सम्पत्ति शुद्धीकरणको मूल्यांकन हुँदै

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

आठ वर्षपछि नेपालको प्रभावकारिताको मूल्यांकन हुँदै, मूल्यांकनका लागि एफएटिएफको एपिजी प्रतिनिधि नेपालमा

नेपालमा सम्पत्ति शुद्धीकरण नियन्त्रणको प्रभावकारिताबारे आठ वर्षपछि पारस्परिक मूल्यांकन हुन लागेको छ । एक वर्षअघिदेखि नै सरकारले मूल्यांकनको प्रक्रियाअघि बढाएको थियो । मूल्यांकनका लागि वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को एसिया प्यासिफिक क्षेत्र हेर्ने एपिजी (एसिया प्यासिफिक ग्रुप)का प्रतिनिधि नेपाल आएका छन् । 

एफएटिएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीमाथि निगरानी गर्ने तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्य प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय संयन्त्र हो । विभागका अनुसार पारस्पारिक मूल्यांकनका लागि ‘प्रि–अनसाइट भिजिट’मा आएको एपिजीको टोलीसँग बुधबार, बिहीबार र शुक्रबार छलफल कार्यक्रम छ । यसको समन्वय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरिरहेको छ । पारस्पारिक मूल्यांकन समितिको संयोजकमा कानुन सचिव रहने व्यवस्था छ । 

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणका लागि गरेका कार्य, मुद्दा दायर, कानुन र संरचनाबारे नेपालले एपिजी टोलीलाई जानकारी गराउनेछ । ‘अनसाइट भिजिट’मा आएको यो टोली फर्केपछि दोस्रो चरणको अध्ययनका लागि आगामी मंसिरमा पुनः अर्को टोली आउनेछ । सो टोलीले पारस्पारिक मूल्यांकनको रिपोर्ट तयार गर्नेछ । प्राविधिक र प्रभावकारिता दुवै पक्षमा एपिजीले मूल्यांकन गर्छ । यसका लागि नेपालले तयार गरेको स्वमूल्यांकन प्रतिवेदनसमेतलाई टोलीले आधार बनाउँछ । रिपोर्टमाथि थप प्रतिक्रियासमेत लिएर त्यसलाई अन्तिम रूप दिनेछ । आगामी साउनसम्ममा पारस्पारिक मूल्यांकनको अन्तिम रिपोर्ट प्राप्त हुन सक्ने स्रोत बताउँछ । 

तेस्रो पारस्पारिक मूल्यांकन
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा हुन लागेको यो तेस्रो पारस्पारिक मूल्यांकन हो । यसअघि २००५ र २०१० मा यस्तो मूल्यांकन भएको थियो । पहिलो मूल्यांकनको समयमा दायित्व सिर्जना भए पनि संरचना र कानुन थिएन । २००८ मा मात्र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको थियो । पहिलो मूल्यांकनमा एपिजीले मापदण्ड पालना पालना नभएको मात्र भनेको थियो । 

२०१० मा ‘ग्रेस पिरियड’ तोकेर एपिजीले नेपाललाई ग्रे लिस्टमा राखेको थियो । केही पूरा गरेर तथा केहीमा प्रतिबद्धता जनाएर २०१४ मा नेपाल ग्रे लिस्टबाट बाहिर निस्किएको थियो । त्यतिवेला पारस्परिक कानुनी सहायता ऐन, सुपर्दगी ऐनलगायत कानुन जारी भएका थिए । तर, प्रतिबद्धता सबै पूरा भएका छैनन् । सम्पत्ति शुद्धीकरणसम्बन्धीका कैयौँ विषय कानुनमासमेत समेटिएका छैनन् । सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि १६ वटा कानुनमा संशोधन आवश्यक भएको भन्दै संशोधनका लागि प्रतिनिधिसभाबाट विधेयक पारित भए पनि राष्ट्रिय सभाबाट पास नहुँदै अधिवेशन अन्त्य भयो । संशोधन विधेयक २९ भदौमा राष्ट्रिय सभामा पेस भएको थियो । हालै मन्त्रिपरिषद्ले अध्यादेशमार्फत ती कानुन संशोधन गर्ने निर्णय गरे पनि जारी हुन सकेको छैन । 

स्वमूल्यांकनकै अवस्था नाजुक
कानुन, संरचना र प्रभावकारिताका हिसाबले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा नेपाल कमजोर देखिएको सम्बद्ध अधिकारीहरूले नै बताउँदै आएका छन् । पहिलो मूल्यांकनमा मापदण्ड पालना र दोस्रोमा प्रणाली स्थापनामा जोड दिइएकामा यसपटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणको प्रभावकारितामाथि नै मूल्यांकन हुँदै छ । तर, यसमा नेपालको अवस्था कमजोर छ । 

एफएटिएफको संशोधित मापदण्ड, मूल्यांकनका आधार, नेपालको विद्यमान कानुनी र संस्थागत संरचना, प्रभावकारिता आदिमा हालसम्मको स्थितिले मूल्यांकन कमजोर देखिने अधिकारीहरू बताउँछन् । यसअघिका दुईवटै मूल्यांकन सन्तोषजनक नरहेको र आगामी मूल्यांकनको दायरा बृहत् भएकाले अहिलेकै अवस्था कायम रहे सम्पत्ति शुद्धीकरणमा नेपालको अवस्था राम्रो नहुने आकलन गरिएको छ । यसअघि विभागकै स्वमूल्यांकनमा पनि सम्पत्ति शुद्धीकरणमा नेपालको अवस्था नाजुक देखाएको छ । मूल्यांकनमा कमजोर देखिने मुलुकलाई एफएटिएफले खैरो (ग्रे) हुँदै कालोसूचीमा राख्छ । कालोसूचीमा रहे त्यसले मुलुकको वित्तीय प्रणाली, व्यापार, लगानी मात्र होइन वैदेशिक ऋण, सहायता र लगानीमा समेत नकारात्मक असर पार्छ । 

सुझावित समाचार