यसरी सफल मोडल बन्न सकिन्छ

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण
यसरी सफल मोडल बन्न सकिन्छ

प्रशान्त ताम्राकार  फेसन कोरियोग्राफर

पछिल्लो समय विश्वव्यापीकरणसँगै नेपालमा पनि मोडलिङ एउटा छुट्टै विधाका रूपमा विकसित भएको छ । विशेषगरी, युवापुस्ता यसप्रति आकर्षित भएका छन् । 

आकर्षक व्यक्तित्व
मोडलिङमा शारीरिक बनावट (फिगर)लाई विशेष महत्व दिइन्छ । हाइट, सौन्दर्यजस्ता कुराले समेत मोडलको दक्षता जाँचिन्छ । यसर्थ, सफल मोडल बन्न आकर्षक व्यक्तित्व हुन आवश्यक छ । यसका लागि फिटनेसमा ध्यान दिनुपर्छ । सधैँ फिट रहन खाना, व्यायाम र जिमदेखि जीवनशैलीसम्ममा विशेष ध्यान दिनुपर्छ । साथै, छाला र कपालको सौन्दर्य पनि कायम राख्नुपर्छ । 

मिहिनेत
सफल हुनुको पछाडि मिहिनेतको ठूलो भूमिका रहन्छ । नेपालको परिप्रेक्षमा मोडल बन्न झनै अप्ठ्यारो छ । तसर्थ, काममा कडा परिश्रम र मिहिनेत गर्न एकदमै जरुरी छ । मोडलिङले हजारौँ विषय समेट्ने भएकाले यसमा भएका प्रत्येक विषवस्तुप्रति जानकार रहनुपर्छ । यद्यपि, आफ्नो इच्छाशक्तिलाई मिहिनेतमा बदल्ने हो भने सफल मोडल बन्न सकिन्छ । 

बौद्धिकता
मोडलिङमा ‘ब्रेन विथ ब्युटी’ सूत्र धेरै हदसम्म लागू हुने गर्छ । एउटा मोडल शारीरिक सौन्दर्यमा मात्र सीमित नभई उसमा आवश्यक ज्ञान पनि हुन आवश्यक छ । समाजमा भइरहेका देशको इतिहास, समाजको गति र परिवेशको ज्ञान हुनुपर्छ । यसबाहेक आफ्नो पेसाप्रतिको ज्ञान अत्यावश्यक छ । 

कडा अभ्यास
सफल मोडल बन्न दैनिक अभ्यास गर्न जरुरी छ । आफ्नो पेसामा अभ्यस्त हुनुपर्छ । यसर्थ, सकेसम्म बढीभन्दा बढी अभ्यास गर्नुपर्छ । यसले काममा दक्षता ल्याउनुका साथै आत्मविश्वाससमेत बढाउँछ ।

मिलनसार 
एउटा मोडलले कोरियोग्राफर, फोटोग्राफर, फेसन डिजाइनरदेखि कलाकारिता विधाका मानिससँग मिलेर काम गर्नुपर्ने हुन्छ । यसर्थ, सफल हुनलाई यी सबै व्यक्तित्वसँग मिल्न सक्नुपर्छ ।

See More On

सुझावित समाचार