एमाले नेता भीम रावलले विदेशी शक्तिहरूको षड्यन्त्रमा परेर आफ्नो टिकट खोसिएको बताएका छन् । पार्टी नेतृत्वले टिकट नदिएपछि पहिलोपटक पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गरेका रावलले पार्टी नेतृत्व विदेशी शक्तिको षड्यन्त्रको साधक बनेको आरोप लगाए ।
‘मेरो उम्मेदवारी रोकिनुमा स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरूले गाँज्दै आएको राजनीतिक परिवेशका बाहकहरू जिम्मेवार रहेको सर्वत्र चर्चा छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘२००७ सालपछिको कुरा गर्दा पनि देशभक्ति र स्वाभिमानको बाटोमा दृढतापूर्वक उभिँदा सुदूरपश्चिमका भीमदत्त पन्तलाई भारतीय सेना बोलाएर हत्या गरिएको र जननेता मदन भण्डारीलाई त्रिशूली नदीमा खसालिएको दुर्दान्त इतिहास हाम्रासामु छ ।’
उनले तर सँगै न्याय र स्वतन्त्रताका लागि एवं बाह्य आक्रमणकारीविरुद्ध वीरतापूर्वक लडेको नेपालीको देशभक्तिपूर्ण गौरवशाली इतिहास पनि जीवित रहेको उल्लेख गरे । उनले एमाले पार्टी कसैको निजी स्वार्थ पूरा गर्ने साधन नभएको जिकिर गरे ।