातिकको सूचीमा रहेका केसीले संसद् छिर्ने मौका पाएनन् । गलकोट नगरपालिका स्थायी घर भएका केसी अहिले रुपन्देही तिलोत्तमा नगरपालिकामा बसोवास गर्छन् । रुपन्देही बस्दै आएका उनी आफ्नो जन्मथलो भएको क्षेत्र नभएर अर्को क्षेत्रमा उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाको राम्रै संगठन भएकाले नेता कार्यकर्ताको चाहनाअनुसार केसीले उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले बताए । 

बाग्लुङ १

जनताको मन जितेरै संसदमा जाने हो : चित्रबहादुर केसी

म अस्वस्थ प्रतिस्पर्धा गर्न आएको होइन, जनताको मन जितेरै जाने हो । अग्रगमनको पक्षमा उभिएर संविधानको रक्षाका लागि उभिएका छौँ । पार्टी संगठन बलियो भएकाले जन्मथलो छाडेर अर्कै क्षेत्रमा आएको हुँ । मैले यस क्षेत्रका जनताको धेरै काम गर्न बाँकी छ । हिजो गरेका अधुरा काम पूरा गर्नु छ । आमकार्यकर्ता र जनताको चाहनाअनुसार पुनः निर्वाचनमा आएको हुँ  । 

एमालेको सांगठनिक संरचना बलियो छ, चुनाव जित्छौँ : डा. सूर्य पाठक
चित्रबहादुर केसीलाई बाग्लुङबाट दुईपटक जितेर पठाइयो । उपप्रधानमन्त्री हुनुभयो । तर, उहाँले बाग्लुङको विकास र समृद्धिको विषयमा कहिल्यै बहस र छलफल गर्नुभएन । उहाँले न संसद्मा बहस गर्नुभयो, न ग्राउन्डमा । फेरि केसीको उम्मेदवारी किन भन्ने प्रश्न छ । नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा ८० वर्षको उमेरमा आराम गर्न छाडेर उहाँ फेरि मैदानमा आउनुभएको छ । तर, आमजनता हाम्रो पक्षमा छन् । उहाँ जितेर गए पनि के नै भूमिका खेल्न सक्नुहुन्छ भन्ने प्रश्न उठेको छ । यो क्षेत्रमा जनमोर्चाको ६ हजार मत मात्रै छ । कांग्रेसको २० हजार मत सबै केसीको पक्षमा जाँदैन ।

बाग्लुङ २

काम गर्न बाँकी रहेकाले क्षेत्र नम्बर २ रोजेको हुँ : देवेन्द्र पौडेल
शिक्षामन्त्री देवेन्द्र पौडेल दोस्रोपटक सांसदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । उनी बाग्लुङ २ मा माओवादीबाट सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । आफूले पाँच वर्षमा थालनी गरेका कामलाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको उनले बताए । ‘मैले यस क्षेत्रका जनताको धेरै काम गर्नु छ । यहाँ विगतमा बाँकी रहेका कामलाई पूर्णता दिनु छ । यहाँकै जनताको चाहनाअनुसार दोस्रोपटक दोहोरिएको हुँ,’ पौडेलले भने ।

हालसम्म यो क्षेत्रको नेतृत्व हुन सकेको छैन, अब हुनेछ : मञ्जु शर्मा 
यो क्षेत्रबाट कोही पनि नेतृत्वमा पुग्न सकेको छैन । नेतृत्वबाट पछाडि पारिएको भन्ने आधार भूगोलले यहीँको नेतृत्वलाई खोजेको छ । ‘गठबन्धनले महिलालाई उपेक्षा गरेको छ । महिलाको प्रतिनिधित्व गर्न मैले उम्मेदवारी दिएकी हुँ । यस क्षेत्रका सबै महिलाले प्रतिनिधित्व चाहेका छन् । चुनाव जित्छु भन्ने विश्वास छ । लामो समयसम्म सामाजिक क्षेत्रमा खटेको र सामाजिक अभियन्ताकै रूपमा काम गरेकाले यस क्षेत्रको विकास निर्माण र जनताको समस्या उठाउन सक्ने अरू देखिएनन् । गठबन्धनका उम्मेदवार पौडेलले पाँच वर्षमा जनताको समस्यालाई उजागर गर्न सकेनन् । पौडेलको जन्मथलो अर्को क्षेत्रमा भएकाले पनि यो क्षेत्रमा एमालेले सजिलै चुनाव जित्नेछ ।

अंकगणित : स्थानीय तह प्रमुखमा गठबन्धनका दलका उम्मेदवारले ३१ हजार ३३ र एमाले उम्मेदवारले १८ हजार ९८ मत ल्याएका थिए । स्थानीय निर्वाचनमा गलकोट नगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बनेकी मञ्जु शर्मा चालिसेले तीन हजार २६२ मत प्राप्त गरेकी थिइन् । 

See More On

सुझावित समाचार