महिला भलिबल : दुई विभागीय र दुई प्रदेश सेमिफाइनलमा प्रवेश

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा क्वाटरफाइनलका खेल सकिएका छन्। 

सोमबार भएका क्वाटरफाइनल खेलबाट दुई विभागीय र दुई प्रदेशका टिम सेमिफाइनलमा प्रवेश गरेका छन्। महिला भलिबलमा एपिएफ क्लब, पुलिस क्लब, बागमती प्रदेश र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए। 

क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई, बागमतीले सुदूरपश्चिम प्रदेशलाई, पुलिसले आर्मीलाई र गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्। पहिलो सेमिफाइनल खेलमा एपिएफले २५–१५, २५–१८, २५–१० अंकमा लुम्बिनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो। 

त्यसैगरी, बागमतीले सुदूरपश्चिममाथि २५–१२, २५–१५ र २५–२३ को सहज जित निकाल्दै सेमिफाइनल तय गरेको थियो। तेस्रो क्वाटरफाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल निकै रोचक प्रतिस्पर्धा भएको थियो। 

नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो। सुरुका दुई सेटमा २५–१३, र २५–२० को जित निकालेको पुलिसलाई तेस्रो र चौथो सेटमा आर्मीले २५–२३ र २५–१३ को जित निकाल्दै दबाबमा राखेको थियो। 

दुवै टिमको २-२ सेटको नजितापछि निर्णायक पाँचौँ सेटमा पुलिसले १५–१३ अंकका साथ जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। त्यस्तै, गण्डकी प्रदेशले प्रदेश १ माथि २५–१०, २५–१० र २५–१७ को सहज जित निकालेको थियो।

क्वाटरफाइनल चरणका खेलमा एपिएफकी आरती सुवेदी, नेपाल पुलिस क्लबकी टिम क्याप्टेन कमला पुन, बागमती प्रदेशकी प्रगति नाथ र प्रदेश नम्बर १ की पूर्णिमा राई उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

मंगलबार दुई सेमिफाइनल खेलमा विभागीय टिम एपिएफ र बागमती प्रदेश तथा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जानकारी दिए।   
                         

सुझावित समाचार