सत्य निरुपण र छानबिन आयोगको म्याद थप आदेश राजपत्रमा

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद नौ महिना थप गर्ने निर्णयको आदेश राजपत्रमा प्रकाशित गरेको छ।

मन्त्रिपरिषद्को २८ असोजको बैठकले बाधा अड्काउ फुकाउमार्फत दुवै आयोगको म्याद आगामी ०८० असार मसान्तसम्म थप गरेको थियो।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम दुवै आयोगको कार्यविधि ०८० असारसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश राजपत्रमा प्रकाशित भएसँगै निर्णय कार्यान्वयनमा गएको छ।

‘आयोगबाट सम्पादन हुनुपर्ने शान्ति प्रक्रियाका काम बाँकी रहेको परिप्रेक्ष्यमा दुवै आयोगको कार्यलाई निरन्तरता दिन कार्यविधि २०८० असार मसान्तसम्म थप गर्ने गरी यो आदेश जारी भएको छ,’ कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाद्वारा जारी सूचनामा भनिएको छ। 

यी दुवै आयोगको म्याद पछिल्लोपटक ३१ असारमा तीन महिनाका लागि थप गरिएको थियो। सरकारले आयोगको म्याद थप गरे पनि नयाँ पदाधिकारी भने नियुक्त गरिसकेको छैन।

सुझावित समाचार