महानगरले सार्वजनिक शौचालय बढाउने कोसिस गरे पनि तिनलाई अपांगमैत्री बनाउनेतर्फ भने ध्यान दिएको देखिन्न नि ?
हामीले तत्कालका लागि केही राहत होस् भनेर निजी संघसंस्थासँग सहकार्य गरी उनीहरूको शौचालयलाई सार्वजनिक शौचालयका रूपमा सञ्चालन गर्ने निर्णय गरेका हौँ । जसअनुरूप विभिन्न ३७ संघसंस्थाका शौचालय निःशुल्क प्रयोगमा आएका पनि छन् । तर, प्रयोगमा आएका ती शौचालय अपांगमैत्री भने छैनन् । अहिलेको सन्दर्भमा हामी पाहुना हौँ । पाहुनालाई जे दियो, त्यही खाने हो । सोहीअनुरूप अरूले प्रयोग गर्न दिएको शौचालयमा यो भएन, त्यो भएन भन्न मिलेन ।
हाम्रा सार्वजनिक शौचालय ह्विलचेयर फ्रेन्ड्ली कहिले बन्लान् ?
महानगरभित्र ह्विलचेयर प्रयोगकर्ताले प्रयोग गर्ने शौचालय छँदै छैनन् भन्दा पनि हुन्छ । तर, अबका दिनमा महानगरले बनाउने सबै शौचालय ह्विलचेयर फ्रेन्ड्ली नै हुनेछन् ।
यस्ता अपांगमैत्री शौचालय निर्माणमा महानगरको भूमिका कस्तो हुनेछ ?
सबैलाई उपयुक्त हुने गरी सार्वजनिक शौचालयका संरचना निर्माण गर्नुपर्ने हामीले बुझिसकेका छौँ । महागनरले अब बनाउने शौचालय मात्र होइन, सबै संरचना अपांगमैत्री बनाउनेछ । हाम्रो मूल उद्देश्य सबैलाई समेट्ने नै हो । त्यसैले, भएका पुराना शौचालयलाई पनि स्मार्ट शौचालयमा रूपान्तरण गर्दै छौँ । महानगरभित्र अब निर्माण हुने शौचालय सबैका लागि प्रयोगयोग्य हुनेछन् ।