मालीमा एफपियू मिसन पठाउन नेपाल प्रहरीको तयारी

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालयमा यतिवेला पुराना डब्बाहरूमा रङरोगनको काम तीव्र रूपमा चलिरहेको छ। हाइटी र सुडान शान्ति मिसनबाट फर्काइएका आर्म्ड पर्सनर क्यारियर (एपिसी)को मर्मत भइरहेकाे छ। शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामानको तयारी भइरहेको छ।

संयुक्त राष्ट्रसंघबाट आगामी साता निरीक्षण टोली आउन लागेकाले प्रहरी प्रधान कार्यालयले एफपियू मिसनका लागि यसरी आवश्यक बन्दोबस्तीका सामानको तयारी गरेको हो। शान्ति मिसनमा सहभागिता घटिरहेका वेला नेपाल प्रहरीले फर्म्ड पुलिस युनिट (एफपियू) पठाउन राष्ट्रसंघमा लबिङ गरिरहेको छ।

प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार माली शान्ति मिसनमा एफपियू पठाउने विषयमा छलफल भइरहेको छ। ‘माली मिसनमा एफपियू पठाउने हाम्रो प्रयास छ,’ उनले भने, ‘त्यसका लागि बन्दोबस्तीका सामानको व्यवस्थापन भइरहेको छ।’ नेपाल प्रहरीको हाइटी र डार्फर दुवै एफपियू मिसन बन्द भइसकेका छन्। एफपियू बन्द हुँदा शान्ति मिसनमा खटिने अवसर प्रहरी कर्मचारीका लागि कम हुँदै गएको छ।

सशस्त्रको एफपियू खटिने निश्चित
मालीमा सशस्त्र प्रहरी बलबाट आगामी जनवरीदेखि एफपियू टोली खटिने निश्चित भइसकेको छ। त्यसैको पूर्वतैनाथी निरीक्षणका लागि राष्ट्रसंघीय टोली शनिबार नेपाल आउन लागेको हो। त्यहीवेला नेपाल प्रहरीबाट पनि भइरहेको तयारीबारे सो टोलीले जानकारी लिनेछ। राष्ट्रसंघीय अधिकारीहरूले यसबारे सकारात्मक जवाफ दिए पनि नेपाल प्रहरीबाट एफपियू लिने–नलिने टुंगो लागिसकेको छैन।

सशस्त्र प्रहरीको भने मालीमा दोस्रो एफपियू खटिनेछन्। हाल दक्षिण सुडानमा एक एफपियू खटिएको छ। मालीको किदाल क्षेत्रमा सशस्त्रको एफपियू खटाउन सरकारले स्वीकृति दिइसकेको छ। त्यसका लागि तयारी धमाधम भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए।

सन् २०२३ को जनवरीदेखि सशस्त्र प्रहरी किदालमा खटिनेछ। सशस्त्र प्रहरीको एक टोलीले त्यहाँ पुगेर निरीक्षण गरिसकेको छ। सो मिसनमा सशस्त्रका एक सय ४० जना खटिनेछन्। मिसनका लागि आवश्यक हतियारदेखि बुलेटप्रुफ गाडीसम्म खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सुझावित समाचार