सलाहको कीर्तिमानी ह्याट्रिक

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

स्टार अट्याकिङ मोहमद सलाहले युरोपियन च्याम्पियन्स लिगमा कीर्तिमान रचेका छन् । लिभरपुलले रेन्जर्सलाई ७–१ अन्तरले पराजित गर्दा सलाहले ६ मिनेटको अन्तरमा कीर्तिमानी ह्याट्रिक गोल गर्न सफल भए । सलाह च्याम्पियन्स लिगमा सर्वाधिक छिटो ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने । बुधबार राति रेन्जर्सका स्कट अर्फिल्डले अप्रत्याशित रूपमा १७औँ मिनेटमा १–० को अग्रता दिएका थिए । रेन्जर्सले समूह ‘ए’मा गरेको पहिलो गोल थियो । 

रोबर्टाे फिर्मिनोले खेलको २४औँ मिनेटमा लिभरपुललाई १–१ को स्थितिमा ल्याए । मध्यान्तरपछि लिभरपुलले खेलमा सुधार गर्दै रेन्जर्समाथि एकपक्षीय दबाब राख्यो । खेलको ५५औँ मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलले २–१ को अग्रता लियो । डार्विन नुनेजले ६६औँ मिनेटमा लिभरपुललाई ३–१ को स्थितिमा पु¥याए । 

सलाह नुनेजको स्थानमा ६८औँ मिनेटमा मैदानभित्र प्रवेश गरे । डिअगो जोटाको पासमा सलाहले ७५औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरे । जोटाकै पासमा ८०औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरे । उनले खेलको ८१औँ मिनेटमा जोटाकै पासमा ह्याट्रिक पूरा गरे । भिएआर प्राविधिले हार्भे इलिओटको गोललाई मान्यता दिँदा लिभरपुल ७–१ ले विजयी भयो । जितसँगै लिभरपुल चार खेलबाट नौ अंक जोड्दै समूह ‘ए’को दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको सिरी ए क्लब नेपोली शीर्ष स्थानमा छ । 

बार्सिलोना बराबरीमा
घरेलु मैदान नोउ क्याम्पमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा इन्टर मिलानसँग ३–३ गोलको बराबरीमा बार्सिलोना रोकियो । नतिजासँगै जाभी होर्नान्डेजको प्रशिक्षणमा रहेको बार्सिलोना लगातार दोस्रोपटक सिजन च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिने खतरामा छ । सान सिरोमा पहिलो लेगमा पराजित बार्सिलोनाले घरेलु मैदानमा जित्नुपर्ने दबाब थियो । अंक बाँडेपछि बार्सिलोना दबाबमा आएको हो । 

चार खेल खेलेको बार्सिलोना चार अंकसहित समूह ‘सी’को तेस्रो स्थानमा छ । समान खेलबाट १२ अंक बटुलेको बायर्न म्युनिख शीर्ष स्थानमा छ । भिक्टोरियाविरुद्धको ४–२ को जितसँगै बायर्न अन्तिम १६ मा प्रवेश गरिसकेको छ । समान खेलबाट सात अंकसहित इन्टर दोस्रो स्थानमा रहँदा भिक्टोरिया विनाअंक पुछारमा छ ।
घरेलु मैदानमा ओसमाने डेम्बेलेको गोलमा बार्सिलोनाले अग्रता बनायो ।

डेम्बेलेले ४०औँ मिनेटमा गोल गरेका थिए । इन्टर मिलानले लगातार दुई गोल गर्यो । निकोलो बरेलाले ५०औँ मिनेटमा बराबरी गोल गरे । लौटारो मार्टिनेजले ६३औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता बनाए । यसै सिजन बार्सिलोना आएका रोबर्टाे लेवान्डोस्कीले ८२औँ मिनेटमा २–२ को स्थितिमा ल्याए । रोविन गोसेन्सले ८९औँ मिनेटमा गोल गर्दा इन्टरले ३–२ को अग्रता बनायो । खेलको इन्जुरी समयमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना हारबाट बचेको थियो । 

सुझावित समाचार