विपक्षी गठबन्धनको नेतृत्व गरेको एमालेले सत्तागठबन्धनको नेतृत्व गरेको कांग्रेसको असन्तुष्ट समूह र बागी उम्मेदवारसँग सहकार्यको नीति कार्यान्वयनमा ल्याएको छ । यसले गठबन्धनभित्र आशंका बढाउने र असन्तुष्ट मत तान्न सहयोग पुग्ने एमालेको विश्लेषण छ ।
कांग्रेसको शेखर कोइराला र गगन थापा समूहसँग मत ‘लेनदेन’ गर्ने रणनीतिअनुसार एमालेले गठबन्धनविरोधी उम्मेदवारसँग सहकार्यमा जोड दिएको हो । चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सघाएर एमालेले १ र २ मा शेखर कोइराला–गगन थापा नेतृत्वको असन्तुष्ट समूहको सहयोग लिने भएको छ ।

अध्यक्ष केपी ओलीको निर्देशनअनुसार ३ बाट एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । यसअनुसार १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेललाई कांग्रेसको असन्तुष्ट कोइराला समूहले सहयोग गर्ने सहमति बनेको स्रोतको दाबी छ । चितवन ३ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।
एमालेको समर्थन पाएपछि कांग्रेसका बागी उम्मेदवार कोइरालाले आफूलाई कांग्रेसले पनि आधिकारिक उम्मेदवारका रूपमा साथ दिने र त्यसका लागि उच्चस्तरीय पहल भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । तर, उनलाई कांग्रेसले कारबाही गरिसकेको छ ।
एमालेले उम्मेदवारी फिर्ता लिएपछि केही समय सम्पर्कमा रहेका कोइरालाको मोबाइल भने रातिसम्म स्विच्डअफ थियो । आफ्नो उम्मेदवारीलाई उनले देशमा रचनात्मक क्रान्तिको थालनीका रूपमा व्याख्या गरेका छन् । कोइरालाले भनेका छन्, ‘एक थोपा रगत नबगाई क्रान्ति गर्नका लागि हामीले उम्मेदवारी दिएका हौँ । देशमा रचनात्मक क्रान्तिको थालनी चितवनबाट गर्न सबैमा हार्दिक अपिल गर्दछौँ ।’
एमाले उपमहासचिव विष्णु रिमालले गठबन्धनविरुद्धको अभियान मिल्ने दल र असन्तुष्ट समूहसँग स्थानीय आवश्यकताअनुसार सहकार्य र तालमेल गरेर प्रतिस्पर्धा रहेका स्थान जित्ने पार्टी नीति रहेकाले केही स्थानमा उम्मेदवारी फिर्ता भएको प्रस्ट्याए । चितवन १ मा कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन् । यो क्षेत्रमा कांग्रेसका विश्व पौडेल गठबन्धनका उम्मेदवार छन् । सल्यानमा कांग्रेसका बागी उम्मेदवार राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभाको उम्मेदवारी कायमै राखेका छन् । सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला गठबन्धनका उम्मेदवार छन् ।
सर्लाही ४ मा अमरेशकुमार सिंहले बागी उम्मेदवारी कायम राखेका छन् । यो क्षेत्रमा कांग्रेसका नागेन्द्र राय गठबन्धनका उम्मेदवार छन् । जुम्लामा माओवादीका डा. कलबहादुर रोकायाले बागी उम्मेदवारी कायम राखेका छन् । जुम्लामा माओवादीकै गोमा कुँवर गठबन्धनकी उम्मेदवार छिन् । तनहुँ १ मा कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशी बागी छन् । एमाले उपमहासचिव रिमालले यी क्षेत्रमा पनि सहकार्यको सम्भावना कायमै रहेको संकेत गरे । ‘सत्तारूढ गठबन्धनको विपक्षमा रहेकासँग स्थानीय आवश्यकताअनुसार एक–अर्कालाई सहयोग गरेर जाने भन्ने नै नीति छ,’ उनले भने ।
एमालेले सत्तारूढ गठबन्धनभित्र किचलो उत्कर्षमा पुगेपछि कांग्रेसभित्रको असन्तुष्ट समूहसँग घोषित रूपमै सहकार्य गर्ने रणनीति अख्तियार गरेको थियो । तर, समानुपातिक र प्रत्यक्षतर्फ प्रधानमन्त्री शेरबहादुर देउवाले सिट संख्या बढाएर माग आंशिक सम्बोधन गरेपछि उम्मेदवारी मनोनयनका वेला कोइराला समूह पछि हटेको थियो । बागी वा स्वतन्त्र उम्मेदवारी दिए सहयोग गर्ने आश्वासन दिए पनि कांग्रेसका कतिपय नेताले भने एमालेको प्रस्ताव अस्वीकार गरेका छन् । कोइराला समूहसँगको सहमतिअनुसार दाङ १ मा एमालेले असन्तुष्ट समूहका डा. गोविन्द पोखरेललाई समर्थन गर्न खोजेको थियो । सोहीअनुसार महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयनकै वेला उम्मेदवार शान्ता चौधरीलाई दर्ता नगर्न निर्देशनसमेत दिएका थिए ।
उनले कांग्रेसको असन्तुष्ट समूहका नेता डा. पोखरेललाई समर्थन गर्नुपर्ने बाध्यता आएको बताएका थिए । तर, अन्तिम घडीमा पोखरेल पछि हटेपछि चौधरीले उम्मेदवारी दर्ता गराएकी थिइन् ।
पोखरेलले आफूसहित अर्थविद् डा. स्वर्णिम वाग्लेले काठमाडौं ७ मा उम्मेदवारी दर्ता गरे सहयोग गर्ने वचन दिएको पुष्टि गरे । दुवैले टिकट नपाएको जानकारीपछि ओली र स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले समेत उम्मेदवारीका लागि आग्रह गरेको उनले बताए । ‘तपाईंहरू संसद्मा आउनैपर्नेमध्येमा पर्नुहुन्छ । स्वतन्त्र उम्मेदवारी दिनुहोस्, हामी विनासर्त सहयोग गर्न तयार छौँ,’ ओलीले टेलिफोनमा गरेको आग्रह उद्धृत गर्दै पोखरेलले नयाँ पत्रिकासँग भने, ‘तर, हामीले आभारसहित यसमा निर्वाचन नलड्ने जानकारी गरायौँ ।’
यसैबीच एमालेले स्थानीय आवश्यकताअनुसार तालमेलको नीतिलाई पनि निरन्तरता दिएको छ । एमालेले बुधबार चितवनको तीनवटाबाहेक धादिङ र पूर्वी नवलपुरको एक–एक तथा डडेल्धुरामा सत्तागठबन्धनविरोधी उम्मेदवारसँग तालमेल गरेको छ । एमालेले ती क्षेत्रमा कांग्रेस बिपी, विद्रोही कांग्रेस, राप्रपा र हृदयेश त्रिपाठीसँग सहकार्य गरेको छ । यससँगै एक सय ६५ मध्ये एक सय ३७ क्षेत्रमा मात्र एमालेका उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
डडेल्धुरामा चक्र स्नेहीको उम्मेदवारी फिर्ता गर्न लगाएर एमालेले बिपीका विद्रोही उम्मेदवार कर्ण मल्ललाई सहयोग गर्ने निर्णय लिएको छ । कांग्रेस बिपीले प्रदेशका दुई सिटमा एमालेलाई सघाउनेछ । त्यहाँ मल्लले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई समर्थन गर्दै सिन्धुजलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता गरिएको छ । त्रिपाठी अर्बपति व्यापारी सत्तागठबन्धनका उम्मेदवार विनोद चौधरीसँँग चुनाव लड्दै छन् ।
धादिङ २ मा भने राप्रपाले एमालेलाई प्रतिनिधिसभामा समर्थन जनाएको छ भने प्रदेशमा एमालेका धनबहादुर घलेको उम्मेदवारी फिर्ता गराएर राप्रपाका डम्बर घलेलाई समर्थन जनाएको छ । राप्रपाले एउटा प्रतिनिधिसभा र प्रदेश सभाका दुई सिटमा समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ । २ मा एमालेबाट खेम लोहनी उम्मेदवार छन् । त्यस्तै, प्रदेश (ख)तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा. रामकुमार अधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् ।