एउटै वडाका तीनजना प्रदेश सभा सदस्यका उम्मेदवार

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १४ बुइपाका तीनजना आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट पाँचकर्ण राई, एकीकृत समाजवादी पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेश सभा (क)मा उम्मेदवार बनेका छन् ।  

एकै वडाका तीन नेताले गत आइतबार आ–आफ्नो राजनीतिक दलबाट र्यालीसहित दलबलका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । पाँचकर्ण र राकेश साबिकको बुइपा– २ का स्थायी बासिन्दा हुन् भने वीरबलकाजी साबिकको बुइपा– १ का हुन् । 

पाँचकर्ण काका र राकेश नातामा भतिजा पर्छन् । बुइपाबाट तीन नेता प्रदेश सभा सदस्यका लागि उम्मेदवार भएपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ । एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरूले संयोग भनेका छन् । जिल्लाको सबैभन्दा बढी मतदाता रहेको वडाका तीन नेताले एउटै पदमा उम्मेदवारी दिएपछि कसले बाजी मार्छन् भन्नेबारे महत्वका साथ हेरिएको छ । 

उम्मेदवारी दर्तासँगै तीनैजना नेताहरू चुनावी अभियानमा जुटेका छन् । प्रतिनिधिसभा र प्रदेश सभा गरी २६ जनाको उम्मेदवारी कायम रहेको जिल्लामा तीन नेतासँगै सबै उम्मेदवारलाई मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रमसम्बन्धी योजना बनाउनेलगायतका चटारो सुरु भएको छ । आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित नौजनाको उम्मेदवारी दर्ता भएकामा एकजनाले फिर्ता लिएका छन् । 

सुझावित समाचार