एक किसान हरेक बिहान टाढा रहेको एउटा झरनामा स्वच्छ पानी लिन जान्थे । उनी दुइटा घैँटा खर्पनमा राखेर झरनासम्म पुगेर पानी ल्याउँथे । यो उनको नित्यकर्म थियो । दुईमध्ये एक घैँटाको आधातिर सानो प्वाल परेको थियो । जसले गर्दा घर पुग्दानपुग्दै सो घैँटाको आधा पानी बाटामा चुहिएरै सकिन्थ्यो । यही अवस्था दुई वर्षदेखि चलिरहेको थियो । नफुटेको घैँटोलाई आफूले पूरापूर पानी ल्याउन सकेकोमा घमन्ड थियो भने फुटेको घैँटा जहिल्यै लज्जित हुन्थ्यो ।
एक दिन फुटेको घैँटोले किसानसित माफी माग्दै भन्यो– मेरो कारणले तपाईंलाई जहिल्यै दुःख भइरहेको छ । तपाईंले कहिल्यै पूरा पानी ल्याउन पाउनुभएको छैन । तपाईंको मिहिनेत त्यत्तिकै खेर गइरहेको छ । सायद म एक स्थानमा फुटेको छु भन्ने तपाईंलाई थाहा छैन होला ।
घैँटोको कुरा सुन्दा किसान दुःखी भए । उनले भने– केही छैन, चिन्ता नगर । म चाहन्छु कि आज फर्किंदा तिमी बाटामा फुलेका फूल हेर्दै आऊ । त्यस दिन घैँटोले त्यसै गर्यो । ऊ बाटोको छेउमा फुलेका फूल हेर्दै फर्कियो । तर, घर पुग्दा नपुग्दै उसको पानी आधा सकिइसकेको थियो । ऊ फेरि दुःखी भयो । उसले फेरि किसानसित माफी माग्यो ।
किसानले खुसी हुँदै भने– सायद तिमीले ध्यान दिएनौ होला, बाटाको किनारमा जति पनि फूल फुलेका थिए, ती तिमी बस्ने छेउपट्टि मात्र फुलेका थिए । अर्को घडातिर एउटा पनि फूल फुलेको थिएन । मलाई तिम्रो समस्या थाहा थियो । त्यसैले मैले बाटोको छेउमा रंगीचंगी फूलका बिरुवा सारेको थिएँ ।
झरनादेखि घरसम्म आउँदा तिमीले थोरैथोरै गरी पानी दिएर तिनै फूल फुलाएका हौ । तिमीले गर्दा नै आज बाटो त्यति सुन्दर देखिएको छ । मैले भगवान्लाई सुन्दर फूल चढाउन पाएको छु । त्यसैले, पानी चुहिनु तिम्रो कमजोरी होइन, विशेषता हो, दुःखी नहोऊ । किसानको कुरा सुनेर घडा दंग पर्यो ।